लेख्दै । सिक्दै । शब्दहरू बुन्दै ।

Showing posts with label लघु कथा. Show all posts
Showing posts with label लघु कथा. Show all posts

Tuesday, February 25, 2014

On 10:18 PM by Arghelo Thapa in    No comments
आँगनको डिलमा भाँडा माझ्दै गरेकी आफ्नी स्वास्नीलाई बजारबाट आउनासाथ भीमबहादुरले चुल्ठोमा समातेर घिसार्दै घरभित्र लग्यो । आफ्नी स्वास्नी हातमा माझ्दै गरेका भाँडाहरूसँगै लतारिँदै घरभित्र पुगेपछि भीमबहादुरले ढोकाको चुकुल लगायो । स्वास्नीले बिस्तारै हातका भाँडाहरू भुइँमा राख्दै श्रीमानको मुखमा हेरी तर केही बोल्न सकिन । उसलाई लोग्ने रिसाएर आगो भएपनि किन रिसाएको छ भन्ने अड्कल समेत भएन । भीमबहादुरले स्वास्नीलाई भर्कुन थाल्यो । स्वास्नी दुई हातको भरमा आफ्नो टाउकोलाई जोगाउन खोजिरहेकी थिई । कुट्दा कुट्दै थाकेपछि लोग्नेले अलि ठुलो स्वरमा थर्काउँदै भन्यो – ‘मेरो हाकिमले तँलाई किन राम्री छे भन्छ ?’ स्वास्नी केही बोलिन । सायद श्रीमानले पिट्दा दाँतले टोकिएर होला उसको ओंठनिरबाट रगत बगेको थियो । पन्ध्र सेकेन्डसम्म पनि स्वास्नी केही नबोलेपछि भीमबहादुरले नजिकै भएको थाल उठाएर स्वास्नीको टाउकोमा हान्यो र स्वास्नी ढली । केही छिनको सन्नाटापछि भीमबहादुरले बिस्तारै स्वास्नीको अनुहारमा हेर्‍यो । साँच्चै श्रीमती राम्री थिई । रिस मर्दै गएपछि भीमबहादुरले स्वास्नीको नजिकै बसेर मनमनै सोंच्यो – ‘मेरी स्वास्नीको रुप राम्रो छ त उसको के गल्ती ?’ आफूले आवेशमा आएर सोझी स्वास्नी कुटेकोमा भीमबहादुरलाई पश्चातापको आगोले पोल्न थाल्यो । सुस्तरी श्रीमतीको नजिक गयो र स्वास्नीको आँखामा हेर्‍यो । स्वास्नीले अझैसम्म पनि आँखा बन्द गरेकी थिई । दिनदिनै कुट्ने बानी परेको भीमबहादुरलाई आज भने पछुतो लागेको अनुभूति भएकाले होला केही खिन्न देखिन्थ्यो ।

Sunday, January 19, 2014

On 10:40 PM by Arghelo Thapa in    No comments
नजिकैबाट धुँवाको मुस्लो मतिर धकेलेर बाइक मच्चियो । त्यो बाइकले मसँग बाइक नभएकोमा पछाडि फर्केर खिसी गर्दै झन कुदेजस्तो लाग्यो । सडक छेउमा साथी कुरेर बसेको मेरो दिमागमा एक्कासी रौद्र रसहरू जबरजस्ती हुलिए । आँखाहरु राता भए र उतै मोडिए जता भर्खरै बाइक गएको थियो । कसैलाई कुर्दा यत्तिकै दिमाग तात्ने । त्यसैमाथि बाइकले गिदी गर्दा कसको पो दिमाग तात्दैन र ? फरक्क फर्केर बाइक गएकोतिर हेरें । मेरो रिस एकैपटक शुन्य डिग्रीमा झरेछ किनकि नजिकै एउटी युवतीले मलाई हेरिरहेकी रहिछन् । खिस्स हाँसिन् र बाटोतिर फर्किन् । मेरा आँखाहरू भने उनका कोमल आँखामा गडेर हेरिरहेका थिए । म आँखालाई अन्तै मोड्न खोजिरहेको थिएँ तर आँखा म भन्दा पनि लोभी रैछन् । गुलाबी पाइन्ट थियो क्यारे । सुहाएको थियो । अलिकति कपालले गालामा चुम्बन गरिरहेको थियो मेरा आँखाले उनलाई चुम्बन गरेजस्तै । मेरो मनमा एक्कासी मायाका छालहरु नाचगान गर्न थाले । म मदहोस भएँ । मेरा नजरहरु उनीबाट हट्न पटक्कै मानिरहेका थिएनन् । गाडीका आवाजहरु यताउता भाग्दै थिए । म भने उनको आँखामा हेरिरहेको थिएँ । केटी भनेको चुम्बक रैछ । मेरो मन उनको एक हेराइमै उनीतिरै भाग्यो । म मुस्कुराएको थिएँ । उनले फेरि फर्केर हेरिन् । झन धेरै खुसीहरु जम्मा भएर मेरो मनभित्रै बाजा बजाउन थाले । मैले मायाको अनुभव गरें । प्रेमको अनुभूति गरें । उनले मलाई हेरेर खिस्स हाँसिन् र फेरि बाटोतिरै फर्किन् । सोंच्दैथे, अब नजिक जान्छु र फोन नम्बर माग्छु । सोंचले पूर्ण रुप लिन नपाउँदै एउटा बाइक युवतीको नजिक रोकियो । उनी खुसी भइन् र बाइकको पछाडि बसेर युवकको कम्मरमा च्याप्प समातिन् । एकाएक मनभित्र नाच्दै गरेका खुसीहरुले मौनधारण गर्न थाले । जिउ लुलो भयो । अलि पर पुगेर ती युवतीले पछाडि फर्केर हेरिन् । यतिखेर भने मेरो मनमा उनले हेर्दा खुसी लागेन । क्षितिजमा पुगुन्जेलसम्म मेरा आँखाहरुले उनकै पिछा गरिरहे । आफैले आफैलाई भनें – बिचरा म ।

