लेख्दै । सिक्दै । शब्दहरू बुन्दै ।

Thursday, September 10, 2015

On 11:36 PM by Arghelo Thapa in    No comments
मितिः २०७२ भदौ २४ 
समयः रातको १ बजे


रातको बाह्र बजिसकेको छ । जिन्दगीको एउटा किस्सामा पनि बाह्र बजिसकेको छ । सायद अझै कतै केही धुलोजस्ता सम्बन्धहरु बाँकी होलान् । अझै कतै गुनासोहरु बाँकी होलान् । यत्ति भन्न सक्छु ।

प्रिय तिमी,
मैले तिमीसँगको सम्बोधनको अर्थ गुमाइसकेको छु । सायद मैले कुनै शब्दले तिमीलाई सम्बोधन गरें भने त्यो शब्दको अर्थ बलात्कृत हुन्छ । त्यसैले म तिमीलाई बिना सम्बोधनको एउटा खुला पत्र लेख्दैछु । यो पत्र लेख्नुको कुनै खास कारण छैन । यसै मन लाग्यो । मैले नबोलेका केही भावहरुलाई खुला पत्र बनाएर पठाउन चाहें । अर्थहीन छन् भन्ने थाहा हुँदा हुँदै पनि ।

हाम्रो भेट ट्वीटरमार्फत भएको हो । जिन्दगीमा भेटिएका कैयन साथी आज हाम्रो हातमा छैनन् । सायद सधै साथमा हुँदैनन् पनि । एउटा नहुनु पर्ने भेट भैदियो भन्ने तिमीलाई पनि लाग्दो हो । मलाई पनि लाग्छ । तर हामी यसरी, यो धरातललाई स्वीकारेर छुट्नुपर्छ भन्ने थाहा भएको भए कस्सम म तिमीसँग भेट हुने नै थिइन । सायद जिन्दगीले यो भाग पहिले नै तय गरेर आइसकेको थियो । सायद मैले तिम्रो मन दुखाउनु थियो । सायद तिमीलाई रुवाउनु थियो । तर मलाई कसैको मन दुखाउनु थिएन । कसैलाई रुवाउनु थिएन ।

तिमीले मलाई कुरा बनाउन खप्पिस मान्छेका रुपमा हेर्छौ । तिमीलाई मप्रति घृणा छ । मेरो दुखमा तिमीलाई खुसी लाग्छ । म रुँदा तिमीलाई हाँसो लाग्छ । थाहा छ, म एउटा रिसको कारण बनेर बसेको छु । अतीत सबैको जिन्दगीमा घुम्दै फिर्दै आउँछन् । बन्छन् । जान्छन् । हो, त्यही एउटा अतीत तिमी र म मिलेर जन्माएका हौं ।

त्यो साँझ हाम्रो पहिलो भेट थियो । मलाई बोल्न डर लागिरहेको थियो । तिमी खुलेर कुरा गरिरहेको थियौ । मलाई तिम्रो व्यक्तित्वले खुब प्रभाव पार्‍यो । हामी चिया गफ गर्‍यौं । तिम्रो बोल्ने कलाले प्रभाव पार्‍यो । हामी केही दिन भेट्यौं । मिल्ने साथी बन्यौं । तिमीले भनेकी थियौ – ‘आमाले मेरा साथी भएनन् भनेर चिन्ता गरिरहनु हुन्थ्यो । फाइनल्ली मैले साथी बनाएँ । हजुरसँगको कम्पनी मलाई राम्रो लाग्छ ।’

जब हामी धेरै कुरा गर्न थाल्यौं । जब तिमीले मतलब गर्न थाल्यौ । जब मैले तिम्रो मतलब गर्न थालें । त्यतिखेरै बाट हो मैले तिमीलाई माया गर्न थालेको । तिम्रा बारेमा सोंच्न थालेको । तिम्रो मतलब लाग्न थालेको । तिम्रो आवश्यकता हुन थालेको । सबैभन्दा धेरै माया कतिखेर लागेको थियो थाहा छ ? जतिखेर तिमीले तामाङी गाउँबाट फोन गरेकी थियौ । अब यी कुराहरुको कुनै अर्थ छैन । मैले कहिल्यै आफूलाई एक कुशल प्रेमीका रुपमा स्थापित गर्न सकिन । यो मेरो समस्या हो ।

