लेख्दै । सिक्दै । शब्दहरू बुन्दै ।

Showing posts with label कविता. Show all posts
Showing posts with label कविता. Show all posts

Saturday, November 21, 2015

On 10:53 PM by Arghelo Thapa in    1 comment
प्रिय प्रेमका दार्शनिकहरू
मैले बरफमाथि कलेजी राखेर
छिया छिया बनाएको हुँ प्रेमको सियोले
आगोमाथि रगतको भुटुन हालेर
भकभकी पकाएको हुँ आलो मुटुलाई
भत्केका मनका पर्खाल टाल्न
केही सपना मुछेको हुँ आँसुमा
ठप्प भएको रगत प्रवाह गर्न
मैले मायाको विष पिएको हुँ जोशमा
शिथिल भएको भावना जगाउन
मैले मृत आत्मालाई आग्रह गरेको हुँ

केही नाटकीय कथन बोल्नु कहिल्यै
नछुट्ने कसमहरू खानु
सम्झौतालाई सम्झौता बनाउनु
यद्यपि प्रेमका तत्वहरू होइनन्
केही मिथकीय भ्रम र केही अमूर्त अर्थ
सायद प्रेमको परिभाषा हो
हुनसक्छ प्रेम एक अपरिभाषित शब्दकोष

त्यही अपरिभाषित शब्दकोषबाट झिकेर
दिलको धातुमा कुदेछु उसको नाम
कन्चटको मध्यभागमा सजाएछु उसको तस्वीर
अलौकिक मसीले लेखेछु गाढा अतीत
बिरानो बाटोमा गाएछु नमीठो गीत
कल्पनाको बालुवामा ठडाएछु एउटा महल
नुनचुकले धोएछु प्रेमको गहिरो घाउ

थाहा छ, ऊ प्रेत होइन
ऊ एक नामुद धोकेवाज हो

उसका कसमहरू सडिसकेका छन्
नमीठो गन्ध आउँछ यादहरूबाट
हत्या गर्न मन लाग्छ इतिहासलाई
साथहरू एकान्तमा चिच्याउँछन्
कल्पनाहरू कालसँग जिस्किन्छन्
यता म भर्खरै काटिएको कुखुरो भएको छु

सम्भावनाको तुइनले बगाएको मनलाई
उसको गतिशीलताले ढपक्कै छोपेको छ
अनैतिक मृगतृष्णाले भ्रमित बनाएको छ
हो, मैले एउटा फगत नि-यात्रा गरें
भ्रमलाई सत्य बनाउने जमर्को गरें
अहिले म सत्यलाई भ्रम बनाउन खोज्दैछु

थाहा छ, ऊ प्रेत होइन
ऊ एक नामुद आत्मा हो

उसमा बगेको छ सुन्दरताको आगो
उडेको छ कामुकताको फिलिङ्गो
र दौडेको छ मनको म्याराथन
उसको मनले केही उमेरहरू सयर गर्दा
सुन्दरता उडेर उजाड हुनेछ
र त्यसपछि ऊ शून्यप्राय हुनेछ
ठ्याक्कै भुइँमा झरेको फूलजस्तै

भुइँमा झरेको फूल, फूल नभएर
उसको उस्तै प्रतिबिम्ब हुनसक्छ
उसको स्पष्टीकरण हुनसक्छ
पूर्व आँकलनको अर्को सत्य हुनसक्छ
अर्थात अत्तर उडेको फूल हुनसक्छ

Friday, August 21, 2015

On 7:13 AM by Arghelo Thapa in    No comments
परेली फरफराउँदै
तिमीले सकेंत गरेकी हौ
मैले मौनताको दियो
सल्काउनै लाग्दा
तिमीले भंग गरेकी थियौ
हाम्रो मित्रताको साइनो
हो, त्यही साइनो
सुगन्ध बनेर उडेपछि
हामी मौन बस्नै सकेनौं
के माया त्यतिखेरै भएको हो?


