लेख्दै । सिक्दै । शब्दहरू बुन्दै ।

Thursday, April 30, 2015

On 7:37 PM by Arghelo Thapa in    No comments
केही यादहरू अझै ओभाएका छैनन्
सम्झनाका जोड घटाउमा
कोरिएका छन् केही अतीत
ढल्नै लागेको छ प्रेमको एउटा रुख
दाग बनेको छ शब्दको लहरो
ओइलाएका छन् सवेंगहरू
रोएका छन् पश्चातापहरू

छेउमा म बसिरहेछु मुढो बनेर

आँसुको कलमले बूढो रुखको पातमा
लेख्दैछु अन्तिम पत्र तिमीलाई
शब्दहरूमा उनेको छु हृदयभरिको माया
केलाउन खोज्दैछु पश्चातापका बियाँ
स्मृतिमा बनाइरहेछु एउटा स्केच तिम्रो
र स्केचमा तिमी हाँसिरहेकी छौ
हो, तिमी घरीघरी हाँसिरहेकी छौ

प्रिय तिमी,
मैले माफीका लागि पत्र कोर्दैछु
मेरो माफीले मित्रता खोज्दैन
मेरो माफीले सम्बन्ध खोज्दैन
मेरो माफीले सीमित राग पखाल्न चाहन्छ
जुन राग यतिबेला तिमीमा पोतिएको छ

सम्बन्धका बलिया इट्टाहरूमा
टाउको ठोक्किएर तिमी घायल भयौ
मैले हटाउन सकिन आफैले हानेको इट्टा
धोइदिन सकिन तिम्रा आँखाका आँसु
ओकल्न सकिन माफीका दुई शब्द
त्यसैले यो पत्र लेख्दैछु
यो कविता लेख्दैछु तिम्रा लागि

प्रिय तिमी,
संसार स्वार्थको आगोले जलेको छ
मान्छेहरू मुकुट ओढेर अस्तित्व बेचिरहेछन्
तिमी विश्वासको पछ्यौरीले मुख छोप्दैछौ
किनकि तिमीलाई झुठ समाधानको बाटो लाग्छ
हेक्का राख,
झुठका रुखहरू चिल्ला हुन्छन्
झुठका बेर्ना ओखरका बेर्नाजस्तै हुन्छन्
ठ्याकै ओखरका बेर्नाजस्तै
तसर्थ झुठ बेचेर धर्म कमाउन खोज्नु मूर्खता हुनसक्ला

प्रिय तिमी,
म तिमीसँग माफी माग्न चाहन्छु
मैले बगाएको आवेगको उदगारले
अब फेरि नपोलोस्, नजलाओस्
जानेर भएका भुलमा माफी चाहन्छु
भन्छन्, संसारको सर्वोत्तम सुख प्रेम हो
हाम्रो खुसी अन्तर्सम्बन्धित थियो
त्यसैले माफी चाहन्छु
भूतमा गुन लगाएको भए माफी दिनू
माफीको लायक नभए भुलिदिनू

तिमीले दिएका प्यारहरू जतनमा छन्
सम्बन्धका खुसीहरू सन्दुकमा छन्
बिछोडका आँसुहरू परेलीमा छन्
सहयोगका स्तम्भहरू कलेजीमा छन्
तर मनहरू बेचैन छन्
उडिरहेछन् बतास बनेर तिम्रो कल्पनामा
तर त्यो बतास अब फेरि आउने छैन
दुखाउने छैन तिमीलाई अर्कोपटक
किनकि त्यो बतासको
यो अन्तिम पत्रसँगै मृत्यु हुनेछ

अल बिदा प्यारे दोस्त
लभ यु !!!

Friday, April 24, 2015

On 7:39 PM by Arghelo Thapa in    No comments
लामो समयदेखि गीतका कारण सर्वाधिक चर्चामा रहेको चलचित्र रेशम फिलिली ‘अरे वाह’ भन्ने नमिल्ने तर राम्रो चलचित्र हो । पहिलो दिन चलचित्र हेर्न सिनेमा हल पुगेका दर्शक हाउसफुल भएर टिकट नपाएर फर्किनुपरेको देख्दा लाग्छ, नेपाली चलचित्र हेर्ने दर्शकको कमी छैन । बरु अभाव राम्रा चलचित्रको हो । अथवा दर्शकले चाहेजस्ता चलचित्र बन्न नसक्नु चलचित्र क्षेत्रको कमजोरी हो ।

एकैछिन चर्चा गरौं चलचित्रका बारेमा ।

गाउँबाट पैसा कमाएर आमा र बुहारीको सपना पूरा गर्न चाहने रेशम (विनय श्रेष्ठ) पात्रका वरिपरि कथा घुमेको छ । बहिनी सुन्तलीको बिहे र बाजस्तै ठुलो मान्छे बनोस् भन्ने आमाको सपना पूरा गर्न कतार हिँडेको रेशम दलालको फन्दामा फसेर काठ्माडौंमै रुमल्लिन पुग्छ । आफ्नी बहिनीको बिहे धुमधामसँग गरिदिनका लागि जस्तोसुकै जोखिम पनि मोल्न तयार रेशमलाई उसकै आफ्नै साथी हरियाले समेत यसरी फिलिली बनाइदिन्छ कि, हरेक काममा उनीहरु फेल हुन्छन् ।

