लेख्दै । सिक्दै । शब्दहरू बुन्दै ।

Friday, August 30, 2013

On 5:09 AM by Arghelo Thapa in    No comments
खासै मन्दिर नजाने कृष्ण आज मन्दिर गयो । मन्दिर जानुको उद्धेश्य अरु केही नभएर आफूले भर्खरै किनेको क्यामरामा केही मन्दिरका आकृतिहरू जम्मा गर्नु थियो । सायद नयाँ क्यामेराको प्रतिविम्व होला । उसको अनुहार अलि बढी नै चम्किरहेको थियो । एक्लै मुस्कुरायो र मन्दिरलाई केन्द्र बनाएर तस्वीरहरू कैद गर्न थाल्यो । क्यामरालाई प्रकृतिको उज्यालोबाट जोगाउँदै आफूले खिचेका तस्वीरहरू हेर्न थाल्यो । तस्वीरहरूको हुलमा एउटा तस्वीर उसलाई अलि फरक लाग्यो किनकि त्यो तस्वीरमा मन्दिर एकदम सफा देखिएको थियो । मन्दिर भन्दा पनि सफा थियो हातमा थाली लिएकी युवतीको तस्वीर । तस्वीरलाई जुम गरेर अलि ठुलो बनायो । एकछिन हेरिरह्यो । खिस्स हाँस्यो र मन्दिरतिर पुलुक्क हेर्‍यो । युवतीलाई नदेखेपछि कृष्ण हतार हतार त्यतितिर लम्क्यो । मन्दिरको तस्वीर लिने वाहनामा युवतीले पूजा गर्न लागेको दृष्य आफ्नो क्यामरामा कैद गर्‍यो । यताउता गर्न थाल्यो । युवती पूजा गरेर बाहिर आई । कृष्णलाई मनभित्र के के भएको जस्तो लाग्यो । युवती भने सरासर हिंडी । कृष्ण ऊ गएको हेरिरह्यो । मन्दिर परिसरमै अलि पर पुगेर युवतीले यताउता हेरी र नजिकै भएको वरको रुखनिर बसी । कृष्णले उसलाई हेरिरहेको थियो । युवतीले पनि कृष्णलाई बेला बेलामा हेर्ने गर्थी तर युवतीले हेर्ने बेला कृष्णले तत्काल आँखा मोडेर अर्कैतिर हेर्थ्यो । धेरै बेरसम्म यो प्रक्रिया चलिरह्यो । मान्छेहरू पूजा गर्थे, आफ्ना मोवाइलमा मुस्कुराएका तस्वीरहरू कैद गर्थे र जान्थे । कृष्णलाई धेरैले उछिने अथवा भनौं ऊ भन्दा पछि आएका थुप्रै मान्छेहरू पूजा गरेर, तस्वीर खिचेर गए । कृष्णलाई भने त्यो पल एकदमै छोटो लागेको थियो । कृष्ण र युवतीको धेरै बेरसम्म आँखा जुधिरह्यो । युवतीले कृष्णलाई हेरेर खिस्स हाँस्थी । कृष्ण भने उसको हेराइले झन पानी पानी हुन्थ्यो । कृष्णले मनमनै सोँच्यो – ‘यसरी नै पहिले मन्दिर आएको भए त मेरो स्योर गर्लफ्रेन्ड हुने रैछ । यो केटी स्योर पट्टिन्छे ।’ युवतीले थाहा नपाउने गरी उसका केही तस्वीरहरू क्यामरामा कैद गर्‍यो । नजिक गएर बोलौं कि नबोलौं भनेर आफैले आफैलाई सोध्यो । उसको मनले अझै पनि उसलाई निर्णय दिन सकिरहेको थिएन । नजर एकआपसमा ठोक्किरहेका थिए । नजरको ठक्करले मुस्कानहरू जन्मिरहेका थिए । कृष्णले मनमनै बोल्यो  – ‘कसैसँग आँखा जुधाउनुको मज्जा कस्तो हुँदोरहेछ आज थाहा भो । यस्तो लागिरहेछ कि ऊ मेरै लागि मन्दिर आएकी हो ।’ युवतीको मुस्कानले उसलाई घायल बनाएको थियो । दुरीले केही टाढा भएपनि उनीहरू नजरको माध्यमबाट एकदमै नजिकिएका थिए । कृष्णले सोँच्यो – ‘ह्या कति नजरको तीर हान्नु ? बरु गएर सिधै हाइ भन्छु ।’ कृष्ण तस्वीर लिने निहुँमा युवती भएतिर आयो । युवती भने जुरुक्क उठी र परबाट आउँदै गरेको अर्को युवकलाई हाइ भनी । कृष्ण टक्क अडियो । युवतीले हतार हतार गर्दै कृष्णलाई हेरी तर यो पटक हाँसिने । परबाट आउँदै गरेको युवक नजिकै आएर युवतीसँग अंकमाल गर्‍यो । उसको हात समाएर गयो । कृष्णका सबै कल्पनाका घरहरू भत्के । युवती बसेको ठाउँमा बस्यो । सबैले बजाएर थाकेको मन्दिरको घण्टाजस्तै थकित बनेर क्यामरामा भएका तस्वीरहरू डिलिट गर्न थाल्यो । एउटा तस्वीर भने जति प्रयास गर्दा पनि हटाउन सकेन । त्यो थियो – ‘नजरले मनमा कैद गरेको त्यो युवतीको तस्वीर ।’