पहिलो भेटमा
हाम्रा नजर जुधेकै हुन्
मलाई तिमीले मुस्कान
सापटी दिएकी हौ
मैले मुस्कानलाई
मायामा बदलिदिएको
तिमीले पत्तै पाइनौ
मैले एउटा कठिन खेल खेलें
र तिमी कल्पनामा हरायौ

मैले हाँसिदिदा
तिमीलाइ प्रेम भएको हो
काउकुती लागेको हो एक थरिको
के प्रेम पनि अश्लील छ?
मैले देखेको हुँ,
तिम्रा आँखामा प्रेम बगेको थियो
आभामा भावना बगेको थियो
शरीरमा कामुकता बगेको थियो
अर्थात म बगेको थिएँ तिमीमा

हैन, म तिम्रो अगाडि थिएँ
तिमीलाई अनुभूति भएको हो
प्रेमको सिद्धान्त बगेको हो
यौन छचल्किन खोजेको हो
सायद ओँठ बोल्न खोजेका हुन्
हो, म तिम्रो अगाडि थिएँ

म सम्भावनामा डराएको थिएँ
चण्चल प्रेम डराएको थियो
मौसम डराएको थियो
तिमी निडर अर्थात मौन थियौ
केही बेरमै समय बदलिनेछ
भावनाहरू साटिनेछन्
जब जब तिमी डराउन थाल्नेछौ
त्यतिबेला म निडर बनेको हुनेछु

Monday, July 13, 2015

On 10:11 PM by Arghelo Thapa in    No comments
एउटा गहिरो इनारको पिँधमा
माछा छट्पटाइरहेको छ
सुक्नै थालेको छ इनारको पानी
पिँधमा कमिलाहरु पलाएका छन्
आकाश सुख्खा छ तिर्खाएको प्रेमीझैं
सायद वर्षौवर्षसम्म
आकाशले बर्षात दिनेवाला छैन
जूनको उज्यालोमा केही पुतलीहरु
आकाशमा उडेका छन्
इनारको पिँधमा माछा तड्पिएको छ
कारण इनार सुख्खा छ
जसरी हामीले सुक्खा जिन्दगी बाँचेका छौं
जसरी हामीले सुख्खा हाँसो हाँसेका छौं
त्यसरी नै इतिहासले पनि
बारम्बार सुख्खा लँडाइ लडेको छ

इनारको पिँधमा थोरै पानी थियो
माछाहरु बाँचेकै थिए
वर्तमानमा बाँचिरहेका केही माछा
भूतमा पनि बाँचिरहेका थिए
भविष्यको कल्पना त स्वयम्
भविष्य आफैले गर्न सकेको छैन
छट्पटीमा माछा बाँचेका हुनेछन्
यो केवल सम्भावनार्थ हो

वरपर मान्छेहरु झुम्मिरहेछन्
हेरिरहेछन् दृष्य माछा र कमिलाको
इनारको किनार सीमा बनेको छ
सबैले एकै स्वरमा भन्दै छन्
माछा आफै मर्नेवाला छ
कुनै हतियारको जरुरी छैन
माछा आफै मर्नेवाला छ
यतिखेर माछाहरुले भनिरहेका  छन्
यो देश र इनारमा के फरक छ?
हामी र जनतामा के फरक छ?
यो देश ठ्याक्कै यही इनारजस्तो छ
हो, यो देश यही इनारजस्तो छ
On 1:49 AM by Arghelo Thapa in ,    1 comment
प्रिय बलात्कारी
धेरै धेरै धन्यवाद छ
तिम्रा हजारौं योगदानका लागि
तिम्रो सह्रानीय कार्यले
युवतीहरु मान्छेसँग डराइरहेका छन्
विचलित भइरहेका छन्
फेरि पनि धन्यवाद छ
तिम्रो कुशल कार्य(?)का लागि

आशा गरौं,
तिम्रा आमा र बहिनी
तिमीसँग डराएका छैनन्

मलाई अड्कल छ
तिमीसँगको सम्बन्धले
कति धेरै छोरीले आत्महत्या गरे
कति धेरैलाई मानसिक असर पुग्यो
मेरो दया छ उनीहरुलाई
र तिमीलाई पनि

