लेख्दै । सिक्दै । शब्दहरू बुन्दै ।

Saturday, November 21, 2015

On 11:21 PM by Arghelo Thapa in    No comments
जून लखेटेर नौलाख ताराहरूको जमात दिएर
थोरै डर फैलाइदियौ तिमीले रात दिएर

ओँठको काम चुम्बन मात्र होला या नहोला
तिमीले संकेत त गरेकै थियौ हात दिएर

त्यो गर्मी, त्यो मौसम र त्यो मात्तिंदो बैंश
झन् के गर्न खोजेको प्रकृति वर्षात दिएर

लामो सास फेरेर नजिक हुनुको अर्थ खोज्दै
किन बालक झैं गर्दियौ नशाको मात दिएर
On 10:53 PM by Arghelo Thapa in    1 comment
प्रिय प्रेमका दार्शनिकहरू
मैले बरफमाथि कलेजी राखेर
छिया छिया बनाएको हुँ प्रेमको सियोले
आगोमाथि रगतको भुटुन हालेर
भकभकी पकाएको हुँ आलो मुटुलाई
भत्केका मनका पर्खाल टाल्न
केही सपना मुछेको हुँ आँसुमा
ठप्प भएको रगत प्रवाह गर्न
मैले मायाको विष पिएको हुँ जोशमा
शिथिल भएको भावना जगाउन
मैले मृत आत्मालाई आग्रह गरेको हुँ

केही नाटकीय कथन बोल्नु कहिल्यै
नछुट्ने कसमहरू खानु
सम्झौतालाई सम्झौता बनाउनु
यद्यपि प्रेमका तत्वहरू होइनन्
केही मिथकीय भ्रम र केही अमूर्त अर्थ
सायद प्रेमको परिभाषा हो
हुनसक्छ प्रेम एक अपरिभाषित शब्दकोष

त्यही अपरिभाषित शब्दकोषबाट झिकेर
दिलको धातुमा कुदेछु उसको नाम
कन्चटको मध्यभागमा सजाएछु उसको तस्वीर
अलौकिक मसीले लेखेछु गाढा अतीत
बिरानो बाटोमा गाएछु नमीठो गीत
कल्पनाको बालुवामा ठडाएछु एउटा महल
नुनचुकले धोएछु प्रेमको गहिरो घाउ

थाहा छ, ऊ प्रेत होइन
ऊ एक नामुद धोकेवाज हो

उसका कसमहरू सडिसकेका छन्
नमीठो गन्ध आउँछ यादहरूबाट
हत्या गर्न मन लाग्छ इतिहासलाई
साथहरू एकान्तमा चिच्याउँछन्
कल्पनाहरू कालसँग जिस्किन्छन्
यता म भर्खरै काटिएको कुखुरो भएको छु

सम्भावनाको तुइनले बगाएको मनलाई
उसको गतिशीलताले ढपक्कै छोपेको छ
अनैतिक मृगतृष्णाले भ्रमित बनाएको छ
हो, मैले एउटा फगत नि-यात्रा गरें
भ्रमलाई सत्य बनाउने जमर्को गरें
अहिले म सत्यलाई भ्रम बनाउन खोज्दैछु

थाहा छ, ऊ प्रेत होइन
ऊ एक नामुद आत्मा हो

उसमा बगेको छ सुन्दरताको आगो
उडेको छ कामुकताको फिलिङ्गो
र दौडेको छ मनको म्याराथन
उसको मनले केही उमेरहरू सयर गर्दा
सुन्दरता उडेर उजाड हुनेछ
र त्यसपछि ऊ शून्यप्राय हुनेछ
ठ्याक्कै भुइँमा झरेको फूलजस्तै

भुइँमा झरेको फूल, फूल नभएर
उसको उस्तै प्रतिबिम्ब हुनसक्छ
उसको स्पष्टीकरण हुनसक्छ
पूर्व आँकलनको अर्को सत्य हुनसक्छ
अर्थात अत्तर उडेको फूल हुनसक्छ

Thursday, September 10, 2015

On 11:36 PM by Arghelo Thapa in    No comments
मितिः २०७२ भदौ २४ 
समयः रातको १ बजे


