लेख्दै । सिक्दै । शब्दहरू बुन्दै ।

Showing posts with label व्यङ्ग्य. Show all posts
Showing posts with label व्यङ्ग्य. Show all posts

Wednesday, December 7, 2016

On 9:15 PM by Arghelo Thapa in ,    No comments

समाज गतिशील छ । समाजका आयामहरू सयमचक्रसँगै बदलिँदै गएका छन् भन्ने कुरामा दुई मत छैन । विचारहरू व्यापक रुपमा छरितो रुपमा चारैतिर फैलिएका छन् । धेरै विचारहरू जन्मिएपछि केही विचारहरू प्रभावमा पर्नु र केही विचारहरू त्यसैको प्रभावले उत्तेजित हुनु कुनै नौलो कुरा होइन ।

नौलो कुरा नभएपनि मैले उनै पुराना कुरालाई आफ्नो धारणा बनाएर ब्लग लेख्ने प्रयत्न गरें । हुन त समाज, संस्कृति र जात अनुसार ठाउँपिच्छे फरक नियम होलान् ।


हो, नेपाल पुरुषप्रधान थियो/छ तर अहिले केही दर्जन सोकल्ड फेमिनिष्टहरूले गर्दा हामीले महिलामाथि गरेका सारा अपराधको अन्याय भएको छ । एक अविवाहित लेखिकाले आफूले सासूलाई ढोग्नुपर्ने हिन्दू धर्मको नियमलाई यसरी व्याख्या गर्नुभयो कि, मानौं धार्मिक संस्कार मानेर सासूहरूले बुहारीमाथि सानोतिनो अपराध नै गरिरहेका छन् ।

एउटा बालक जन्मन्छ । हुर्कन्छ । बा–आमाबाट हुर्काइन्छ । अलि ठुलो हुन्छ । बिहे गर्छ । बिहेपछि श्रीमतीको किचकिच सहन नसकेर आफ्नै बा–आमासँग छुट्टिनुपर्छ । यो पनि त एक प्रकारको हिंसा त हो नि ।

हाम्रो संस्कार पनि बडो गज्जबको छ । छोरीमान्छेलाई आफ्ना हजुरबा, हजुरआमा, बा–आमालाई नमस्ते गरेपनि हुने, तर हामीले भने हरेक दिन बिहान उठेर खुट्टामा ढोग्न पर्ने? यो पुरुषमाथिको अन्याय हो कि संस्कार? संस्कार हो भने त ठीक छ । तर अन्याय हो भने किन पुरुषलाई मात्र खुट्टामा ढोग्न लगाइयो ?

यो जस्तो हुतिहारा तर्क अरु हुनै सक्दैन । हामीलाई संस्कारले दमन गर्न होइन, परिधीमा बाँच्न सिकाएको हो भनेर पनि बुझ्न सकिन्छ । हामीलाई धर्मले नियम सिकाएको छ । ती नियमहरूले हामीलाई जीवन जिउने कला सिकाएका छन् । तर्क नै गर्ने हो भने त पुरुषका पनि कति छन् कति यस्ता दुखेसा ।

पुरुषलाई प्राथमिकता दिएर घरपरिवारले पनि हामीलाई नै विदेश पठाउँछन् । उता श्रीमतीहरू आरामले बसेका हुन्छन् । कतिपय त पधेंरामा जम्मा भएर कुरा पनि काट्छन् । पुरुष उता विदेशमा पसिनाले निथ्रुक्कै भिजेर काम गरेर स्वास्नीका लागि भनेर पैसा पठाउनु परेको छ । यदि श्रीमती आफै कमाउने छिन् भने आधा पैसा मेकअपमा सक्छिन् । बाँकी पैसा सपिङ गर्दैमा सकिन्छ ।