हामी बिस्तारै भेट हुँदै गयौं । कुराकानी गर्दै गयौं । त्यतिखेरै हो, मैले तिमीलाई प्रेम गर्न थालेको । म विश्वस्त छु, प्रेम तिमीले पनि गर्थ्यौ । मैले त्यसको उचित मूल्याङ्कन गर्न सकिन । किनकि म तिमीलाई पूरै जीवन दिन सक्दिनथें । म तिमीसँग उधारा सपना बाँड्न भन्दा बिल्कुल यथार्थमा रमाउनुपर्छ भन्ने सोंचमा गएँ । मैले तिमीसँग बनावटी कुरा गरेको हुँदै होइन । बरु मैले कुरालाई मनमा नराखी जस्ताको तस्तै तिमीसँग प्रस्तुत गरेको हुँ । सायद यो एक प्रकारको भुल हो । मैले मेरा कुरा मात्र ठुला भनेको होइन । त्यतिखेर तिमीलाई गुमाउँछु कि भन्ने चिन्ता थियो । सायद मैले तिमीलाई आफूलाई भन्दा पनि बढी प्रेम गर्थें ।

बिरामी हुँदा खाना बोकेर ल्याइदिनेलाई मैले कसरी नराम्रो सोंच्न सक्छु? समस्या परेको बेला उचित सल्लाह दिनेप्रति म कसरी कुभलो सोंच्न सक्छु? मेरा दुख सुनिदिएर हौसला दिन एक पात्रलाई म कसरी घात गर्न सक्छु? मैले तिमीलाई पहिले नै भनेको हुँ – ‘मसँग प्रेम गर्ने मुटु छैन ।’

मान्छेमा कमजोरी पक्कै हुन्छ । हो, ममा एउटा रोग छ । आवेगको नियन्त्रण गर्न नसक्नु । मैले यो रोगलाई नियन्त्रण गर्न हर प्रयास गरेको छु । मलाई पनि मेरो मतलब छ । समय नै त्यस्तै बनिदिन्छ त के गर्नु?

जब आफैले विश्वास गरेर कसैलाई मनका कुरा सुनाइन्छ । यो आशा गरिएको हुन्न कि, सम्बन्ध अगतिलो भएपछि उसले कुरा सुनाउँदै हिँडोस् । आफ्नो बेइजत गर्दै हिँडोस् । मरिसकेको सम्बन्धको अब हामीले पूजा गर्नु हुँदैन । विरोध गर्नु हुँदैन । उत्खनन् गर्नु हुँदैन भन्ने लाग्छ मलाई ।

तिमीले मेरी आफ्नै आमाले जत्तिकै माया गरेकी हौ । साथ दिएकी हौ । सायद तिमीजस्तो प्रेमिका अब मैले पाउँदिन पनि । यो मलाई थाहा भएर पनि मैले तिमीलाई जिन्दगी साथ दिन्छु भन्न सकिन । मैले म तिमीलाई एकदमै प्रेम गर्छु भनेर व्यक्त गर्न सकिन । यो मेरो समस्या हैन । इमान्दारिता हो । तिमीलाई मैले साँच्चिकै प्रेम गर्थें । मलाई तिमीसँग मात्र बोल्न मन लाग्थ्यो । हरेक समय म तिम्रो म्यासेजको प्रतीक्षामा हुन्थें । मोवाइलको रिङटोन बज्यो भने पनि तिमीले गरेकी हौ कि भन्ने लाग्थ्यो । तिमीसँग म चौबिसै घण्टा कुरा गर्न चाहन्थें । तिम्रा आँखा हेर्दा मलाई अत्यधिक खुसी मिल्थ्यो । तिम्रो बोली सुन्दा मन हौसिन्थ्यो । जिस्किन मन लाग्थ्यो तिमीसँग । तिमीसँगै हात समाएर यो पूरै संसार घुम्न मन लाग्थ्यो । तिम्रो बाहेक कसैको मतलब लाग्दैनथ्यो । तिम्रो नाम मन पर्थ्यो । तिमीले सपनामा देखें भनेर होस्टेलबाट फोन गरेको दिन म क्या खुसी भएको थिएँ । मलाई तिम्रा हरेक शब्द मन पर्थ्यो । हरेक कुरामा चासो लाग्थ्यो । मैले गरेको प्रेम पागलपनको थियो । यस्तो भाव त कथाहरुमा आउनुपर्ने हो । कथामा पनि त मनमा आएका कुरा लेखिने रैछ ।