रातको बाह्र बजिसकेको छ । जिन्दगीको एउटा किस्सामा पनि बाह्र बजिसकेको छ । सायद अझै कतै केही धुलोजस्ता सम्बन्धहरु बाँकी होलान् । अझै कतै गुनासोहरु बाँकी होलान् । यत्ति भन्न सक्छु ।

प्रिय तिमी,
मैले तिमीसँगको सम्बोधनको अर्थ गुमाइसकेको छु । सायद मैले कुनै शब्दले तिमीलाई सम्बोधन गरें भने त्यो शब्दको अर्थ बलात्कृत हुन्छ । त्यसैले म तिमीलाई बिना सम्बोधनको एउटा खुला पत्र लेख्दैछु । यो पत्र लेख्नुको कुनै खास कारण छैन । यसै मन लाग्यो । मैले नबोलेका केही भावहरुलाई खुला पत्र बनाएर पठाउन चाहें । अर्थहीन छन् भन्ने थाहा हुँदा हुँदै पनि ।

हाम्रो भेट ट्वीटरमार्फत भएको हो । जिन्दगीमा भेटिएका कैयन साथी आज हाम्रो हातमा छैनन् । सायद सधै साथमा हुँदैनन् पनि । एउटा नहुनु पर्ने भेट भैदियो भन्ने तिमीलाई पनि लाग्दो हो । मलाई पनि लाग्छ । तर हामी यसरी, यो धरातललाई स्वीकारेर छुट्नुपर्छ भन्ने थाहा भएको भए कस्सम म तिमीसँग भेट हुने नै थिइन । सायद जिन्दगीले यो भाग पहिले नै तय गरेर आइसकेको थियो । सायद मैले तिम्रो मन दुखाउनु थियो । सायद तिमीलाई रुवाउनु थियो । तर मलाई कसैको मन दुखाउनु थिएन । कसैलाई रुवाउनु थिएन ।

तिमीले मलाई कुरा बनाउन खप्पिस मान्छेका रुपमा हेर्छौ । तिमीलाई मप्रति घृणा छ । मेरो दुखमा तिमीलाई खुसी लाग्छ । म रुँदा तिमीलाई हाँसो लाग्छ । थाहा छ, म एउटा रिसको कारण बनेर बसेको छु । अतीत सबैको जिन्दगीमा घुम्दै फिर्दै आउँछन् । बन्छन् । जान्छन् । हो, त्यही एउटा अतीत तिमी र म मिलेर जन्माएका हौं ।

त्यो साँझ हाम्रो पहिलो भेट थियो । मलाई बोल्न डर लागिरहेको थियो । तिमी खुलेर कुरा गरिरहेको थियौ । मलाई तिम्रो व्यक्तित्वले खुब प्रभाव पार्‍यो । हामी चिया गफ गर्‍यौं । तिम्रो बोल्ने कलाले प्रभाव पार्‍यो । हामी केही दिन भेट्यौं । मिल्ने साथी बन्यौं । तिमीले भनेकी थियौ – ‘आमाले मेरा साथी भएनन् भनेर चिन्ता गरिरहनु हुन्थ्यो । फाइनल्ली मैले साथी बनाएँ । हजुरसँगको कम्पनी मलाई राम्रो लाग्छ ।’

जब हामी धेरै कुरा गर्न थाल्यौं । जब तिमीले मतलब गर्न थाल्यौ । जब मैले तिम्रो मतलब गर्न थालें । त्यतिखेरै बाट हो मैले तिमीलाई माया गर्न थालेको । तिम्रा बारेमा सोंच्न थालेको । तिम्रो मतलब लाग्न थालेको । तिम्रो आवश्यकता हुन थालेको । सबैभन्दा धेरै माया कतिखेर लागेको थियो थाहा छ ? जतिखेर तिमीले तामाङी गाउँबाट फोन गरेकी थियौ । अब यी कुराहरुको कुनै अर्थ छैन । मैले कहिल्यै आफूलाई एक कुशल प्रेमीका रुपमा स्थापित गर्न सकिन । यो मेरो समस्या हो ।