सासूलाई ढोग्न गाह्रो हुने वर्गमा यो समस्या अझ बढी देखिन्छ ।

हामीलाई सानैबाट हलो जोत्न सिकाइन्छ । कोदालो खन्न सिकाइन्छ । पहिरो लगाउन सिकाइन्छ । ठूल्ठूला रड बोक्न लगाइन्छ । त्यसैले त धेरैजसो केटा मान्छेलाई पायल्स हुन्छ ।
त्यतिमात्र होइन । हामीलाई बिहे गर्नुपर्छ भनेर कर गरिन्छ । श्रीमती पाल्न सक्नुपर्छ भनेर सिकाइन्छ । ल ठीक छ, यति त समाजले सिकायो । तर यदि तपाईको आफ्नो हैसियत (सरल भाषामा पैसा र आम्दानीको श्रोत) भएन भने केटी पाउन पनि गाह्रो हुन्छ ।

यति मात्र कहाँ हो र ? समाजमा लैंगिक विभेद पनि उस्तै छ । माइक्रोमा महिला सिट हुन्छ । पुरुष सिट हुँदैन । सरकारी जागिरमा महिला कोटा हुन्छ । पुरुषलाई हुँदैन । छोरीमान्छेलाई अर्काको घर गइदिए हुन्छ । हामीलाई घरमा एउटा कोठा थप्नुपर्छ । बिहेपछि पनि बुढी रिसाएर माइत गइदिन्छे कि भनेर खुब ख्याल गर्नुपर्छ । उसले पकाएको नमीठो भएपनि कति मीठो भनेर खाइदिनुपर्छ ।

सज्जनवृन्द, म तपाईलाई मेरो ब्लगको शीर्षकतर्फ ध्यान आकृष्ट गर्नुहुन हार्दिक अनुरोध गर्दछु । ‘आखिर मैले हजुरबाको खुट्टा किन ढोग्ने?’

हजुरबाको खुट्टा ढोग्नुका लागि पनि कारण चाहिन्छ र? हामीले बाँचेको संस्कारमा बनाइएका केही नियमहरू हामीलाई असहज लाग्लान् । तर नियम भनेको समाजलाई सही दिशातर्फ लैजानका लागि बनाइएको एउटा दायरा मात्र हो । यसले हामीलाई कमसेकम आफूभन्दा ठूलालाई देख्दा शीर निहुराएर सम्मान गर्न त सिकाउँछ । के हामी खुट्टा ढोग्दैमा अपहेलनामा परेका हौं त? कि हामीलाई हिन्दी सिरियलको प्रभाव प¥यो?

तपाई मोबाइल खस्दा पनि त झुकेर नै मोबाइल टिप्नुहुन्छ होला नि । सुन्नभएको होला – ‘फलेको वृक्षको हाँगो नझुकेको कहाँ छ र?’ कहिलेकाहीं गीत पनि हाम्रा विरुद्ध गाएझैं लाग्छ । ‘म झुक्दै नझुक्ने नेपालीको छोरो’ भनेर गीतमा भनिन्छ तर मैले नझुके त आफ्नै बा–आमालाई पनि ढोग्न सक्दिन । कि त यो गीतमा छोरोको सट्टा छोरी हुनुपथ्र्यो ।

एउटा उखान छ – ‘छोरा भए पाल्छन्, छोरी भए अर्काको घर टाल्छन् ।’ ए बाबा ! यो महंगी र बेरोजगारीको देशमा आफैलाई त पाल्न सकिएको छैन भने के गरेर पाल्ने हो अर्काकी छोरीलाई? यति ठूलो रिस्क लिन पनि कम जटिल काम हो?

कसरी पाल्नु भनेर प्रश्न खडा गर्ने हो भने हुतिहारा भन्ने पनि यही समाज हो । पुरुष हेपिएकै हुन् समाजबाट । हो, पुरुष हेपिएकै हुन् ।

हिन्दू धर्मले पनि नेपाली समाजलाई हेपेको नै हो । महिलाका लागि तीज र व्रत छुट्याइएका छन् । सरकारले पनि नारी दिवस भनेर नारीलाई सम्मान गरेको छ । पुरुषहरूलाई भने मजदुर दिवस नै आफ्नो प्यारो दिवस मानेर मनाउँछन् ।

घर परिवारले हामीलाई सानैदेखि उपदेश दिन्छ – ‘आफूभन्दा ठूलालाई सम्मान गर्नू । सानालाई माया गर्नू । परिवार सुखी राख्नू । घर बनाउनू । श्रीमतीलाई सुखसँग पाल्नू । पैसा कमाएर भाइबैनी पढाउनू ।’
यिनै कुराले गर्दा त हामी मान्छे भएका छौं । होइन भने हामी प्राणीभन्दा के कुरामा फरक हुन सक्थ्यौं र !

