लेख्दै । सिक्दै । शब्दहरू बुन्दै ।

Monday, April 17, 2017

On 3:23 AM by Arghelo Thapa in    No comments


गाउँघरको काम कहिल्यै नसकिने । न आफूले कहिल्यै काम गर्नुपर्ने । हाम्रा आफ्ना बाल्यकाल त्यसै धातुमा कुँदिएका नमेटिने अक्षरजस्ता भएका होइन रहेछन् । त्यो काल, त्यो बुझाइ, समय र परिवेशले हामीलाई पूरै जिन्दगी बाँच्न सिकाएको रहेछ ।

गाउँनजिकै विद्यालय थियो – श्री धाराचौर प्राथमिक विद्यालय । गाउँनजिकै बजारको बोर्डिङमा अक्षर चिन्न थालेपछि मलाई त्यही धाराचौरको स्कुलमा भर्ना गरिदिनुभएको थियो बुबाले । मलाई बुबाले काँधमा बोकेर स्कुल भर्ना गर्न जाँदा मैले के के कुरा सोधें होला बुबाको काँधमा 'हट् घोडा हट्' भन्दै भन्ने कुराको ख्याल छैन ।

त्यतिबेला हामी घरबाटै पिर्का र चकटी बोकेर स्कुल पढ्न जाने गर्थ्यौं ।

सम्झनाको क्यामेरामा त्यति धेरै दृष्य याद हुन नसकेपनि केही सम्झना भने मनको धातुमा कुँदाएर राखिएको रहेछ ।

हामी सबैले अक्षर चिन्न थाल्यौं ।

कथाः कण्डमको खोल 

सम्भवतः २०५० सालतिरको समय हुनुपर्छ । जस्तापाताले छाएको स्कुलमा ६ कोठा थियो । एउटा कोठामा कक्षा दुई थियो । त्यही कक्षाको कुनातिरको लाइनमा ढुंगा र माटो उठाएर बस्न मिल्ने पर्खाल बनाइएको थियो । त्यसैमा चकटी राखेर हामीले पढ्ने गर्थ्यौं ।

त्यतिबेला मैले कहिल्यै सयको नोट देखिन । हामीलाई स्कुल जाने बेलामा २५ पैसादेखि बढीमा ५ रुपैयाँसम्म खाजा खाने खर्च दिनुहुन्थ्यो । त्यो पनि कहिलेकाहीं मात्र पाइन्थ्यो । सधै होइन ।

सबै साथी एकनासका थिए । गाउँमा धनी र गरीबबीचको खाडल त्यति धेरै फराकिलो थिएन । त्यसैले पनि स्कुल आउने सबैजसो विद्यार्थीहरु एकनासका हुन्थे । आर्थिक र उमेरगत हिसाबले हामी सबै एउटै थियौं ।

हाम्रो बेलामा पैसाको घमण्ड गर्न सक्ने स्थिति कहिल्यै आएन ।

त्यो पालामा एक रुपैयाँमा चारवटा काला मिठाइ आउँथे । २५ पैसामा एउटा मिठाइ किन्न पाउँदा पनि म मख्ख पर्थें । कहिलेकाहीं त्यही मिठाइ पनि बाँडेर खानुपर्ने स्थिति आउँथ्यो ।

केही साथीहरु निकै बाठा ।

तिनै बाठा साथीहरु नजिकैको पसलबाट होलसेलमा मिठाइको पोका किनेर कक्षाकोठामा व्यापार गर्न ल्याउँथे । मानौं, पच्चीस रुपैयाँ पर्ने पोको थियो भने खुद्रामा मिठाइ बेच्दा तीस रुपैयाँ हात लाग्थ्यो होला । त्यो पाँच रुपैयाँ त्यतिबेला हाम्रा लागि निकै ठूलो रकम थियो ।

सबथोक थियो ।

पाँच रुपैयाँमा मीठो जेरी खान पाइन्थ्यो । बीस वटा ‘काला मिठाइ’ आउँथे । पिपलगेडी मिठाइ आउँथे । पाँच रुपैयाँमा त एउटा मोटो कापी नै आउँथ्यो नि ।

साथीहरुले कक्षामा मिठाइ बेचेको पैसाबाट कापी किन्थे । र, पढ्थे । हामीले भने घरबाट किन्दिएको कापीका पाना दिएर स्कुलमा बेच्न ल्याएका काफल खान्थ्यौं । पाना बेचेर मिठाइ खान्थ्यौं ।

मान्छे ठूलो हुँदै गएपछि उसले आफ्ना सपनालाई पनि स्थूल बनाउँदै जाने रहेछ । हिजो बाल्यकालमा हामीलाई पाँच रुपैयाँले कति धेरै खुसी दिन सक्थ्यो । अहिले हामीसँग पाँच रुपैयाँ कहिल्यै छुट्दैन । तर त्यति रकमले हाम्रा आधारभूत आवश्यकताले कहिल्यै साकार हुने मौका पाउँदैनन् ।

तर, त्यही पाँच रुपैयाँले गाउँतिरका बालबालिकालाई आजभोलि पनि एक बिहानी खुसी दिन्छ ।

हिजो हामी साना कुरामा खुसी हुन्थ्यौं । जसरी आज पनि गाउँतिरका केटाकेटी स–साना कुरामा खुसी हुन्छन् ।