हामी बिस्तारै भेट हुँदै गयौं । कुराकानी गर्दै गयौं । त्यतिखेरै हो, मैले तिमीलाई प्रेम गर्न थालेको । म विश्वस्त छु, प्रेम तिमीले पनि गर्थ्यौ । मैले त्यसको उचित मूल्याङ्कन गर्न सकिन । किनकि म तिमीलाई पूरै जीवन दिन सक्दिनथें । म तिमीसँग उधारा सपना बाँड्न भन्दा बिल्कुल यथार्थमा रमाउनुपर्छ भन्ने सोंचमा गएँ । मैले तिमीसँग बनावटी कुरा गरेको हुँदै होइन । बरु मैले कुरालाई मनमा नराखी जस्ताको तस्तै तिमीसँग प्रस्तुत गरेको हुँ । सायद यो एक प्रकारको भुल हो । मैले मेरा कुरा मात्र ठुला भनेको होइन । त्यतिखेर तिमीलाई गुमाउँछु कि भन्ने चिन्ता थियो । सायद मैले तिमीलाई आफूलाई भन्दा पनि बढी प्रेम गर्थें ।

बिरामी हुँदा खाना बोकेर ल्याइदिनेलाई मैले कसरी नराम्रो सोंच्न सक्छु? समस्या परेको बेला उचित सल्लाह दिनेप्रति म कसरी कुभलो सोंच्न सक्छु? मेरा दुख सुनिदिएर हौसला दिन एक पात्रलाई म कसरी घात गर्न सक्छु? मैले तिमीलाई पहिले नै भनेको हुँ – ‘मसँग प्रेम गर्ने मुटु छैन ।’

मान्छेमा कमजोरी पक्कै हुन्छ । हो, ममा एउटा रोग छ । आवेगको नियन्त्रण गर्न नसक्नु । मैले यो रोगलाई नियन्त्रण गर्न हर प्रयास गरेको छु । मलाई पनि मेरो मतलब छ । समय नै त्यस्तै बनिदिन्छ त के गर्नु?

जब आफैले विश्वास गरेर कसैलाई मनका कुरा सुनाइन्छ । यो आशा गरिएको हुन्न कि, सम्बन्ध अगतिलो भएपछि उसले कुरा सुनाउँदै हिँडोस् । आफ्नो बेइजत गर्दै हिँडोस् । मरिसकेको सम्बन्धको अब हामीले पूजा गर्नु हुँदैन । विरोध गर्नु हुँदैन । उत्खनन् गर्नु हुँदैन भन्ने लाग्छ मलाई ।

तिमीले मेरी आफ्नै आमाले जत्तिकै माया गरेकी हौ । साथ दिएकी हौ । सायद तिमीजस्तो प्रेमिका अब मैले पाउँदिन पनि । यो मलाई थाहा भएर पनि मैले तिमीलाई जिन्दगी साथ दिन्छु भन्न सकिन । मैले म तिमीलाई एकदमै प्रेम गर्छु भनेर व्यक्त गर्न सकिन । यो मेरो समस्या हैन । इमान्दारिता हो । तिमीलाई मैले साँच्चिकै प्रेम गर्थें । मलाई तिमीसँग मात्र बोल्न मन लाग्थ्यो । हरेक समय म तिम्रो म्यासेजको प्रतीक्षामा हुन्थें । मोवाइलको रिङटोन बज्यो भने पनि तिमीले गरेकी हौ कि भन्ने लाग्थ्यो । तिमीसँग म चौबिसै घण्टा कुरा गर्न चाहन्थें । तिम्रा आँखा हेर्दा मलाई अत्यधिक खुसी मिल्थ्यो । तिम्रो बोली सुन्दा मन हौसिन्थ्यो । जिस्किन मन लाग्थ्यो तिमीसँग । तिमीसँगै हात समाएर यो पूरै संसार घुम्न मन लाग्थ्यो । तिम्रो बाहेक कसैको मतलब लाग्दैनथ्यो । तिम्रो नाम मन पर्थ्यो । तिमीले सपनामा देखें भनेर होस्टेलबाट फोन गरेको दिन म क्या खुसी भएको थिएँ । मलाई तिम्रा हरेक शब्द मन पर्थ्यो । हरेक कुरामा चासो लाग्थ्यो । मैले गरेको प्रेम पागलपनको थियो । यस्तो भाव त कथाहरुमा आउनुपर्ने हो । कथामा पनि त मनमा आएका कुरा लेखिने रैछ ।