अन्त्यमा,
नारी र पुरुष बराबर छन् । सबैका बराबर सम्मान र सामाजिक मर्यादा छन् । हाम्रा पूर्वजहरूले निश्चित नियममा हुर्काएर हामीलाई मान्छे बन्न सिकाए । महिलालाई अझ बढी जिम्मेवार बनाउन खोज्नुको अर्थ के हुन सक्छ भने उनीहरूले पुरुषलाई बिग्रन नदिउन् ।

त्यसै भनिएको होइन नि, ‘केटाले चाहे वर्षदिन, केटीले चाहे एकैदिन ।’ समाजमा कतिपय नियम बनाइनुको कारण यो पनि हो । केटाको मन साह्रै नरम हुन्छ । एकैछिनमा पग्लिहाल्छ । समाज सुधारमा महिलाको अझ ठूलो भूमिका हुन्छ भन्ने कुरा बुढापाकाले राम्ररी बुझेका हुन् ।

कृपया उजुरी नगरिदिनुहोला ।

Monday, July 13, 2015

On 1:49 AM by Arghelo Thapa in ,    1 comment
प्रिय बलात्कारी
धेरै धेरै धन्यवाद छ
तिम्रा हजारौं योगदानका लागि
तिम्रो सह्रानीय कार्यले
युवतीहरु मान्छेसँग डराइरहेका छन्
विचलित भइरहेका छन्
फेरि पनि धन्यवाद छ
तिम्रो कुशल कार्य(?)का लागि

आशा गरौं,
तिम्रा आमा र बहिनी
तिमीसँग डराएका छैनन्

मलाई अड्कल छ
तिमीसँगको सम्बन्धले
कति धेरै छोरीले आत्महत्या गरे
कति धेरैलाई मानसिक असर पुग्यो
मेरो दया छ उनीहरुलाई
र तिमीलाई पनि

आफू हुनुमा गर्व गर्छौ तिमी?
गर्दैनौ भने गर्नैपर्छ
युवतीको जिन्दगी ध्वस्त पारेकोमा
गर्व गर्नैपर्छ तिमीले
तिम्रो कारणले गर्दा उनीहरु
समाजमा खुलेर बाँच्न सकेका छैनन्
कसैले उनीहरुसँग बिहे गर्ने छैनन्
माफी चाहन्छु, एउटा प्रश्न सोध्न चाहें
आखिर केका लागि तिमीले यो पेशा रोज्यौ?
कृपया, बरु हस्तमैथुन गर न
किन मान्छेहरुको जिन्दगी भत्काइदिन्छौ
मलाई गहिरो समवेदना छ तिमीसँग

के लाग्छ, तिम्लाई सजायले पछ्याउने छैन?
के तिमी छोरीको बा होइनौ?
के तिमी छोरीको बा हुने छैनौ?
यदि तिमी छोरीको बा हौ भने
किन भत्काउँछौ छोरीका जिन्दगीहरु?
किन निमोठ्छौ रहरका पालुवाहरु
प्रिय बलात्कारी,
तिम्रो सोंचले हरेक छोरीभित्र
किन डरको आगो पोतिएको छ?

(प्रतिज्ञा खड्काको कविता Dear Rapist बाट प्रभावित ।)

Monday, September 22, 2014

On 5:33 AM by Arghelo Thapa in ,    No comments
जंगलबाट गाउँ अनि
गाउँबाट शहर भगाइएका
नौ सय थरी फूलहरू
आफ्नो जन्मभूमि छाड्नुपर्दा
परिवारबाट बेपत्ता हुँदा
रिसाएका थिएनन् ।

आँगनको डिलभरी
भाइ टीकाको बिहान कुरेका मखमलीहरू
आफ्नो घाँटी काटेर
कसैको गलामा सजिएका थिए
परैबाट केही फूलहरू
परिवारको बलिदानमा मौन थिए
उता केही फूलहरू
कक्षा प्रथम भएको अवसरमा
गलामा माला बनेका थिए
केही दिन पहिले ।