स्कुलमुन्तिर एउटा होटल थियो । होटलको बाहिरपट्टि सबैले देख्ने गरी राता राता जेरी राखिएका हुन्थे । दिउँसोको बिदामा खेल्न आउँदा सधै तिनै जेरीमा आँखा घुम्थे । फूलमा भमराले आँखा डुलाएझैं । सधै जेरी बेचेर बस्ने बज्यैले हामीलाई उधारोमा जेरी पनि दिनुहुन्थ्यो ।

एक दिनको होइन, केही दिन मोहोर र रुपैयाँको दरमा जेरी चाख्दा त्यो पसलमा मैले पाँच रुपैयाँ तिर्नपर्ने थियो । घरमा के भनेर पैसा माग्नु, जेरी खाएको भनेर मागौं भने गाली खाइने डर । अरु कुनै कारण बाल दिमागले सोच्न सकेन ।

बज्यैले जेरीको पैसा नल्याए स्कुल नआएस् भनेर उर्दी जारी गरेकी थिइन् ।

म बिहानभरी रोएँ । सुरुमा पैसा मागिन ।

आमाले फकाउनुभयो । हजुरआमाले पनि फकाउनुभयो । फकाएर नमानेपछि आमाले बेस्मारी थर्काउनुभयो ।

झोला बोकेर स्कुल जान तयार भएको केटो जान नमानेपछि हजुरआमाले फकाएर सोध्नुभयो, ‘केन रोइराख्यौ भन त । पैसा चाइएको हो?’

म फेरि एकपटक जोडले रोएँ । त्यो रुनुको कारण शायद पिटाइ खान नपरोस् र फेरि रुन नपरोस् भनेर हुनुपर्छ ।

मैले हजुरआमासँग रुँदै भनें, ‘मुन्तिरको पसलमा जेरी खाएको पाँच रुप्पे तिर्न छ । आज नदिए बज्यैले सरलाई भन्दिन्चु भन्नुभओछ ।’

हजुरआमा हाँस्नुभयो । आफ्नो पुरानो भइसकेको पटुकीको फेरोमा बनाएको पोको खोल्नुभयो । एक दुईका नोटहरुको बीचबाट पाँच रुपैयाँ निकालेर दिनुभयो । म खुशी हुँदै स्कुल दौडिएँ ।

अहिले पनि हजुरआमाले भन्नुहुन्छ, ‘सबैभन्दा माया गरेर हुर्काएको नाति तैं होस् । तर तैंले आजसम्म कमाएर मेरा लागि केही ल्याइदेको छैनस् ।’

बेलाबेलामा उहाँले अरु नातिले कमाएर दिएको हिसाब पनि सुनाउनुहुन्छ ।

म सधै झुक्याउँछु, ‘हजुरआमालाई पनि यो नातिले कमाएर दिने बेला आउला ।’

नियतिले झुक्याएको हो कि मैले झुक्याइरहेको हुँ भन्ने चैं म कदापी बुझ्दिन ।

एकपटक स्कुलमा हंगामा मच्चियो । मैले कति कक्षा पढ्थे भन्ने हेक्का छैन । तर हामी कुन कक्षामा बस्ने गर्थ्यौं भन्ने याद छ ।

दिउँसोको टिफिन टाइममा कसैले कक्षामा कापीको पाना ल्याएर आयो । पानामा लेखिएको थियो रे !, ‘यो चिठी मनकामना माताबाट आएको हो, यो चिठीलाई चौबीस ठाउँमा सारेर अरुलाई दिनुभयो भने तपाईलाई राम्रो हुनेछ । यदि चिठी पाएर पनि मतलब गर्नुभएन भने तपाई घर जानासाथ मर्नुहुनेछ ।’

ठ्याक्कै यही व्यहोरा पत्रमा थिएन । र, त्यो पत्रमा मन्त्रसहित पूरै एक पेज लेखेको थियो । मर्ने भयले न त्यो चिठी छुँदा पनि छोइन । झ्याप्प देखेको हुँ । त्यतिबेलाको परिवेशलाई मध्यनजर गर्दै मैले सम्झेको कुरालाई सामान्यीकरण गरेर लेखेको मात्र हुँ ।

चिठीले स्कुलमा हंगामा मच्यायो । सरहरुले होइन भनेको पनि कसैले पत्याएनन् । दिउँसोको बिदाको समय भएकाले विद्यार्थीहरू चारैतिर फिँजारिएका थिए । चिठी पाएकाहरूले कक्षामा आएर झोलामा पत्र राखिदिन थाले ।

कक्षामा पूरै रुवावासी भयो । सरहरुले पनि विद्यार्थीलाई व्यवस्थित गर्न सक्ने स्थिति थिएन । किनकि हामी सबै केटाकेटीमा मर्ने भयले यतिसम्म त्रसित गरेको थियो कि, हामी कसैको कुरा सुन्ने पक्षमा नै थिएनौं । अर्को कुरा त हामीलाई भगवानप्रति पूरै विश्वास थियो । भगवान भनेका जादुगर हुन्, जे पनि गर्न सक्छन् भन्ने कुरा हामीलाई राम्रोसँग थाहा थियो ।

अन्ततः म र मेरो दाइ झ्यालबाट भागेर घर आयौं आफ्नो झोला ल्याएर ।

घर आएर आमालाई बेलिबिस्तार लगाउँदा आमाले उल्टो हप्काउनुभयो । मलाई भने ठूलो कालबाट बाँचेर आएको अनुभव भइरहेको थियो ।