म दुखी छु । किनकि यति धेरै माया गर्ने मान्छेलाई मैले खुसी राख्न सकिन । उसको नजरमा राम्रो बन्न सकिन । राम्रो बन्न राम्रो हुनुपर्ने रैछ । सायद म राम्रो बन्न नसक्ने एक भिलेन हो । स्वीकार्नुपर्छ । र मैले तिमीलाई आजैका मितिदेखि मेरो जिन्दगीबाट निकालिदिएँ । तिम्रो खुसीका लागि । तिमी रमाउनका लागि । तिम्रो सुन्दर भविष्यमा काँडा नबन्नका लागि ।

प्रिय तिमी,
हुन त म तिम्रो जिन्दगीबाट हटिसकेको छु । आखिर एकदिन त हट्नै थ्यो । मलाई यसमा कुनै दुखेसो छैन । दुखेसो एउटै कुरामा छ कि, मैले यति धेरै माया गर्ने मान्छेको किन मन दुखाएँ ? मन दुखाउन नहुने थ्यो । थाहा छैन, बेलाबेला मलाई के हुन्छ । किन पागल हुन्छु ।

तिमीलाई थाहा छ, म एक बिमार मान्छे हुँ । मसँग धेरै रोगहरुले जोरी खोजिरहेका छन् । त्यही भएर म धेरै ठुला सपना देख्दिन । किनकि मेरो आयु छोटो छ या कष्टकर छ । म धेरै साथी समूह बनाउन चाहन्न । म एक दुईजना साथीको संगतमा रमाउने मान्छे हुँ । उनीहरुले मेरो समस्या बुझ्दे हुन्थ्यो भन्ने लाग्छ । अरु केही आशा राख्दिन म ।

मलाई संसारकी सबैभन्दा महान मान्छे मेरी आमा लाग्छ । उहाँको माया मलाई सबैभन्दा महत्वको लाग्छ । तर तिनै आमासँग कहिलेकाहीं सानो कुरामा पनि झगडा हुन्छ । पछि पछुतो लाग्छ । के गर्ने, केही आदत त साला साह्रै निर्दयी छन् । दिमागबाट हट्नै नमान्ने । तर मैले तिमीमा तिनै आमाको छाँया देखेको हुँ । तिम्रो चोखो मायामा मैले कालीमाता देखेको हुँ । कस्सम मैले बहुत माया गर्थें तिमीलाई ।

म मौन रहनुको अर्थ यो होइन कि, मेरो तिमीप्रति प्रेम नै थिएन । मैले तिमीसँग भाव नदेखाउनुको अर्थ यो होइन कि, मैले तिमीलाई कति पनि प्रेम गरिन । कहिलेकाहीं एकै वाक्यले आफ्ना मनका सारा भनाइहरु तिमीसामु राख्ने गर्थें । तिमीले त्यसको अर्थ सायद बुझिनौ । तर मैले तिमीलाई एकदमै माया गर्थें । यति धेरै माया मैले जिन्दगीमा कसैलाई गरिन । मैले साइवर लभ गरेकै आधारमा माया भ्रम हो भन्ने बुझेको थिएँ । तर तिमीले मलाई मायाको अर्थ मात्र हैन । धेरै थोक सिकायौ । त्यसैले तिमीलाई एकोहोरो सम्झिरहेको छु अहिले पनि । मेरो दिमागमा तिमी मात्र घुमिरहेकी हुन्छौ । तिमीलाई मैले धेरै कसिलो गरेर मनमा सजाएर राखेको रहेछु ।  जतिबेला पनि तिम्रै याद आउँछ । बिहानदेखि साँझसम्म कतै न कतै कल्पनामा तिमी मेरो साथमा हुन्छौ । सपनामा पनि तिमीसँगै कुरा गरिरहेको देख्छु । अरुसँग कुरा गर्दा पनि तिमीसँग कुरा गरेको जस्तो लाग्छ । तिम्रै याद आउँछ । थाहा छैन, किन म अरुप्रति आकर्षित हुन सकिन । कस्सम मैले झुट बोलेको होइन । मलाई किन यस्तो भयो, मैले कहिल्यै हेक्का पाइन । सायद मेरो कमजोरी तिमीलाई धेरै भन्दा धेरै प्रेम गर्नु हो । प्रेम गरें । भुल गरें । दुख दिएँ । माफी चाहन्छु । म बरु आफू जल्न तयार छु तर तिम्रो खुसी देख्न चाहन्छु । यति धेरै माया गर्ने मान्छेलाई एकै झड्कामा भुल्न सक्ने खुबी ममा छैन । यार, माया प्राप्ति मात्र पनि त होइन नि ।