Saturday, August 24, 2013

On 4:45 AM by Arghelo Thapa in    1 comment
गरिबको पेटमा पनि काश गास हुन्थ्यो भने
टन्न खान पाएको कुनै पल खास हुन्थ्यो भने

किन पो बन्नुपर्थ्यो शाकाहारी मन हुनेलाई
बोका, खसीको बधेको लाश हुन्थ्यो भने

सिरेटोले जन्माएका काँडा हराउँथे शरीरका
न्यानो बास र एकसरो कपास हुन्थ्यो भने

हाड मात्रै देखिने ज्यान पक्कै लाग्थ्यो होला
भकारीमा अन्नै अन्नको रास हुन्थ्यो भने

झुठा सपनाको खेती किन गरिबकै बारीमा ?
शोषकले बुझ्थे नेता गरिबको दास हुन्थ्यो भने

Sunday, August 18, 2013

On 4:16 AM by Arghelo Thapa in    No comments
कथाकार गुरुप्रसाद मैनाली
 नेपाली साहित्यको फाँटमा आफ्नो अमिट छाप छोड्न सफल गुरुप्रसाद मैनालीको जन्म बि.सं. १९५७ साल भदौमा धनकुटामा भएको हो भने मृत्यु २०२८ सालमा काठमाडौंको आर्यघाटमा भएको हो । न्याय विभाग अन्तर्गत निजामती कर्मचारीको हैसियतले विभिन्न स्थानमा जाने अवसर पाएका मैनालीले १९८६ देखि नै कथा लेख्न थालेपनि बि.सं. १९९२ सालमा शारदा पत्रिकामा प्रकाशित ‘नासो’ कथा मार्फत नेपाली साहित्य जगतमा जन्म लिएको पाइन्छ । आफ्नो जीवनकालमा जम्मा ११ वटा कथा लेखेका मैनालीले थोरै कथा लेखेर पनि नेपाली साहित्यमा आफ्नो विशिष्ठ पहिचान बनाउनुका साथै प्रथम आधुनिक कथाकारका रुपमा पनि आफूलाई परिचित गराएका छन् । उनको वि.सं. २०२६ सालमा प्रकाशित ‘नासो’ कथासंङ्ग्रहमा नासो, छिमेकी, प्रायश्चित, पापको परिणाम, बिदा, परालको आगो, सहिद, अभागी, कर्तव्य, प्रत्यागमन र चिताको ज्वाला गरी ११ वटा कथाहरु संग्रहित छन् । यिनको औपचारिक शिक्षा निजामती मध्यमा (११ पास) सम्म भएपनि अनौपचारिक शिक्षा हिन्दी, संस्कृत आदिबाट प्रशस्तै आर्जन गरेको पाइन्छ । मैनालीले अन्य केही विधा (प्रहसन, निबन्ध, कविता) मा हात हाले पनि मूलतः कथा विधाबाट नै नेपाली साहित्यमा उल्लेखनीय योगदान पुर्‍याएको पाइन्छ । मैनालीका पुर्खा जोशी थिए । उनीहरु भारतको कुमारक्षेत्र नैनीताल स्थित मैनोरीबाट तेह्रौं शताब्दीतिर नेपाल आएका थिए । उनीहरूको विद्वताको कदरस्वरुप मल्ल राजाबाट उनीहरुले काभे्रको कानपुरमा विर्ता पाएका थिए । मेनोरीबाट आएका हुँदा सबैले उनलाई मैनाली भन्न थाले ।
कथाकार गुरुप्रसाद मैनाली आदर्शोन्मुख यथार्थवादी धारालाई भित्राउने पहिलो कथाकार हुन् । यिनलाई आधुनिक कथा क्षेत्रका अगुवा र लोकप्रिय कथाकार मानिन्छ । मैनालीले यर्थाथवादको पृष्ठभूमिमा रहेर नेपाली समाजका बिभिन्न पक्षहरुको चित्रण गरेका छन् । जागिरको सिलसिलामा देशका बिभिन्न स्थानको भ्रमण गर्ने अवसर पाएका मैनालीले आफ्ना कथाहरुमा समाजका निम्न मध्यम वर्गीय चरित्र र अवस्थालाई कलात्मक किसिमले प्रस्तुत गरेका छन् । शैलीमा नेपालीपन, गाउँले विषयवस्तुको गहन चित्रण, सजिलोपन, विचारमा सुधारको लक्ष्य र चित्रणमा रमाइलो कलात्मकता मैनालीका कथाका विशेषता हुन् । पूर्वीय आदर्शवादी विचारधाराबाट प्रभावित मैनालीले तत्कालीन अवस्थाका रुढीवादी परम्परा, अन्धविश्वास, अन्याय, अत्याचार, जातीय तथा लैङ्गिक भेदभाव तथा शोषणका बिरुद्घमा कलम चलाएको पाइन्छ । त्यसैले यिनलाई सामाजिक यथार्थवादी कथाकार पनि भनिन्छ । आदर्शोन्मुखी, सामाजिक विषयको केन्द्रीयता, यथार्थवादी प्रवृति समेत मैनालीका कथामा पाइने मुख्य प्रवृति हुन् ।