आफू हुनुमा गर्व गर्छौ तिमी?
गर्दैनौ भने गर्नैपर्छ
युवतीको जिन्दगी ध्वस्त पारेकोमा
गर्व गर्नैपर्छ तिमीले
तिम्रो कारणले गर्दा उनीहरु
समाजमा खुलेर बाँच्न सकेका छैनन्
कसैले उनीहरुसँग बिहे गर्ने छैनन्
माफी चाहन्छु, एउटा प्रश्न सोध्न चाहें
आखिर केका लागि तिमीले यो पेशा रोज्यौ?
कृपया, बरु हस्तमैथुन गर न
किन मान्छेहरुको जिन्दगी भत्काइदिन्छौ
मलाई गहिरो समवेदना छ तिमीसँग

के लाग्छ, तिम्लाई सजायले पछ्याउने छैन?
के तिमी छोरीको बा होइनौ?
के तिमी छोरीको बा हुने छैनौ?
यदि तिमी छोरीको बा हौ भने
किन भत्काउँछौ छोरीका जिन्दगीहरु?
किन निमोठ्छौ रहरका पालुवाहरु
प्रिय बलात्कारी,
तिम्रो सोंचले हरेक छोरीभित्र
किन डरको आगो पोतिएको छ?

(प्रतिज्ञा खड्काको कविता Dear Rapist बाट प्रभावित ।)

Sunday, June 28, 2015

On 7:17 PM by Arghelo Thapa in    No comments
गाला सुन्दर लागेर
स्याउलाई टोलाएर हेरिरहें
स्याउ झन राती हुँदै गई
पाक्दै गई
म लालायित हुँदै गएँ


तर अहिले कसैले
त्यही स्याउ टिपेर
अल्कोहल बनायो
मलाई नशा लागेको छ

Sunday, May 31, 2015

On 6:53 PM by Arghelo Thapa in    No comments
कहिलेकाहीं घामको आगोले
चिन्ताको आगोले भन्दा बढी पोल्छ
कहिलेकाहीं चिन्ताको आगोले
मायाको आगोले भन्दा बढी पोल्छ
घण्टौं घाममा पसिना बगाउने मेरा बा
चिन्ताले दुब्ली बनेकी मेरी आमा
र जवानी आकर्षणमा
कसैसँग अल्झिएको मेरो मन
सायद जिन्दगीका फरक रापहरू यिनै हुन्

त्यसैले होला, म प्राय निदाउने बेला
यिनै बातहरूमा डुबेको हुन्छु
अर्थात,
मन किन बेचैन हुन्छ चिन्ताले?
शरीर किन कालो हुन्छ दिनले?
दुख किन निम्त्याउँछौ आफैले?
 
दिमागमा युद्धरत यी दुर्घटनाले
मलाई एउटै कुराको आभास दिलाउँछ
कि, मान्छे त्यसै कालो भएको होइन
कालोपना यी सबै रापहरूको सुनौलो संयोजन हो

(अक्षर यात्राको ११८ औं शृङ्खलामा स्याङ्जाको पकवादीमा वाचन गरेको कविता ।)

Thursday, April 30, 2015

On 7:37 PM by Arghelo Thapa in    No comments
केही यादहरू अझै ओभाएका छैनन्
सम्झनाका जोड घटाउमा
कोरिएका छन् केही अतीत
ढल्नै लागेको छ प्रेमको एउटा रुख
दाग बनेको छ शब्दको लहरो
ओइलाएका छन् सवेंगहरू
रोएका छन् पश्चातापहरू

छेउमा म बसिरहेछु मुढो बनेर

आँसुको कलमले बूढो रुखको पातमा
लेख्दैछु अन्तिम पत्र तिमीलाई
शब्दहरूमा उनेको छु हृदयभरिको माया
केलाउन खोज्दैछु पश्चातापका बियाँ
स्मृतिमा बनाइरहेछु एउटा स्केच तिम्रो
र स्केचमा तिमी हाँसिरहेकी छौ
हो, तिमी घरीघरी हाँसिरहेकी छौ