तिम्रो नजरबाट म गिरिसकेको छु । थाहा छैन, मैले किन यी यावत कुराहरु तिम्रा लागि लेख्छु । जब कुनै मान्छेसँग अब संगत नै गर्नु छैन भने नलेखे पनि त हुन्थ्यो नि । सिधै इग्नोर गरेपनि त हुने हो । तर म तिम्रो नजरमा त्यति विधि पनि गिर्न चाहन्न । मैले तिमीसँग जुनीजुनी मित्रता कायम रहोस् भन्ने चाहेको थिएँ । अब हाम्रो मित्रता बालुवाको घर भइसक्यो ।

जिन्दगीमा कमै मान्छेलाई मात्र माया गरिन्छ । विश्वास गरिन्छ । उसको भर परिन्छ । उसका लागि पागल भइन्छ । ज्यान दिइन्छ । झगडा गरिन्छ । त्यस्तै कम मान्छेमध्येकी एक तिमी हौ । तिमीलाई मैले जिन्दगीभरी साथ दिन सकिन तर रुवाउन चाहन्न । सायद यस्ता कुरा एक अर्थले त तिमीले पनि बोल्नुपर्ने हो । तर तिमी त ‘रुन बन्द गर’ भन्दिन्छौ । कहाँ सजिलो छ र रुन बन्द गर्न ! कसैलाई माया गरियो भने उसका लागि रुन त के ज्यान दिन पनि तयार हुन्छ प्रेमी । ठीक छ । म तिम्रो लागि रुन बन्द गर्न सक्छु । आलापका गीत गाउन बन्द गर्न सक्छु । तिमीबाट धेरै दूर आफ्नै दुनियाँमा जान सक्छु । तर तिमीले पनि एउटा सम्झौता गर्नैपर्छ । बिन्ती, मलाई कुराको विषयवस्तु बनाउन छोडिदेऊ । केही भन्न बाँकी छ भने मलाई नै भन्दा हुन्छ । म बाहेक अरुलाई दुखेसो सुनाएर तिमीले के प्रमाणित गर्न चाहेकी हौ भन्ने थाहा छैन । यत्ति बुझ कि, मैले तिम्रो कुभलो कहिल्यै चिताएको हुने छैन ।

आजको मितिदेखि नै मैले यही पत्रका साथ हाम्रा केही सम्झनालाई कतै टाढा बडेमानको महलमा थुनेर आएको छु । अबका दिनदेखि कुनै पनि तरिकाले तिम्रो जिन्दगीमा अर्घेलो बन्न आउने छैन । तिम्रो मात्र मन दुखेको हैन । मेरो पनि दुखेको हो । तिमी मात्र रोएकी हैनौ । म पनि रोएको हुँ । तिमीले मात्र माया गरेकी हैनौ । मैले पनि माया गरेको हुँ । तिम्रो मात्र गुनासो छैन । मेरो पनि छ । सायद केही न केही स्मरण जिन्दगीभर रहिरहन्छ हामीसँग । तर पनि मेरो तर्फबाट हाम्रो कहानीलाई पूर्णत अन्त्य गरिसकेको छु । मैले गरेका सबै भुललाई माफी गरिदेऊ । जिन्दगीलाई सुमधुर बनाऊ । प्रगति गर । खुसी होऊ । म अबका दिनमा तिमीलाई कहिल्यै पनि माया देखाउने छैन । तर माया गरिरहेको हुनेछु । मैले तिमीलाई नचाहेरै पनि माया गरेको हो । हो, म पागल भएको हो । तिमी नै सबैभन्दा प्रिय लागेको हो ।

अन्त्यमा, हाम्रो सम्बन्धको मृत्यु भइसकेको छ । तिम्रो नयाँ जिन्दगी सुखमय बनोस् । सधै रमाइला पलहरु आउन् । मलाई नराम्रो सोंच्न छोडिदेऊ । मान कि, यो समय जिन्दगीमा आउँदै आएन । मसँग भेट नै भएन । कुराकानी नै भएन । मैले तिम्रो मन नै दुखाइन । यति धैरै मान्यौ भने यो पनि मानिदेऊ – ‘तिमीलाई धेरै भन्दा धेरै माया गर्ने एक प्रेमी थियो । तर उसले तिम्रो मन दुखाएर धेरै टाढा गयो । अहिले मरिसक्यो ।’