परालको आगो कथाको बिश्लेषण

कथावस्तु
परालको आगो कथा एक सामाजिक विषयवस्तु बोकेको कथा हो । नेपाली समाजका सोझा नागरिकका कथा व्यथालाई मैनालीले आफ्ना कथामा उन्ने क्रममा परालको आगो जन्मिएको पाइन्छ । ग्रामीण परिवेशको जीवनशैलीलाई जस्ताको तस्तै टिपेर आफ्ना कथामा राख्ने मैनालीले गाउँका नागरिकको सामाजिक पृष्ठभूमि के कस्तो हुन्छ भन्ने कुरा ‘परालको आगो’मा प्रस्तुत गरेका छन् । मैनाली सामाजिक यथार्थवादी कथाकार भएकाले पनि परालको आगो कथामा सामाजिक आदशोन्मुख यथार्थवादलाई बढी मात्रामा जोड दिएको पाइन्छ । दलित, पीडित तथा तल्लो जात भनिएकालाई कथामा पात्रका रुपमा उभ्याएर २००७ साल पूर्व नै जातीय सम्मान प्रकट गर्ने काम समेत मैनालीले गरेका छन् । मैनालीले कथानकमा प्रयोग गरेका घटनाहरु वास्तविक छन् । यस कथामा पाइने लोग्ने स्वास्नीको संवादबाट ग्रामीण परिवेशको चित्रण गर्दै कथालाई काल्पनिक रुपमा नभई यथार्थपरक तवरले प्रस्तुत गरिएको छ । भैंसीले लात्तीले हानेपछि गबुवासँगै गोबरमाथि लडेको चामेको स्थिति, पधेँराबाट सकी नसकी पानी ल्याउँदा जुठे दमाई र उसकी श्रीमतीले ख्याल ठट्टा गरेको घटना, ससुराली पुग्दा सासूले जुठै हातले चामेलाई गरेको नमस्कार जस्ता घटनाले कथालाई यथार्थबादी बनाएको छ । दिनभर काम गरेर पनि बिहान बेलुका हातमुख जोर्न समस्या पर्नु, माटोको गाग्रोमा पानी बोक्नु, महिला विवाह र रमाइलो भनेपछि हरक्क हुनु, नेपाली समाजमा महिलाहरुले लोग्नेको कुटाइ खानुपर्ने र सहन नसके माइतमा गएर बस्नु, लोग्ने स्वास्नीबीच झगडा हुनु र एकैछिनमा मिल्नु, तमाखु खानु र खुवाउनु, बाली नाश भएकामा पशुलाई र मान्छेलाई दुवैलाई कुट्नु, पहिले म मरे पनि लिन जान्न भन्ने चामेले पछि माइत गएकी श्रीमतीलाई लिन जानु जस्ता कुराहरुले ग्रामीण परिवेश, चालचलन, रीतिरिवाज, प्रवृति तथा मानसिकताको अवस्थाको चित्रण गरेको पाइन्छ । परालको आगोको प्रारम्भ चामेकी स्वास्नी गौंथली साह्रै मुखाले थिई भन्ने समस्याबाट प्रारम्भ हुन्छ । नेपाली समाजका महिलावर्गको मुखाले चरित्र, दिनभरी काम गरेर बेलुका फर्किने चामेको चरित्रलाई पनि कथाकारले कथामा मुख्य विषयवस्तु बनाएका छन् । त्यस्तै