प्रिय तिमी,
मैले माफीका लागि पत्र कोर्दैछु
मेरो माफीले मित्रता खोज्दैन
मेरो माफीले सम्बन्ध खोज्दैन
मेरो माफीले सीमित राग पखाल्न चाहन्छ
जुन राग यतिबेला तिमीमा पोतिएको छ

सम्बन्धका बलिया इट्टाहरूमा
टाउको ठोक्किएर तिमी घायल भयौ
मैले हटाउन सकिन आफैले हानेको इट्टा
धोइदिन सकिन तिम्रा आँखाका आँसु
ओकल्न सकिन माफीका दुई शब्द
त्यसैले यो पत्र लेख्दैछु
यो कविता लेख्दैछु तिम्रा लागि

प्रिय तिमी,
संसार स्वार्थको आगोले जलेको छ
मान्छेहरू मुकुट ओढेर अस्तित्व बेचिरहेछन्
तिमी विश्वासको पछ्यौरीले मुख छोप्दैछौ
किनकि तिमीलाई झुठ समाधानको बाटो लाग्छ
हेक्का राख,
झुठका रुखहरू चिल्ला हुन्छन्
झुठका बेर्ना ओखरका बेर्नाजस्तै हुन्छन्
ठ्याकै ओखरका बेर्नाजस्तै
तसर्थ झुठ बेचेर धर्म कमाउन खोज्नु मूर्खता हुनसक्ला

प्रिय तिमी,
म तिमीसँग माफी माग्न चाहन्छु
मैले बगाएको आवेगको उदगारले
अब फेरि नपोलोस्, नजलाओस्
जानेर भएका भुलमा माफी चाहन्छु
भन्छन्, संसारको सर्वोत्तम सुख प्रेम हो
हाम्रो खुसी अन्तर्सम्बन्धित थियो
त्यसैले माफी चाहन्छु
भूतमा गुन लगाएको भए माफी दिनू
माफीको लायक नभए भुलिदिनू

तिमीले दिएका प्यारहरू जतनमा छन्
सम्बन्धका खुसीहरू सन्दुकमा छन्
बिछोडका आँसुहरू परेलीमा छन्
सहयोगका स्तम्भहरू कलेजीमा छन्
तर मनहरू बेचैन छन्
उडिरहेछन् बतास बनेर तिम्रो कल्पनामा
तर त्यो बतास अब फेरि आउने छैन
दुखाउने छैन तिमीलाई अर्कोपटक
किनकि त्यो बतासको
यो अन्तिम पत्रसँगै मृत्यु हुनेछ

अल बिदा प्यारे दोस्त
लभ यु !!!

Saturday, March 7, 2015

On 11:41 PM by Arghelo Thapa in    2 comments
जवानीको एक साँझ
म मेरो क्याफेको कुनामा
चुरोट तानिरहेको घडी
एउटा आगोको झिल्काले
मसँग उधारो चुरोट माग्यो

बदलामा मैले खरानी दिएँ
आगोले खरानी बाल्न खोजिरहेथ्यो
जसरी हामीले
‘सविंधान बनाउन खोजिरहेथ्यौं’
ठ्याक्कै तीन सेकेण्ड पहिले
एक हुल हावाका सन्तान आएर
खरानी उडाएर लापत्ता भए
पुलिसले खोज्दैछ बतासलाई
उसलाई मुद्दा परेको छ अपहरणको

दोश्रो साँझ
आगोको झिल्काले
मसँग आगो माग्यो
उत्तरमा मैले हात दिएँ
पोल्दो रहेछ आगोको झिल्कोले
के उसलाई सन्तुष्टि मिलेथ्यो ?

