लेख्दै । सिक्दै । शब्दहरू बुन्दै ।

Monday, June 23, 2014

On 9:36 PM by Arghelo Thapa in    2 comments
वर्षौदेखि तिम्रा
म्याल झैं पाकेका आँखामा
एक महासागर आँसु
किन झर्छन् आमा ?
बेदनाले सुकेको स्वरमा
म बुझ्छु,
तिमी चिच्याउन चाहन्छौ ?
तर म बुझ्दिन
के भन्न चाहन्छौ
गुहार ! गुहार !! मलाई बँचाओ
के यस्तै यस्तै ?

कुहाइएको कोदोको(?) त्यो नमीठो गन्ध
ह्वास्सै तिम्रो स्वासनलीमा प्रवेश गर्दा
तिमीलाई मैले पनि रक्सी सिक्नुपर्छ भन्ने लागेन ?
मध्यराति तिमी रुने गर्छौ
भयका लस्करहरू
ढोकाका चरहरूबाट हाम फाल्छन्
तिमी बेजवाफ हुन्छौ
के तिम्रा गहना आँसु मात्र हुन् ?
किन तिमीमा विद्रोह छैन ?
आँसु निलेर किन हाँस्न खोज्छौ आमा ?
तिमी हाँस्न लायक रहिनौ,
कि म हाँस्न लायक रहिन ?

साँच्ची,
तिम्रो जवानी मुस्कान खोस्ने
तिमीलाई हरेक दिन ताडना दिने
को हो त्यो ?
को हो त्यो आमा ?
जसको आगमनमा तिमी शिथिल बन्ने गर्छौ,
भन न आमा
को हो त्यो ?
जसलाई म बाबा भन्ने गर्छु ।