Friday, August 30, 2013

On 5:09 AM by Arghelo Thapa in    No comments
खासै मन्दिर नजाने कृष्ण आज मन्दिर गयो । मन्दिर जानुको उद्धेश्य अरु केही नभएर आफूले भर्खरै किनेको क्यामरामा केही मन्दिरका आकृतिहरू जम्मा गर्नु थियो । सायद नयाँ क्यामेराको प्रतिविम्व होला । उसको अनुहार अलि बढी नै चम्किरहेको थियो । एक्लै मुस्कुरायो र मन्दिरलाई केन्द्र बनाएर तस्वीरहरू कैद गर्न थाल्यो । क्यामरालाई प्रकृतिको उज्यालोबाट जोगाउँदै आफूले खिचेका तस्वीरहरू हेर्न थाल्यो । तस्वीरहरूको हुलमा एउटा तस्वीर उसलाई अलि फरक लाग्यो किनकि त्यो तस्वीरमा मन्दिर एकदम सफा देखिएको थियो । मन्दिर भन्दा पनि सफा थियो हातमा थाली लिएकी युवतीको तस्वीर । तस्वीरलाई जुम गरेर अलि ठुलो बनायो । एकछिन हेरिरह्यो । खिस्स हाँस्यो र मन्दिरतिर पुलुक्क हेर्‍यो । युवतीलाई नदेखेपछि कृष्ण हतार हतार त्यतितिर लम्क्यो । मन्दिरको तस्वीर लिने वाहनामा युवतीले पूजा गर्न लागेको दृष्य आफ्नो क्यामरामा कैद गर्‍यो । यताउता गर्न थाल्यो । युवती पूजा गरेर बाहिर आई । कृष्णलाई मनभित्र के के भएको जस्तो लाग्यो । युवती भने सरासर हिंडी । कृष्ण ऊ गएको हेरिरह्यो । मन्दिर परिसरमै अलि पर पुगेर युवतीले यताउता हेरी र नजिकै भएको वरको रुखनिर बसी । कृष्णले उसलाई हेरिरहेको थियो । युवतीले पनि कृष्णलाई बेला बेलामा हेर्ने गर्थी तर युवतीले हेर्ने बेला कृष्णले तत्काल आँखा मोडेर अर्कैतिर हेर्थ्यो । धेरै बेरसम्म यो प्रक्रिया चलिरह्यो । मान्छेहरू पूजा गर्थे, आफ्ना मोवाइलमा मुस्कुराएका तस्वीरहरू कैद गर्थे र जान्थे । कृष्णलाई धेरैले उछिने अथवा भनौं ऊ भन्दा पछि आएका थुप्रै मान्छेहरू पूजा गरेर, तस्वीर खिचेर गए । कृष्णलाई भने त्यो पल एकदमै छोटो लागेको थियो । कृष्ण र युवतीको धेरै बेरसम्म आँखा जुधिरह्यो । युवतीले कृष्णलाई हेरेर खिस्स हाँस्थी । कृष्ण भने उसको हेराइले झन पानी पानी हुन्थ्यो । कृष्णले मनमनै सोँच्यो – ‘यसरी नै पहिले मन्दिर आएको भए त मेरो स्योर गर्लफ्रेन्ड हुने रैछ । यो केटी स्योर पट्टिन्छे ।’ युवतीले थाहा नपाउने गरी उसका केही तस्वीरहरू क्यामरामा कैद गर्‍यो । नजिक गएर बोलौं कि नबोलौं भनेर आफैले आफैलाई सोध्यो । उसको मनले अझै पनि उसलाई निर्णय दिन सकिरहेको थिएन । नजर एकआपसमा ठोक्किरहेका थिए । नजरको ठक्करले मुस्कानहरू जन्मिरहेका थिए । कृष्णले मनमनै बोल्यो  – ‘कसैसँग आँखा जुधाउनुको मज्जा कस्तो हुँदोरहेछ आज थाहा भो । यस्तो लागिरहेछ कि ऊ मेरै लागि मन्दिर आएकी हो ।’ युवतीको मुस्कानले उसलाई घायल बनाएको थियो । दुरीले केही टाढा भएपनि उनीहरू नजरको माध्यमबाट एकदमै नजिकिएका थिए । कृष्णले सोँच्यो – ‘ह्या कति नजरको तीर हान्नु ? बरु गएर सिधै हाइ भन्छु ।’ कृष्ण तस्वीर लिने निहुँमा युवती भएतिर आयो । युवती भने जुरुक्क उठी र परबाट आउँदै गरेको अर्को युवकलाई हाइ भनी । कृष्ण टक्क अडियो । युवतीले हतार हतार गर्दै कृष्णलाई हेरी तर यो पटक हाँसिने । परबाट आउँदै गरेको युवक नजिकै आएर युवतीसँग अंकमाल गर्‍यो । उसको हात समाएर गयो । कृष्णका सबै कल्पनाका घरहरू भत्के । युवती बसेको ठाउँमा बस्यो । सबैले बजाएर थाकेको मन्दिरको घण्टाजस्तै थकित बनेर क्यामरामा भएका तस्वीरहरू डिलिट गर्न थाल्यो । एउटा तस्वीर भने जति प्रयास गर्दा पनि हटाउन सकेन । त्यो थियो – ‘नजरले मनमा कैद गरेको त्यो युवतीको तस्वीर ।’