तेश्रो साँझ
आगोको झिल्काले
मसँग साथ माग्यो
मैले उसलाई सहमति दिएँ
तर
प्वाल पारिदिएछ सहमतिको कागज

यसरी वर्षौंसम्म
हामीले मित्रता गाँसिरह्यौं
उसो त
आगोको झिल्काले
प्राय पोलिरहन्थ्यो आफैलाई

तर आजकाल
चुरोट सल्काउन छोडेदेखि
आगोको झिल्को
बिना सूचना
मदेखि धेरै टाढा भागेको छ ।

Thursday, February 12, 2015

On 5:56 PM by Arghelo Thapa in    No comments
प्रकृतिले धरतीसँग
गर्भाधान गरेको भोलिपल्ट
धरतीले हावासँग गर्भाधान गर्‍यो
बदलामा हावाले
शीतका थोपाको रगत छरिदियो
कालान्तरमा धरतीले बिरुवा जन्मायो
बिरुवाले आकाशसम्म पुग्न
पातहरूका पखेटा रोज्यो
इनारको फेंदमा पुगेर
जराहरूले आफ्नो तिर्खा मेटे

बिस्तारै बिरुवा ठुली भई
फूलहरूको चुम्बक छोड्दै गई
भमराहरूले पालो कुर्दै थे दैलामा
फूल झरेर भुइँमा गई

आजकाल प्राय बिरुवाले सोंचिरहेको हुन्छ–
हामी मान्छेहरूको जिन्दगी
काँडामा अल्झिरहेछ कि फूल बनेर सुक्दैछ ?

Monday, December 15, 2014

On 1:52 AM by Arghelo Thapa in    No comments
कामुक बाबुले
श्रीमतीका लागि
सबै बच्चाहरूलाई
नजिकैको कपडा पसलमा
चकलेट किन्न पठायो
बच्चाहरू धेरै पर पुगे
गुलियोको लोभमा

सात सालको क्रान्तिमा
शहिद भएको एउटा हुतिहाराले
सबेरै देशभक्तिको नारा जपिरहेको थियो
एउटा पुरानो रेडियोमा

पच्पन्न सालतिर
पूर्वमा रातो घेरा नलाग्दै भागेका
केटाकेटीले भर्खर गाएका थिए
क्रान्तिको रक्तिम गीत

ठ्याक्कै अण्ठाउन्न साला ताका
परिवर्तनको सपना देखेका
थुप्रै जोशिला नेपाली
मर्नका लागि तँछाडमछाड गरिरहेका थिए

श्रीमानले श्रीमतीको यौवन पाउन
बच्चालाई ललिपप किन्न पठाए झैं
केही नेता, केही दल
जनतामा बदलाको लाहा दलेर
क्रान्तिको आगो बालेर
तापिरहेका थिए जगंलभरि
ललिपप चुस्दै

तर अहिले समयले समयलाई फेरेको छ
क्रान्तिसँगै देखेका सपनाहरू
भ्रममा मरेका जनताहरू
र सिकेका सीपहरू
बेराजगार भएर बसेका छन्
त्यसैले यहाँ अर्को क्रान्ति चाहिएको छ
मरेका मान्छेहरू ब्युँझाउनु छ
शहिद भएका शहिदहरूलाई बचाउनु छ
आउनुस्, क्रान्ति गरौं
के यो सम्भव छ ?

Saturday, December 13, 2014

On 8:33 PM by Arghelo Thapa in    No comments
हिउँदको झरी झैं
बरफ बनेर आइदिने
तिम्रा ती आला यादका चोटहरू
कसरी निको होलान् ?
अरे ! कोही त बताइदेऊ
कसरी पुरिन्छन् दागहरू
म त यहाँ निमोनियाले ग्रस्त छु । 

Friday, December 12, 2014

On 9:19 PM by Arghelo Thapa in    No comments

घाम ओथारो नबस्दै
कथामा उनिएका पात्रहरू
एक सुल्फा असन्तुष्टिको धुँवा तान्दै
रिसहरूलाई उडाइरहेछन् आकाशतिर
हिजो बिहान देखेकी सपनाकी पात्र
आज प्रचुर आवेशमा
केही भन्न खोज्दै छिन्
प्रेमले उनलाई पछ्छाइरहेछ
केही भावनाका तुसाराहरूले
भर्खरै फ्रीज बनाएको छ उनलाई
मौन आवाजले यही भन्दै थ्यो