कथाको मध्यभाग चामेले गौंथलीलाई कुट्नु, गौंथली माइत जानुको वरिपरि घुमेको छ । चामे लिन गइसकेपछि गौंथली लुगा लगाएर घर फर्किन तयार हुनु, बाबुआमाले दहीको ठेकीसँग बिदा गर्नु कथाको अन्त्य भाग हो । यद्यपि लोग्ने स्वास्नीको झगडा परालको आगो हो भन्ने सन्देश यो कथाले दिन खोजेको छ ।

पात्र
यस कथामा चामे र गौंथली केन्द्रीय पात्र अथवा कथाका नायक नायिका हुन् भने जुठे दमाई र उसकी स्वास्नी, कोकले र धनबीरे परीधीय वा गौण पात्र हुन् । चामे र गौंथलीको चरित्रमा कथा आधारित भए पनि अन्य पात्रको उपस्थितिले कथालाई उत्कृष्ट बनाएको छ । कथाको परिवेश र बातावरणको चिन्तनले ग्रामीण जनजीवनमा बाँच्ने सामान्य किसान परिवार, निम्नवर्गीय गरीब तथा अशिक्षित परिवारको झल्को दिन्छ । कथाको नायक चामेले गरीब परिवारको छिट्टै रिसाउने र पछि पछुताउने स्वभाव भएको गाउँले किसानको प्रतिनिधित्व गर्छ । दिनभरी कामले थाकेको र घरमा आउँदा समेत आपूmले खान नपाउँदा रिसाउने चामे आफ्नो मुखाले श्रीमतीको बानीलाई खप्न नसक्ने पात्र हो । गतिशील स्वभावको चामे आवेगमा आएर स्वास्नीलाई यातना दिने तर छिट्टै आफ्नो गल्तीलाई महसुस गर्छ । पत्नीलाई पिटेपछि फेरि माइतीमा लिन जानुले, आफूले गरेका गल्तीहरूलाई आत्मालोचना गर्नुले पनि चामे बाहिरी रुपमा रिसाहा देखिए पनि भित्री मानसिकता अत्यन्त कोमल भएको पात्र हो भन्ने बुझिन्छ । त्यस्तै गौंथली कथाकी नायिका वा मुख्य नारी पात्र हो । उसको मुख्य कमजोरी आफ्नो मुखाले बानी रहेको छ । उसको मुखाले प्रवृतिले गर्दा घरमा सानो तिनो कुरामा झगडा भैरहन्छ । दिनभरी कामबाट थाकेर आउने श्रीमानको लागि खाना पकाउनुको साटो विवाह हेर्न जानुले पनि गौंथलीलाई स्वार्थी पात्रका रुपमा पाउन सकिन्छ । दिमागभन्दा मुख चलाएर जितिन्छ भन्ने धारणा भएकी पात्र गौंथली लोग्नेले दुव्र्यवहार गरे लामो समय माइतमै बस्ने तर आफ्नो घरको चिन्ता माइतमै हुँदा पनि गर्ने नेपाली ग्रामीण नारीको चरित्र गौंथलीमा पाइन्छ । गौंथलीलाई पनि यर्थाथवादी, बहिर्मुखी, गोला, आञ्चलिक, पारम्परिक, स्त्री प्रमुख, अनुकुल, गतिहीन, वर्गीय आदि जस्ता विशेषता भएकी पात्रका रुपमा लिन सकिन्छ ।