म दुखी छु । किनकि यति धेरै माया गर्ने मान्छेलाई मैले खुसी राख्न सकिन । उसको नजरमा राम्रो बन्न सकिन । राम्रो बन्न राम्रो हुनुपर्ने रैछ । सायद म राम्रो बन्न नसक्ने एक भिलेन हो । स्वीकार्नुपर्छ । र मैले तिमीलाई आजैका मितिदेखि मेरो जिन्दगीबाट निकालिदिएँ । तिम्रो खुसीका लागि । तिमी रमाउनका लागि । तिम्रो सुन्दर भविष्यमा काँडा नबन्नका लागि ।

प्रिय तिमी,
हुन त म तिम्रो जिन्दगीबाट हटिसकेको छु । आखिर एकदिन त हट्नै थ्यो । मलाई यसमा कुनै दुखेसो छैन । दुखेसो एउटै कुरामा छ कि, मैले यति धेरै माया गर्ने मान्छेको किन मन दुखाएँ ? मन दुखाउन नहुने थ्यो । थाहा छैन, बेलाबेला मलाई के हुन्छ । किन पागल हुन्छु ।

तिमीलाई थाहा छ, म एक बिमार मान्छे हुँ । मसँग धेरै रोगहरुले जोरी खोजिरहेका छन् । त्यही भएर म धेरै ठुला सपना देख्दिन । किनकि मेरो आयु छोटो छ या कष्टकर छ । म धेरै साथी समूह बनाउन चाहन्न । म एक दुईजना साथीको संगतमा रमाउने मान्छे हुँ । उनीहरुले मेरो समस्या बुझ्दे हुन्थ्यो भन्ने लाग्छ । अरु केही आशा राख्दिन म ।

मलाई संसारकी सबैभन्दा महान मान्छे मेरी आमा लाग्छ । उहाँको माया मलाई सबैभन्दा महत्वको लाग्छ । तर तिनै आमासँग कहिलेकाहीं सानो कुरामा पनि झगडा हुन्छ । पछि पछुतो लाग्छ । के गर्ने, केही आदत त साला साह्रै निर्दयी छन् । दिमागबाट हट्नै नमान्ने । तर मैले तिमीमा तिनै आमाको छाँया देखेको हुँ । तिम्रो चोखो मायामा मैले कालीमाता देखेको हुँ । कस्सम मैले बहुत माया गर्थें तिमीलाई ।

म मौन रहनुको अर्थ यो होइन कि, मेरो तिमीप्रति प्रेम नै थिएन । मैले तिमीसँग भाव नदेखाउनुको अर्थ यो होइन कि, मैले तिमीलाई कति पनि प्रेम गरिन । कहिलेकाहीं एकै वाक्यले आफ्ना मनका सारा भनाइहरु तिमीसामु राख्ने गर्थें । तिमीले त्यसको अर्थ सायद बुझिनौ । तर मैले तिमीलाई एकदमै माया गर्थें । यति धेरै माया मैले जिन्दगीमा कसैलाई गरिन । मैले साइवर लभ गरेकै आधारमा माया भ्रम हो भन्ने बुझेको थिएँ । तर तिमीले मलाई मायाको अर्थ मात्र हैन । धेरै थोक सिकायौ । त्यसैले तिमीलाई एकोहोरो सम्झिरहेको छु अहिले पनि । मेरो दिमागमा तिमी मात्र घुमिरहेकी हुन्छौ । तिमीलाई मैले धेरै कसिलो गरेर मनमा सजाएर राखेको रहेछु ।  जतिबेला पनि तिम्रै याद आउँछ । बिहानदेखि साँझसम्म कतै न कतै कल्पनामा तिमी मेरो साथमा हुन्छौ । सपनामा पनि तिमीसँगै कुरा गरिरहेको देख्छु । अरुसँग कुरा गर्दा पनि तिमीसँग कुरा गरेको जस्तो लाग्छ । तिम्रै याद आउँछ । थाहा छैन, किन म अरुप्रति आकर्षित हुन सकिन । कस्सम मैले झुट बोलेको होइन । मलाई किन यस्तो भयो, मैले कहिल्यै हेक्का पाइन । सायद मेरो कमजोरी तिमीलाई धेरै भन्दा धेरै प्रेम गर्नु हो । प्रेम गरें । भुल गरें । दुख दिएँ । माफी चाहन्छु । म बरु आफू जल्न तयार छु तर तिम्रो खुसी देख्न चाहन्छु । यति धेरै माया गर्ने मान्छेलाई एकै झड्कामा भुल्न सक्ने खुबी ममा छैन । यार, माया प्राप्ति मात्र पनि त होइन नि ।