अस्ति लेखेको कथाको पात्रले
मेरो बिरामी मगजलाई अठ्याएर
कायल बनाउँदै छ -
'हो, मैले पात्रलाई अन्याय गरेकै हो ।'

यी असन्तोष पात्रहरू
निहुँ खोज्न निख्खर
चाहनाहरूका बन्दी
अनि रहरहरूका दास
पात्रहरू झैं लाग्छन्
ठ्याक्कै असन्तोष जनता झैं लाग्छ्न्
जुन पात्रहरू म आफै जन्माउँछु
र अन्तत: उनैका दास बन्छु
जसरी देशले जन्माइरहेछ
चेतनाविहीन लाखौं लाख जनताहरू

Sunday, December 7, 2014

On 10:47 PM by Arghelo Thapa in    No comments
विश्वासका केही मुहानहरू
बेरोजगारीका केही चिहानहरू
खुशीका केही ओछ्यानहरू
समस्याका केही घुरानहरू
यी सबैको बन्द घेराभित्र
सबैले खोजिरहेछन्
आशाका जीवनहरू
काली गण्डकीको बेगजस्तै
उड्दैछन् मान्छेका रहरहरू
बाख्राका पाठाहरूले
गाइरहेछन् शान्तिका गीतहरू
नदीझैं बत्तिँदै दौडिरहेछन्
सहयोगका सयौं हातहरू
र मैले देखिरहेछु,
सुन्दर मुहारहरू
जून जुनजस्तै सुन्दर छन्
जुन पहाडजस्तै बलिया छन्
जुन फूलजस्तै हँसिला छन्
तर अन्जान छु,
भोलिका दिनहरूमा
उनीहरू के गरिरहेका हुनेछन्
घण्टौं हिँडेर पढेका ज्ञानहरू
के स्वदेशमै लागू हुनेछन् ?
सोध्दैछन् केही प्रश्नहरूले आफैसँग
यो अनेपक्षित संस्कार
यो रीति
यो रहस्य
यो उद्देश्य
र सपनाका बाकसमा
राखिएका निसर्दीका सपनाहरू
काली गण्डकीझैं बगेर
के सपनाको समुन्द्रमा पुग्नेछन्
या संवेग मात्रै रहनेछन् ?

अक्षरयात्राको ११२ औं शृङ्खलामा पाल्पाको निसर्दीमा वाचन गरेको कविता । त्यहाँँको संस्कार र  साहित्यिक मनप्रति समर्पित । 

Monday, September 22, 2014

On 5:33 AM by Arghelo Thapa in ,    No comments
जंगलबाट गाउँ अनि
गाउँबाट शहर भगाइएका
नौ सय थरी फूलहरू
आफ्नो जन्मभूमि छाड्नुपर्दा
परिवारबाट बेपत्ता हुँदा
रिसाएका थिएनन् ।

आँगनको डिलभरी
भाइ टीकाको बिहान कुरेका मखमलीहरू
आफ्नो घाँटी काटेर
कसैको गलामा सजिएका थिए
परैबाट केही फूलहरू
परिवारको बलिदानमा मौन थिए
उता केही फूलहरू
कक्षा प्रथम भएको अवसरमा
गलामा माला बनेका थिए
केही दिन पहिले ।

मन्दिरको किनारमा अल्झिरहेका
एक हुल मान्छेहरुले
आफ्नै हतारको पहाड धकेलिरहँदा
च्याँपिएका कैयन फूलहरू
मन्दिरमा सजिएका मूर्तिको
दर्शन गर्न नपाउँदा
रिसाएका थिएनन् ।

भ्यालेनटाइन डे बनेका फूलहरू
उपहार बनेका फूलहरू
भमराले चुमेका फूलहरू
बगैंचामा रमाइरहेका फूलहरू
आज एक्कासी रिसाएका छन् ।