परिवेश
‘परालको आगो’ कथामा नेपाली समाजको ग्रामीण परिवेशको चित्रण पाइन्छ । यस कथाको लेखनकाल थाहा नभए पनि यसको प्रकाशन ‘कथाकुसुम’ कथासङ्ग्रहमा वि.सं. १९६५ सालमा प्रकाशित भएका आधारले बि.सं १९९४ तिरको समयलाई यिनले कथामा उनेको अनुमान गर्न सकिन्छ । कथामा आएका चामेको घर, कोकलेको बारी, गाउँको पँधेरो, बाटो, वन, जुठ्यान आदि जस्ता परिवेशले कथालाई अझ सार्थक बनाएको छ । कथाको आन्तरिक समय एक/डेढ हप्ता जतिको छ । त्यस्तै यस कथामा परिवेशका रुपमा आर्थिक, सामाजिक र सांस्कृतिक गतिविधि महत्वपूर्ण रुपमा प्रस्तुत भएका छन् । समाजमा नारीहरू हेपिएका, परम्परादेखि ज्वाइँलाई सम्मान गर्ने चलन, रीतिरिवाज, रीतितिथिको चित्रण आदिजस्ता परिवेशलाई सामाजिक परिवेशका रुपमा लिन सकिन्छ । त्यस्तै ग्रामीण समयमा मनोरञ्जनका लागि नाचिने मारुनी नाच, घाँस दाउरा गर्न जाँदा महिलाहरु वनपाखा जाँदा गीत गाउने चलन आदि जस्ता सांस्कृतिक परिवेश कथामा पाइन्छ । ‘परालको आगो’ कथामा आर्थिक पक्ष पनि महत्वपूर्ण परिवेशका रुपमा रहेको छ । गरीब वर्ग धनीहरुको दमनमा बाँच्न बाध्य भएको, साहूसँग ऋण गरेर घर व्यवहार गर्नु पर्ने कटु यथार्थ, पशुपालन तथा कृषि नै नेपाली ग्रामीण समाजको एउटा मात्र माध्यम भएको जस्ता समस्यालाई कथामा आर्थिक परिवेशका रुपमा प्रस्तुत गरिएको छ । ‘परालको आगो’ ले नेपालको ग्रामीण समाजमा निम्नवर्गीय नेपाली नागरिकको आर्थिक, सामाजिक र सांस्कृतिक परिवेशलाई चित्रण गरेको छ ।

