लेख्दै । सिक्दै । शब्दहरू बुन्दै ।

Monday, September 22, 2014

On 5:33 AM by Arghelo Thapa in ,    No comments
जंगलबाट गाउँ अनि
गाउँबाट शहर भगाइएका
नौ सय थरी फूलहरू
आफ्नो जन्मभूमि छाड्नुपर्दा
परिवारबाट बेपत्ता हुँदा
रिसाएका थिएनन् ।

आँगनको डिलभरी
भाइ टीकाको बिहान कुरेका मखमलीहरू
आफ्नो घाँटी काटेर
कसैको गलामा सजिएका थिए
परैबाट केही फूलहरू
परिवारको बलिदानमा मौन थिए
उता केही फूलहरू
कक्षा प्रथम भएको अवसरमा
गलामा माला बनेका थिए
केही दिन पहिले ।

मन्दिरको किनारमा अल्झिरहेका
एक हुल मान्छेहरुले
आफ्नै हतारको पहाड धकेलिरहँदा
च्याँपिएका कैयन फूलहरू
मन्दिरमा सजिएका मूर्तिको
दर्शन गर्न नपाउँदा
रिसाएका थिएनन् ।

भ्यालेनटाइन डे बनेका फूलहरू
उपहार बनेका फूलहरू
भमराले चुमेका फूलहरू
बगैंचामा रमाइरहेका फूलहरू
आज एक्कासी रिसाएका छन् ।

प्रेमिकाले च्यातेर फालेका फूलहरू
आमैले शिरमा सिउरेका फूलहरू
मन्दिरमा भक्तले चढाएका फूलहरू
सबै फूलहरूको बृहद भेला भइरहेको बखत
एक हुल कार्यकर्ता आए
र अलिक परको बगैंचाबाट
एक बोरा फूलहरू
टिपेर लगे ।
जब ती फूलहरु
एउटा उजाड अनि पतझड
झुट पचाउने पर्खाल भएको
बडेमानको घरभित्र छिरे
त्यसपछि फूलहरू रिसाए
भौतिक संरचनाले ढाकिएको
बृहद सभाहलमा
जब ती फूलहरू
नेताको गलामा उनिए
त्यसपछि फूलहरू रिसाए
हो, मैले देखेकै हो
कतै उस्तै फूलहरू
हाँसिरहेका थिए
तर यता
मलिन अनुहारमा रिसाएको थियो
करौडौं फूलहरूको समूह
अखबारमा छापिएको तस्वीर हेरेर
करोडौं जनताले अड्कल गरिरहेका थिए
देश र जनता लुटिरहेका नेताहरूले
निस्वार्थी फूलहरूलाई गलामा लगाए
त्यसपछि फूलहरू रिसाए ।।