लेख्दै । सिक्दै । शब्दहरू बुन्दै ।

Friday, August 21, 2015

On 7:13 AM by Arghelo Thapa in    No comments
परेली फरफराउँदै
तिमीले सकेंत गरेकी हौ
मैले मौनताको दियो
सल्काउनै लाग्दा
तिमीले भंग गरेकी थियौ
हाम्रो मित्रताको साइनो
हो, त्यही साइनो
सुगन्ध बनेर उडेपछि
हामी मौन बस्नै सकेनौं
के माया त्यतिखेरै भएको हो?


पहिलो भेटमा
हाम्रा नजर जुधेकै हुन्
मलाई तिमीले मुस्कान
सापटी दिएकी हौ
मैले मुस्कानलाई
मायामा बदलिदिएको
तिमीले पत्तै पाइनौ
मैले एउटा कठिन खेल खेलें
र तिमी कल्पनामा हरायौ

मैले हाँसिदिदा
तिमीलाइ प्रेम भएको हो
काउकुती लागेको हो एक थरिको
के प्रेम पनि अश्लील छ?
मैले देखेको हुँ,
तिम्रा आँखामा प्रेम बगेको थियो
आभामा भावना बगेको थियो
शरीरमा कामुकता बगेको थियो
अर्थात म बगेको थिएँ तिमीमा

हैन, म तिम्रो अगाडि थिएँ
तिमीलाई अनुभूति भएको हो
प्रेमको सिद्धान्त बगेको हो
यौन छचल्किन खोजेको हो
सायद ओँठ बोल्न खोजेका हुन्
हो, म तिम्रो अगाडि थिएँ

म सम्भावनामा डराएको थिएँ
चण्चल प्रेम डराएको थियो
मौसम डराएको थियो
तिमी निडर अर्थात मौन थियौ
केही बेरमै समय बदलिनेछ
भावनाहरू साटिनेछन्
जब जब तिमी डराउन थाल्नेछौ
त्यतिबेला म निडर बनेको हुनेछु

Sunday, August 2, 2015

On 10:23 PM by Arghelo Thapa   No comments
आजकाल झरीहरूले
रुझाउन छोडिसकेका छन्
छोडिसकेका छन्
मीठो धुन निकाल्न झरीहरूले
उता भ्यागुताहरूले
गीत गाउन छोडिसकेका छन्
माछाहरू पौडिन बिर्सिसकेका छन्

शहरदेखि कैयन माइल टाढा
केही गाउँहरूमा
झरी परिरहेको समयमा
किसानहरू स्याँखुमुनि
लुकामारी खेल्दै थिए
चराहरूले बचेरा छोप्दै थिए
मान्छेहरूले झरीहरूमा
पखाल्दै थिए आ–आफ्ना जिन्दगीलाई
उता फाँटमा एक जोडी प्रेमी
झरीमा रुझ्दै प्रेमको गीत गाउँदै थिए
नदीको किनारमा एक लेखक
झरीका थोपाहरूमा रमाउँदै थियो
मैले भत्केको चौतारीमा बसेर
झरी बारेको कविता लेख्दै थिएँ

तर हाम्रा जिन्दगीजस्ता देखिने
यी झरीहरूले
पखालेर लान सकेनन्
गरिब किसानका समस्याहरू
मान्छेका अशुद्ध सपनाहरू
बिरक्तिएका प्रकृतिका दुखहरू
बरु बगाइदिए झरीहरूले
सिङ्गो गाउँका नक्साहरू
बगाइदिए सुन्दर सपनाहरू
बगाइदिए जिउँदा मान्छेहरू
र मान्छेका आफन्तहरू

अहिले समयले झरीलाई
स्वार्थी बनाइदियो
या झरीले समयलाई
स्वार्थी बनाइदियो
तर आजकाल झरीहरूले
रुझाउन छोडिसकेका छन्
विरक्त लाग्छ यो झरीदेखि
निशब्द बनाइदिन्छ
मेरो कौतुहलिक मनलाई
किनकि,
धेरै वर्ष पहिले यस्तै झरीले
बगाएर लगेको थियो
मेरो नदीनेरको माटोको घरलाई
बगाएर लगेको थियो
मेरा प्रिय बा–आमालाई
पखालेर लगेको थियो झरीले
मेरा जिन्दगीका किस्साहरुलाई

त्यसैले,
सबैलाई प्यारो लाग्ने यो झरी
मलाई सधैजसो फिक्का लाग्छ
र झरीदेखि डर लाग्छ
रुझ्न मन लाग्छ झरीमा
पखाल्न मन लाग्छ अतीत
तर मलाई झरीदेखि डर लाग्छ