मन्दिरको किनारमा अल्झिरहेका
एक हुल मान्छेहरुले
आफ्नै हतारको पहाड धकेलिरहँदा
च्याँपिएका कैयन फूलहरू
मन्दिरमा सजिएका मूर्तिको
दर्शन गर्न नपाउँदा
रिसाएका थिएनन् ।

भ्यालेनटाइन डे बनेका फूलहरू
उपहार बनेका फूलहरू
भमराले चुमेका फूलहरू
बगैंचामा रमाइरहेका फूलहरू
आज एक्कासी रिसाएका छन् ।

प्रेमिकाले च्यातेर फालेका फूलहरू
आमैले शिरमा सिउरेका फूलहरू
मन्दिरमा भक्तले चढाएका फूलहरू
सबै फूलहरूको बृहद भेला भइरहेको बखत
एक हुल कार्यकर्ता आए
र अलिक परको बगैंचाबाट
एक बोरा फूलहरू
टिपेर लगे ।
जब ती फूलहरु
एउटा उजाड अनि पतझड
झुट पचाउने पर्खाल भएको
बडेमानको घरभित्र छिरे
त्यसपछि फूलहरू रिसाए
भौतिक संरचनाले ढाकिएको
बृहद सभाहलमा
जब ती फूलहरू
नेताको गलामा उनिए
त्यसपछि फूलहरू रिसाए
हो, मैले देखेकै हो
कतै उस्तै फूलहरू
हाँसिरहेका थिए
तर यता
मलिन अनुहारमा रिसाएको थियो
करौडौं फूलहरूको समूह
अखबारमा छापिएको तस्वीर हेरेर
करोडौं जनताले अड्कल गरिरहेका थिए
देश र जनता लुटिरहेका नेताहरूले
निस्वार्थी फूलहरूलाई गलामा लगाए
त्यसपछि फूलहरू रिसाए ।।

Monday, February 24, 2014

On 5:45 PM by Arghelo Thapa in    No comments
दुई नम्बरी मालामाल
महगींको इन्द्रजाल
लोडसेडिङ छ ताल बेताल
चोर पुलिसको अंकमाल
बिरामी छ अस्पताल
सामन्ती छन् चण्डाल
राज्यलाई छैन बाल
अनिकालको भण्डारखाल
यस्तै भाछ देशको हाल
यही हो मेरो देश नेपाल
यही हो मेरो देश नेपाल

Tuesday, July 23, 2013

On 11:58 PM by Arghelo Thapa in ,    1 comment
रातभरी कनेँ ठसठसी
मरि गए दिमागमा केही आएन
भित्तामा हेरेँ - नाम लेखेको रहेछ
बाबुराम भट्टराई
को हो यो बाबुराम ?
चस्मा निकालेर आफैले आफैलाई सोधेँ
हिसिला आइन हातमा गड्यौला समाएर
दाँत देखाउँदै भनिन्
यु आर बाबुराम भट्टराई
हो त म बाबुराम पो है
थचक्क बसेँ
फेरि जुरुक्क उठेँ
जाँगे तानेँ
मेरो ढाका टोपी खै ?
पिल्चे आँखा तेर्साउँदै हिसिलालाई हेरेँ
हिसिलाले चस्मा कपालमाथि राख्दै भनिन्
आल्मारीमा छ ।
म त जनताको नेता
टोपी नभइ पनि म राष्ट्रभक्ति हुन्छु ?
म त्यो पूर्व राजा जस्तो हो र ?
सुदुर पश्चिमका जनतालाई राहत बाँड्ने ?
म त गरिबको नेता हो ।
एक्लै रन्थनिएँ ।
हिसिलाले मेरो टोपीमा
आइरन लगाएर ल्याइदिन्
नङ टोक्दै मैले टोपी लगाएँ
अब म राष्ट्रभक्ति भएँ
हो राष्ट्रभक्ति भएँ
माम्पाका म जस्तो नेता को छ ?
मलाई फेरि प्रधानमुन्त्री बनाओ
पूर्व राजालाई जेल हाल्नुपर्छ
जनतालाई राहत बाड्नेलाई
जेल हाल्नुपर्छ ।