Sunday, June 16, 2013

On 10:58 PM by Arghelo Thapa in    3 comments
एउटा इमान्दार, भद्र र व्यवहारिक पत्रकार घाँटीमा महंगो खालको क्यामरा र पछाडि टल्किने खालको झोला बोकेर गल्लीको बाटो समाचार खोज्दै हिँडिरहेको थियो । उज्यालोलाई बलात्कार गर्दै साँझले विस्तारै आफ्नो अधिपत्य जमाउन लागिसकेको थियो । पत्रकार भने समाचारको खोजीमा गल्ली गल्ली डुलिरहेको थियो । उसको अनुहारको भाव हेर्दा यस्तो लाग्थ्यो, मानौं उसलाई आज बोसले थर्काएको छ र जसरी भए पनि एउटा गतिलो फोटो या समाचार ल्याउन भनेको छ उसको पत्रिकाको लागि । उसको चाला हेर्दा भोकाएको कुकुर पुच्छर तल फर्काएर अगाडि बढिरहेको अभिनय गरिरहेको छ कि जस्तो लाग्थ्यो । केही बेरको हिँडाइ पछि ऊ झन बेस्मारी थाक्यो । पत्रकारको जागीर खाएर एउटा मोटरसाइकल किन्न नसकेकोमा उसलाई टिन्न तात्यो । पत्रकारले क्यामरातिर हे¥यो । लेन्सको टुप्पोमा औंलाले टुक्क टुक्क हान्यो र उठेर गयो । केही पर पुगेपछि कोही चिच्याएको आवाजलाई हावाको वेगले उसको कानसम्म हुलिदियो । पत्रकारले कान ठाडा पा¥यो र टक्क उभियो । फेरि कोही कराएको आवाज उसको दिमागसम्म पुग्यो र जोडले मन्दिरको घण्टी बजे जस्तो बज्यो । पत्रकारले सुस्तरी पाइला चाल्दै त्यतैतिर देख्यो । साँझ छिप्पिसकेकाले मान्छेको अनुहार चिन्न गाह्रो पथ्र्यो । तर उसले फोहोर फाल्ने कन्टेनरले छेक्ने गरी लुकेर चिच्याएको तिर हे¥यो । उसले देख्यो – त्यहाँ एउटी केटीलाई दुई तीन जना केटाहरुले बलात्कार गरिरहेका छन् । उसले आफ्नो पाइन्टको दाहिने खल्तीबाट मोबाइल निकाल्यो र पुलिसलाई फोन गर्न खोज्यो । नम्बर डायल गर्न थाल्यो । केटी झन धेरै चिच्याई मुख छोपेर चिच्याएझैं । उसको आवाज एकदमै सानो सुनिएको थियो सायद बलात्कारीहरुले मुखमा पट्टी बाँधिदिएका थिए । पत्रकारले एक छिन बडो रुचिका साथ तिनीहरुको कृयाकलाप हे¥यो र मोबाइल खल्तीमा कोच्यो । अन्ततः घाँटीमा झुण्डिएको क्यामराको मुख त्यतैतिर फर्कायो र कोण कोणका फोटा क्यामरामा कैद ग¥यो । उसले फोटा खिच्ने बेलामा क्यामराको फोकसले एकछिन वातावरण दिउँसोमा परिणत ग¥यो । केही फोटाहरु क्यामरामा कोचेर पत्रकार बाटो लाग्यो । त्यो केटीका चित्कारहरु पत्रकारको बाटोतिर भागिरहेका थिए गुहार गुहार भन्दै ।