चलचित्रका धेरै पक्ष राम्रा छन् । कलाकारको अभिनय पात्र सुहाउँदो छ । शीर्षककै आधारमा मुख्य पात्र हामीलाई रेशम लागेपनि कथा कामेश्वरको वरिपरि घुमेको आभास हुन्छ । चलचित्रका केही संवादहरु लोभलाग्दा छन् । हरियाको सुहाउँदो अभिनयमा ‘हेइ, डन्ट टच माइ मिल्क’ भन्ने संवादले दर्शकलाई हाँस्न बाध्य बनाउँछ । काठ्माडौमा आफू बाँच्नका लागि कति सङ्घर्ष गर्नुपर्छ भन्ने कथा दुई पात्र रेशम र हरियाको माध्यमबाट हास्यात्मक पारामा चलचित्रमा देखाइएको छ । कथाको प्रशंसा गर्न लायक पक्ष के छ भने पात्रहरुको अभिनय राम्रो छ । सबै कलाकार आफ्नो भूमिका अनुसार जमेका छन् । यस चलचित्रमा मुख्य पात्र लाग्ने हरिया (कामेश्वर चौरसिया) को अभिनय हलिउड, बलिउडका कलाकारको भन्दा कम छैन । त्यसो त यो चलचित्रका अर्का मुख्य पात्र रेशमको अभिनय पनि भूमिका सुहाउँदो छ तर उनको भूमिका नै दर्शकलाई मन नपर्ने खालको छ । दर्शकले नायकलाई यतिसम्मको सोझो देख्न चाहन्नन् । बरु कर्म र नायिका मेनुका प्रधानको अभिनय मध्यम लाग्छ । सानातिना कुरालाई महत्व नदिने हो भने केही लामा सट र केही कलात्मक सटले चलचित्रको छायांकन पक्षलाई बलियो बनाएको छ । यस अर्थमा यस चलचित्रमा निर्देशक प्रणव जोशीले सह्रानीय कार्य गरेका छन् । चलचित्र टिमले दुख गरेर दिमाग लगाएरै बनाएको चलचित्र हो रेशम फिलिली ।

तर यो चलचित्र सम्पादन गर्दा केही दृष्य हटाएको भए दर्शकलाई झुर लाग्ने थिएन । अहिलेका दर्शक लामा भन्दा पनि गतिशील कथा भएका चलचित्र हेर्न चाहन्छन् भन्ने कुरा निर्देशक प्रणव जोशीले बुझ्नुपर्थ्यो । यस चलचित्रको सबैभन्दा कमजोर पक्ष कथानक हो । लेखकले विषयवस्तु छनोट त राम्रै गरे तर उनले चलचित्रमा बढी हुन सक्ने कुरालाई कटौती गरेनन् । चलचित्रमा भएका केही संवाद बाहेक बगेको कथानक दर्शकलाई झुर लाग्छ । कथानक अनावश्यक लम्ब्याउँदा दर्शकलाई बेलाबेला हाइ आउँछ । दर्शकलाई हँसाउन मात्र खोज्दा चलचित्रको बिम्ब राम्रोसँग बग्न नसकेको लेखकले ख्याल गर्नुपर्ने थियो । जे होस्, कथा कमजोर छ । यस चलचित्रको अर्को कमजोर पक्ष सम्पादन हो । पारी त्यो डाँडामा गीत बज्दा गीत नै राम्रोसँग बुझिँदैन । गीतको मर्म अनुसारको दृष्य निर्देशकले उन्न सकेका छैनन् । धेरै संवाद अस्पष्ट छन् । रेशमले कथानक भन्दै गर्दा बोलेको संवाद एकदमै सानो सुनिन्छ । केही दृष्य दोहोर्‍याइका छन् । दिक्क लाग्छ कतिपय दृष्यमा । निर्देशकले यस्ता कुराको ख्याल गरेको भए चलचित्र उत्कृष्ट हुने थियो ।

निष्कर्षत चलचित्र राम्रो छ तर धेरै राम्रो भने होइन । धेरै कुराहरू रोमाञ्चक लाग्छन् । नेपाली चलचित्र मन पराउने दर्शकले चलचित्र हेर्नुभयो भने पछुतो मान्नु पर्दैन । केही करा पक्कै सिकिन्छ । कहीं कतै पक्कै हाँसिन्छ । बरु हल छिर्ने बेला के मानसिकता बनाउनुस् भने ‘यो चलचित्र पारी त्यो डाँडामा गीत जत्तिको सुपरहिट भने छैन ।’

Thursday, April 2, 2015

On 12:42 AM by Arghelo Thapa in    No comments
बस्थिन् एकादेशमा सुन्दरी कसैले सुनायो
ओइलेछ शीरको बाँबरी कसैले सुनायो

तन्नाहरुमा उनका छापहरु बस्थे रे !
जीवन चलाउँथ्नि यसरी कसैले सुनायो

जवानी बेचिछन् उनले बैंशहरुसँग
तर एक्लै भैछिन् बिचरी कसैले सुनायोे

भन्थिन् जुगौंजुग गर्छु प्यार हजुरलाई 
फेरिछन् प्यारको नोकरी कसैले सुनायो