तिम्रो नजरबाट म गिरिसकेको छु । थाहा छैन, मैले किन यी यावत कुराहरु तिम्रा लागि लेख्छु । जब कुनै मान्छेसँग अब संगत नै गर्नु छैन भने नलेखे पनि त हुन्थ्यो नि । सिधै इग्नोर गरेपनि त हुने हो । तर म तिम्रो नजरमा त्यति विधि पनि गिर्न चाहन्न । मैले तिमीसँग जुनीजुनी मित्रता कायम रहोस् भन्ने चाहेको थिएँ । अब हाम्रो मित्रता बालुवाको घर भइसक्यो ।

जिन्दगीमा कमै मान्छेलाई मात्र माया गरिन्छ । विश्वास गरिन्छ । उसको भर परिन्छ । उसका लागि पागल भइन्छ । ज्यान दिइन्छ । झगडा गरिन्छ । त्यस्तै कम मान्छेमध्येकी एक तिमी हौ । तिमीलाई मैले जिन्दगीभरी साथ दिन सकिन तर रुवाउन चाहन्न । सायद यस्ता कुरा एक अर्थले त तिमीले पनि बोल्नुपर्ने हो । तर तिमी त ‘रुन बन्द गर’ भन्दिन्छौ । कहाँ सजिलो छ र रुन बन्द गर्न ! कसैलाई माया गरियो भने उसका लागि रुन त के ज्यान दिन पनि तयार हुन्छ प्रेमी । ठीक छ । म तिम्रो लागि रुन बन्द गर्न सक्छु । आलापका गीत गाउन बन्द गर्न सक्छु । तिमीबाट धेरै दूर आफ्नै दुनियाँमा जान सक्छु । तर तिमीले पनि एउटा सम्झौता गर्नैपर्छ । बिन्ती, मलाई कुराको विषयवस्तु बनाउन छोडिदेऊ । केही भन्न बाँकी छ भने मलाई नै भन्दा हुन्छ । म बाहेक अरुलाई दुखेसो सुनाएर तिमीले के प्रमाणित गर्न चाहेकी हौ भन्ने थाहा छैन । यत्ति बुझ कि, मैले तिम्रो कुभलो कहिल्यै चिताएको हुने छैन ।

आजको मितिदेखि नै मैले यही पत्रका साथ हाम्रा केही सम्झनालाई कतै टाढा बडेमानको महलमा थुनेर आएको छु । अबका दिनदेखि कुनै पनि तरिकाले तिम्रो जिन्दगीमा अर्घेलो बन्न आउने छैन । तिम्रो मात्र मन दुखेको हैन । मेरो पनि दुखेको हो । तिमी मात्र रोएकी हैनौ । म पनि रोएको हुँ । तिमीले मात्र माया गरेकी हैनौ । मैले पनि माया गरेको हुँ । तिम्रो मात्र गुनासो छैन । मेरो पनि छ । सायद केही न केही स्मरण जिन्दगीभर रहिरहन्छ हामीसँग । तर पनि मेरो तर्फबाट हाम्रो कहानीलाई पूर्णत अन्त्य गरिसकेको छु । मैले गरेका सबै भुललाई माफी गरिदेऊ । जिन्दगीलाई सुमधुर बनाऊ । प्रगति गर । खुसी होऊ । म अबका दिनमा तिमीलाई कहिल्यै पनि माया देखाउने छैन । तर माया गरिरहेको हुनेछु । मैले तिमीलाई नचाहेरै पनि माया गरेको हो । हो, म पागल भएको हो । तिमी नै सबैभन्दा प्रिय लागेको हो ।

अन्त्यमा, हाम्रो सम्बन्धको मृत्यु भइसकेको छ । तिम्रो नयाँ जिन्दगी सुखमय बनोस् । सधै रमाइला पलहरु आउन् । मलाई नराम्रो सोंच्न छोडिदेऊ । मान कि, यो समय जिन्दगीमा आउँदै आएन । मसँग भेट नै भएन । कुराकानी नै भएन । मैले तिम्रो मन नै दुखाइन । यति धैरै मान्यौ भने यो पनि मानिदेऊ – ‘तिमीलाई धेरै भन्दा धेरै माया गर्ने एक प्रेमी थियो । तर उसले तिम्रो मन दुखाएर धेरै टाढा गयो । अहिले मरिसक्यो ।’

अलविदा ।

तिमीलाई माया गर्ने
मधु

0 comments:

Post a Comment