Wednesday, April 3, 2013

On 9:49 PM by Unknown in    No comments

धेरै दिन देखि भन्न मन लागेको कुरा आज निमेशले भन्ने निर्णय ग¥यो । आज ऊ केहि डर लागेको जस्तो अनि केहि भन्न खोजेको जस्तो देखिन्थ्यो । सन्जनालाई देख्ने बित्तिकै उसमा एक किसिमका मायाका फोकाहरु उठिसकेका हुन्थे । सन्जनालाई एक नजर हेर्नका लागी उसले घन्टौं देखि बाटो कुरेर बस्ने गथ्र्यो । उसलाई भन्न मन थियो, ‘सन्जना म तिमीलाई धेरै माया गर्छु । तिमीलाई आफ्नो बनाउन चाहन्छु ।’ अन्ततः निमेशको पर्खाइको घडि सकियो । फररर फुकेको कपाललाई हावामा फिजाउँदै सन्जना कक्षा भित्र छिरी । निमेशले धेरै दुःख गरेर सन्जनालाई साथी बनाएको थियो । सन्जनाको आगमनले निमेशको चेहराको रंग चेन्ज भयो । खुसीले स्पाइडरम्यान जस्तो आकाशमा उड्न खोजे जस्तो ग¥यो । निमेशले सन्जनालाई एक तरहले हेरिरह्यो । कक्षा सकिए पछि निमेशले सन्जनालाई एउटा कार्ड दिंदै भन्यो । ‘सन्जना बन्द खाम भित्र जे पनि हुन सक्छ । मिति भएको चिठी पनि हुन सक्छ अनि मिति नभएको चिठी पनि हुन सक्छ ।’ सन्जनाले निमेशको मुखमा हेर्दै चिठी खोली । निमेशले मनमा त्यतिबेला सम्म धेरै कुरा सोच्न भ्याइसकेको थियो । अब सन्जनाले के भन्ली ‘ओके’ भन्ली कि ‘आइ हेट यु’ भन्ली अथवा ‘मेरो बिहे भइसक्यो’ पो भन्ली कि । यस्तै सोच्दै गर्दा सन्जनाले निमेशको मुखमा नमिठो पाराले हेरि अनि देब्रे हातको औंठी देखाउँदै भनी । ‘तिमीसँग म एउटा साथी भएर पो बोलेको त यि औंठी हेर, मेरो इंगेजमेन्ट भइसक्यो । उँहा बिदेशमा हुनुहुन्छ । म उँहालाई नै कुर्दै छु । फेरि माया बारम्बार पनि त हुँदैन नि ।’ उसले अगाडी थपी । ‘मैले अरु कसैलाई माया गरिसकें । यदि माया भयो भने पनि पहिलाको जस्तो हुँदैन ।‘ निमेशले सबै निराशाका पोकाहरु लाई मन भित्र कोचर्दै नमिलेका दाँत देखाएर नक्कली हाँसो हाँस्दै भन्यो । ‘ओ सरी मैले गल्ती गरें । मैले अर्काको नासोलाई यसरी प्रेम प्रस्ताव राख्न नहुने थ्यो ।’ त्यसपछि निमेश कहिले क्याम्पस जाने मन गरेन ।

अर्घेलो थापा