प्रेमिकाले च्यातेर फालेका फूलहरू
आमैले शिरमा सिउरेका फूलहरू
मन्दिरमा भक्तले चढाएका फूलहरू
सबै फूलहरूको बृहद भेला भइरहेको बखत
एक हुल कार्यकर्ता आए
र अलिक परको बगैंचाबाट
एक बोरा फूलहरू
टिपेर लगे ।
जब ती फूलहरु
एउटा उजाड अनि पतझड
झुट पचाउने पर्खाल भएको
बडेमानको घरभित्र छिरे
त्यसपछि फूलहरू रिसाए
भौतिक संरचनाले ढाकिएको
बृहद सभाहलमा
जब ती फूलहरू
नेताको गलामा उनिए
त्यसपछि फूलहरू रिसाए
हो, मैले देखेकै हो
कतै उस्तै फूलहरू
हाँसिरहेका थिए
तर यता
मलिन अनुहारमा रिसाएको थियो
करौडौं फूलहरूको समूह
अखबारमा छापिएको तस्वीर हेरेर
करोडौं जनताले अड्कल गरिरहेका थिए
देश र जनता लुटिरहेका नेताहरूले
निस्वार्थी फूलहरूलाई गलामा लगाए
त्यसपछि फूलहरू रिसाए ।।

Monday, June 23, 2014

On 9:36 PM by Arghelo Thapa in    2 comments
वर्षौदेखि तिम्रा
म्याल झैं पाकेका आँखामा
एक महासागर आँसु
किन झर्छन् आमा ?
बेदनाले सुकेको स्वरमा
म बुझ्छु,
तिमी चिच्याउन चाहन्छौ ?
तर म बुझ्दिन
के भन्न चाहन्छौ
गुहार ! गुहार !! मलाई बँचाओ
के यस्तै यस्तै ?

कुहाइएको कोदोको(?) त्यो नमीठो गन्ध
ह्वास्सै तिम्रो स्वासनलीमा प्रवेश गर्दा
तिमीलाई मैले पनि रक्सी सिक्नुपर्छ भन्ने लागेन ?
मध्यराति तिमी रुने गर्छौ
भयका लस्करहरू
ढोकाका चरहरूबाट हाम फाल्छन्
तिमी बेजवाफ हुन्छौ
के तिम्रा गहना आँसु मात्र हुन् ?
किन तिमीमा विद्रोह छैन ?
आँसु निलेर किन हाँस्न खोज्छौ आमा ?
तिमी हाँस्न लायक रहिनौ,
कि म हाँस्न लायक रहिन ?

साँच्ची,
तिम्रो जवानी मुस्कान खोस्ने
तिमीलाई हरेक दिन ताडना दिने
को हो त्यो ?
को हो त्यो आमा ?
जसको आगमनमा तिमी शिथिल बन्ने गर्छौ,
भन न आमा
को हो त्यो ?
जसलाई म बाबा भन्ने गर्छु ।

Wednesday, February 5, 2014

On 8:25 PM by Arghelo Thapa in    No comments
कसैलाई प्रेम गर्ने यो मन
चिथोरिएछ बचनका बाछिटाहरूले
परेलीमा कोरिएको उनको नाम
पखालिएछ आँसुका बाढीहरूले
संसार देख्ने आँखाहरू
मनकै इसारामा चलिरहेछन्
तर यो मन
आफ्नै आँखालाई भन्दा
एउटा बिम्बलाई प्रेम गरिरहेछ
हर्ष र बिस्मातका ती रहरहरू
हाम फाल्दैछन् कन्दराबाट
आलो घाउमा किरा परेझैं
बिभत्स छन् मनका लक्ष्यहरू
दुखेको यो मन
बहुलाउँछ कहिलेकाहीँ
शान्ति खोज्छ कहिलेकाहीँ
क्रान्ति रच्छ कहिलेकाहीँ
के यो मनको उवार सम्भव छ ?

