लेख्दै । सिक्दै । शब्दहरू बुन्दै ।

Tuesday, February 25, 2014

On 10:18 PM by Arghelo Thapa in    No comments
आँगनको डिलमा भाँडा माझ्दै गरेकी आफ्नी स्वास्नीलाई बजारबाट आउनासाथ भीमबहादुरले चुल्ठोमा समातेर घिसार्दै घरभित्र लग्यो । आफ्नी स्वास्नी हातमा माझ्दै गरेका भाँडाहरूसँगै लतारिँदै घरभित्र पुगेपछि भीमबहादुरले ढोकाको चुकुल लगायो । स्वास्नीले बिस्तारै हातका भाँडाहरू भुइँमा राख्दै श्रीमानको मुखमा हेरी तर केही बोल्न सकिन । उसलाई लोग्ने रिसाएर आगो भएपनि किन रिसाएको छ भन्ने अड्कल समेत भएन । भीमबहादुरले स्वास्नीलाई भर्कुन थाल्यो । स्वास्नी दुई हातको भरमा आफ्नो टाउकोलाई जोगाउन खोजिरहेकी थिई । कुट्दा कुट्दै थाकेपछि लोग्नेले अलि ठुलो स्वरमा थर्काउँदै भन्यो – ‘मेरो हाकिमले तँलाई किन राम्री छे भन्छ ?’ स्वास्नी केही बोलिन । सायद श्रीमानले पिट्दा दाँतले टोकिएर होला उसको ओंठनिरबाट रगत बगेको थियो । पन्ध्र सेकेन्डसम्म पनि स्वास्नी केही नबोलेपछि भीमबहादुरले नजिकै भएको थाल उठाएर स्वास्नीको टाउकोमा हान्यो र स्वास्नी ढली । केही छिनको सन्नाटापछि भीमबहादुरले बिस्तारै स्वास्नीको अनुहारमा हेर्‍यो । साँच्चै श्रीमती राम्री थिई । रिस मर्दै गएपछि भीमबहादुरले स्वास्नीको नजिकै बसेर मनमनै सोंच्यो – ‘मेरी स्वास्नीको रुप राम्रो छ त उसको के गल्ती ?’ आफूले आवेशमा आएर सोझी स्वास्नी कुटेकोमा भीमबहादुरलाई पश्चातापको आगोले पोल्न थाल्यो । सुस्तरी श्रीमतीको नजिक गयो र स्वास्नीको आँखामा हेर्‍यो । स्वास्नीले अझैसम्म पनि आँखा बन्द गरेकी थिई । दिनदिनै कुट्ने बानी परेको भीमबहादुरलाई आज भने पछुतो लागेको अनुभूति भएकाले होला केही खिन्न देखिन्थ्यो ।

Monday, February 24, 2014

On 5:45 PM by Arghelo Thapa in    No comments
दुई नम्बरी मालामाल
महगींको इन्द्रजाल
लोडसेडिङ छ ताल बेताल
चोर पुलिसको अंकमाल
बिरामी छ अस्पताल
सामन्ती छन् चण्डाल
राज्यलाई छैन बाल
अनिकालको भण्डारखाल
यस्तै भाछ देशको हाल
यही हो मेरो देश नेपाल
यही हो मेरो देश नेपाल

Wednesday, February 5, 2014

On 8:25 PM by Arghelo Thapa in    No comments
कसैलाई प्रेम गर्ने यो मन
चिथोरिएछ बचनका बाछिटाहरूले
परेलीमा कोरिएको उनको नाम
पखालिएछ आँसुका बाढीहरूले
संसार देख्ने आँखाहरू
मनकै इसारामा चलिरहेछन्
तर यो मन
आफ्नै आँखालाई भन्दा
एउटा बिम्बलाई प्रेम गरिरहेछ
हर्ष र बिस्मातका ती रहरहरू
हाम फाल्दैछन् कन्दराबाट
आलो घाउमा किरा परेझैं
बिभत्स छन् मनका लक्ष्यहरू
दुखेको यो मन
बहुलाउँछ कहिलेकाहीँ
शान्ति खोज्छ कहिलेकाहीँ
क्रान्ति रच्छ कहिलेकाहीँ
के यो मनको उवार सम्भव छ ?