दृष्टिविन्दु
    ‘परालको आगो’ कथामा बाह्य सीमित दृष्टिविन्दुको प्रयोग भएको छ । यस कथाको मुख्य पात्र चामे दृष्टिविन्दु पात्र हो । कथात्मक संरचनाको निर्माणमा कथाकार मैनालीले चामेको माध्यमबाट सम्पूर्ण कथालाई प्रस्तुत गरेका छन् । यो कथा तृत्तीय पुरुषीय ढङ्गमा प्रस्तुत गरे पनि यस भित्रको मुख्य पात्र चामेका माध्यमबाट कथाकारले कथाको प्रस्तुतीकरण गरेका छन् । नेपाली समाजको पुरुषप्रधान समाजले स्वास्नीमाथि गरेको दमन, घरायसी कामका लागि मात्र स्वास्नीको प्रयोग गर्ने नेपाली समाजको वास्तविक रुप, नेपाली पुरुषहरु आबेगमा आएर अविवेकी विचार देखाउनु जस्ता प्रवृतिलाई कथामा प्रस्तुत गरिएको छ । गौंथली चामेका लागि रिसको कारण हुने गरे पनि उसका असल प्रबृतिले चामेलाई आवेगको स्थितिबाट सामान्य मनस्थितिमा ल्याउनका लागि उसका थुप्रै कार्यले पृष्ठभूमि तयार गरेको छ । चामे ससुराली जाँदा जङ्गलमा गाएको गीतबाट निकै क्षुब्ध बन्नु, घाँस ल्याएर आएकी गौंथलीको फक्रिँदो यौवनलाई देखी भित्रभित्र तृप्त हुन खोज्नु, समातेर हजार चोटि चुम्वन गरौं भन्ने कल्पना गर्नु जस्ता कुराले समाजको आस्था विश्वास, सामाजिक मानसिकता र व्यक्तिभित्रका अन्तरयथार्थलाई देखाएको छ ।

भाषाशैली
परालको आगो कथामा भाषाशैली अत्यन्त सरल, ग्रामीण जनजीवनमा प्रचलित र औपचारिक छ । यो कथामा वर्णनात्मक विवरणात्मक भाषाको प्रयोग समेत गरिएको छ । नेपाली उखान र कथ्य भाषाको प्रयोग, रैखिक र बर्णनात्मक दुबै शैलीको प्रयोग, स्थानीय शब्दयुक्त ग्रामीण पहाडी क्षेत्रको झर्रा नेपाली शब्दको प्रयोगले गर्दा कथालाई अझ सार्थक बनाएको छ । वर्णनात्मक शैलीको प्रयोग बढी मात्रामा भए पनि दृश्यात्मक शैलीको प्रयोग पनि परालको आगोमा पाइन्छ । कथामा भाषाशैलीलाई अझ प्रभावकारी बनाउन कथाकारले अलङ्कारको पनि प्रयोग गरेका छन् । घटना प्रधान शैलीले अगाडि बढेको र उखान तथा गीतको प्रयोगले कथाको शैली अत्यन्त सरल र सहज बनेको छ । सुन्दर भाषाशैली र प्रत्येक नेपाली ग्रामीण भेगमा घटित हुने कथानक भएकाले अशिक्षितलाई अरुले पढेर सुनाउँदा समेत कथाको मर्म सजिलै बुझ्न सकिन्छ । आदि, मध्य र अन्त्यको क्रमिक संयोजन भएकाले पाठकलाई कथा पढ्दा अलमलमा पर्नुपर्ने अवस्था सृजना हुँदैन । समग्रमा भन्दा भाषाशैलीले कथा एकदमै राम्रो, आर्कषक, प्रवाहपूर्ण र स्तरीय बनाएको छ ।

उद्देश्य
जुनसुकै कृतिको पनि केही न केही उद्देश्य हुन्छ । अझ भन्ने नै हो भने त उद्देश्य बिनाका कुनै पनि कृति नै हुँदैनन् । परालको आगो कथाको अन्त्य तिरका केही पङ्तिहरुले नै कथाको मूल उद्देश्यलाई उठान गरेका छन् । लोग्ने स्वास्नीको झगडालाई परालको आगोका रुपमा हेरिएको छ । परालको आगो पनि एकछिन हुर्र बलेर निभे झैँ लोग्ने स्वास्नीको झगडा पनि दीर्घकालीन नहुने सार कथाकारले परालेको आगो मार्फत प्रस्तुत गरेका छन् । निश्चित पात्र, घटना र परिबेशका आधारमा कथाकारले आफ्नो मूल उद्देश्यलाई प्रस्तुत गरेका छन् । नेपाली समाजका प्रचलित उखानहरुलाई यथार्थपरक ढङ्गले चरित्रार्थ गर्नु पनि यसको उद्देश्य हो । निष्कर्षमा भन्दा लोग्ने स्वास्नीको झगडा परालको आगो सरह हो । सानातिना कुराहरुले गर्दा पनि हाम्रो जीवनमा ठुला समस्या ल्याउन सक्छन् र यदि घर मिलेन भने समाजलाई कुरा काट्ने आधार बन्छ । त्यसैले हरेक कुराहरुलाई समझदारीका साथ अगाडि बढाउँदै लैजानुपर्छ भन्ने नै कथाको मुख्य उद्देश्य रहेको छ ।