Monday, January 20, 2014

On 6:47 AM by Arghelo Thapa in    No comments
प्रिय,
मलाई हावामा उड्न देऊ
निदाएका छन् मेरा यौन ग्रन्थीहरू
सल्बलाएका छन् मेरा दिमागहरू
म खोज्दैछु बुद्धहरू
म खोज्दैछु वि.पीहरू
म खोज्दैछु महानायकहरू

बलात्कृत भएका आमाका सपनाहरू
तिमीसँगको सम्भोगले पूरा हुँदैनन्
सहिदले  रोपेका बिजहरू
तिमीसँगको यौनेच्छाले हुर्किदैनन्
प्रिय,
मलाई हावामा उड्न देऊ
म खोज्दैछु जुनकीरीहरू
म खोज्दैछु माहुरीहरू

तिमी आतुर  छौ सम्भोगका लागि
म आतुर छु परिवर्तनका लागि
तिमी ढल्न चाहन्छौ
म जल्न चाहन्छु
प्रिय,
मलाई हावामा उड्न देऊ
म खोज्दैछु देउताहरू
म खोज्दैछु शिक्षाका पाइलाहरू

आँखामा छचल्किरहेको तिम्रो यौवन
कसैको व्यग्र प्रतिक्षामा भौंतारिरहेछ
तर यता,
दिमागमा अल्झिरहेको विद्रोहको तरबार
सबैको परिवर्तनका लागि तड्पिरहेछ
प्रिय,
मलाई हावामा उड्न देऊ
म खोज्दैछु शान्तिहरू
म खोज्दैछु परिवर्तनहरू
म खोज्दैछु विकासहरू
ता कि,
निराशाको रेखामुनि बसेका छाँयाहरूले
शान्तिको सास फेर्न सकुन्
प्रेमको उल्लास हेर्न सकुन्

Wednesday, January 1, 2014

On 5:58 AM by Arghelo Thapa in    No comments
सहर फिक्का छ किनकि युवा छैन
परिवार दिक्क छ किनकि युवा छैन
रोजगार छैन छ केवल देश
त्यही देश,
पागल हुन ठीक्क छ किनकि युवा छैन

Monday, September 30, 2013

On 10:44 PM by Arghelo Thapa in    No comments
रंगीन घरको झ्यालबाट
रंगहीन एउटा युवतीले
मन्दिरमा पूजा गरिरहेका
राताम्मे महिलाका हातका थाली

सिउँदोको सिन्दुर हेर्दै
टोलाइरहेकी छिन्
उनीसँग रंगीन सपनाहरू छैनन्
रंगीन वस्त्र छैन
सादा जिन्दगी हेर्ने
आँखाहरू मात्र छन्
जसका लागि उनी व्रत बस्थिन्
उनले नै आफैसँग
खुसी, रगींन संसार
र सिउँदाको सिन्दुर
सँगसँगै लगेर गएका थिए
सदा सदाका लागि

Sunday, August 18, 2013

On 1:02 AM by Arghelo Thapa in    No comments
तिमी र म सङ्गै भएको बेला
तिमी भन्ने गर्थ्यौ
"म तिमीलाई माया गर्छु ।"
अहिले म टाढा छु,
फेरि तिमी अर्कैलाई भन्छौ रे!
"म तिमीलाई माया गर्छु ।"
मैले तिमीलाई भेटें सपनीमा
सोधें - "माया मारेको हो ?"
"हैन कहाँ मार्नु म त माया गरिरहन्छु"
मैले सोधें - तिम्रो अर्को केटा छ रे!
"छैन!"
म व्युझें,
एक्कासी तिमीलाई झन गाढा सम्झें
के तिमी माया मारेकै हो त ?
भन्छन्, केटी मान्छे तरल हो
"जता पनि बग्न सक्छ"
केवल कुलो चाहिन्छ!
बिन्ती
नबग्नु कतै,
तिमीसँग म बग्नुपर्छ
यदि तिमी म सँग बगिनौ भने
म ठप्प हुन्छु
किनकि मेरो रगतमा तिमी छौ
र,
तिम्रो रगतमा म
त्यसैले प्रेम बचाई राख
सिङ्गो जीवन जिउनु छ ।
सारा इच्छा पिउनु छ ।