निष्कर्ष
    नेपाली कथा साहित्यको फाँटमा एउटा बेग्लै पहिचान बनाएका सामाजिक यर्थाथवादी कथाकार गुरुप्रसाद मैनालीको परालको आगो उनका एघार कथा मध्येको एक उत्कृष्ट कथा हो । सामाजिक यथार्थवादी विचार धारामा रहेर लेखिएको यो कथाले नेपालको ग्रामीण जीवनको चित्रणलाई कलात्मक रुपमा जस्ताको तस्तै प्रस्तुत गरेको छ । मैनालीले यो कथा मार्पmत लोग्ने र स्वास्नी बिच हुने झगडा, पुरुष प्रधान समाज, ग्रामीण समाजका महिलाहरुले शक्तिले भन्दा पनि मुखले बोलेर जित्न खोज्ने प्रवृति जस्ता कुरालाई देखाउन खोजेका छन् । गरीबीको रेखामुनि रहेका तथा आर्थिक रुपले सवल हुन नसकेका नागरिकको विचारलाई पात्र बनाएर उनीहरुको विचार कथाका माध्यमबाट प्रस्तुत गर्ने काम मैनालीले गरेका छन् । नेपाली समाजको वास्तविक चित्रणलाई सरल भाषामा प्रस्तुत गर्ने कथाकार मैनालीको परालको आगाले सिङ्गो ग्रामीण समाजको प्रतिनिधित्व गर्छ भने पात्र र विषयवस्तु समेत ग्रामीण समाजको वरिपरि रहेको छ । मैनालीले यस कथा मार्फत नेपाली समाजमा देखिने सामाजिक, आर्थिक तथा सांस्कृतिक परिवर्तनका साथै लोग्ने स्वास्नीबीचको झगडा परालको आगो जस्तै हो तर त्यही सानो झगडाले पनि मानसिक रुपमा धेरै चोट पुर्‍याउन सक्छ भन्ने कुरा देखाउन खोजेका छन् । समग्रमा भन्दा यो कथा अत्यन्त सार्थक, सामाजिक, उद्देश्यमूलक, सरल र सहज बनेको छ ।

यो लेख यात्रा वर्ष ४, अंक ४ मा प्रकाशित भैसकेको छ । स्नातकोत्तर तह नेपाली विभागका विद्यार्थीलाई फाइदा पुगोस् भन्ने हेतुले मात्र यहाँ राखिएको हो ।
On 1:02 AM by Arghelo Thapa in    No comments
तिमी र म सङ्गै भएको बेला
तिमी भन्ने गर्थ्यौ
"म तिमीलाई माया गर्छु ।"
अहिले म टाढा छु,
फेरि तिमी अर्कैलाई भन्छौ रे!
"म तिमीलाई माया गर्छु ।"
मैले तिमीलाई भेटें सपनीमा
सोधें - "माया मारेको हो ?"
"हैन कहाँ मार्नु म त माया गरिरहन्छु"
मैले सोधें - तिम्रो अर्को केटा छ रे!
"छैन!"
म व्युझें,
एक्कासी तिमीलाई झन गाढा सम्झें
के तिमी माया मारेकै हो त ?
भन्छन्, केटी मान्छे तरल हो
"जता पनि बग्न सक्छ"
केवल कुलो चाहिन्छ!
बिन्ती
नबग्नु कतै,
तिमीसँग म बग्नुपर्छ
यदि तिमी म सँग बगिनौ भने
म ठप्प हुन्छु
किनकि मेरो रगतमा तिमी छौ
र,
तिम्रो रगतमा म
त्यसैले प्रेम बचाई राख
सिङ्गो जीवन जिउनु छ ।
सारा इच्छा पिउनु छ ।