अलविदा ।

तिमीलाई माया गर्ने
मधु

Saturday, September 5, 2015

On 8:36 PM by Arghelo Thapa in    No comments
जून लखेटेर ताराहरूको जमात दिएर
थोरै डर फैलाइदियौ तिमीले रात दिएर

यो गर्मी, यो मौसम र यो मात्तिंदो बैंश
अरे! के गर्न खोजेको प्रकृति वर्षात दिएर

टोलायौ, मुस्कुरायौ र फेरि इशारा गर्‍यौ
चिम्लियौ आँखा, पर्खियौ नशाको मात दिएर

ओंठको काम चुम्बन मात्र होला या नहोला
तर तिमीले संकेत गरेकै थियौ हात दिएर

Friday, August 21, 2015

On 7:13 AM by Arghelo Thapa in    No comments
परेली फरफराउँदै
तिमीले सकेंत गरेकी हौ
मैले मौनताको दियो
सल्काउनै लाग्दा
तिमीले भंग गरेकी थियौ
हाम्रो मित्रताको साइनो
हो, त्यही साइनो
सुगन्ध बनेर उडेपछि
हामी मौन बस्नै सकेनौं
के माया त्यतिखेरै भएको हो?


पहिलो भेटमा
हाम्रा नजर जुधेकै हुन्
मलाई तिमीले मुस्कान
सापटी दिएकी हौ
मैले मुस्कानलाई
मायामा बदलिदिएको
तिमीले पत्तै पाइनौ
मैले एउटा कठिन खेल खेलें
र तिमी कल्पनामा हरायौ

मैले हाँसिदिदा
तिमीलाइ प्रेम भएको हो
काउकुती लागेको हो एक थरिको
के प्रेम पनि अश्लील छ?
मैले देखेको हुँ,
तिम्रा आँखामा प्रेम बगेको थियो
आभामा भावना बगेको थियो
शरीरमा कामुकता बगेको थियो
अर्थात म बगेको थिएँ तिमीमा

हैन, म तिम्रो अगाडि थिएँ
तिमीलाई अनुभूति भएको हो
प्रेमको सिद्धान्त बगेको हो
यौन छचल्किन खोजेको हो
सायद ओँठ बोल्न खोजेका हुन्
हो, म तिम्रो अगाडि थिएँ

म सम्भावनामा डराएको थिएँ
चण्चल प्रेम डराएको थियो
मौसम डराएको थियो
तिमी निडर अर्थात मौन थियौ
केही बेरमै समय बदलिनेछ
भावनाहरू साटिनेछन्
जब जब तिमी डराउन थाल्नेछौ
त्यतिबेला म निडर बनेको हुनेछु

Sunday, August 2, 2015

On 10:23 PM by Arghelo Thapa   No comments
आजकाल झरीहरूले
रुझाउन छोडिसकेका छन्
छोडिसकेका छन्
मीठो धुन निकाल्न झरीहरूले
उता भ्यागुताहरूले
गीत गाउन छोडिसकेका छन्
माछाहरू पौडिन बिर्सिसकेका छन्

शहरदेखि कैयन माइल टाढा
केही गाउँहरूमा
झरी परिरहेको समयमा
किसानहरू स्याँखुमुनि
लुकामारी खेल्दै थिए
चराहरूले बचेरा छोप्दै थिए
मान्छेहरूले झरीहरूमा
पखाल्दै थिए आ–आफ्ना जिन्दगीलाई
उता फाँटमा एक जोडी प्रेमी
झरीमा रुझ्दै प्रेमको गीत गाउँदै थिए
नदीको किनारमा एक लेखक
झरीका थोपाहरूमा रमाउँदै थियो
मैले भत्केको चौतारीमा बसेर
झरी बारेको कविता लेख्दै थिएँ

तर हाम्रा जिन्दगीजस्ता देखिने
यी झरीहरूले
पखालेर लान सकेनन्
गरिब किसानका समस्याहरू
मान्छेका अशुद्ध सपनाहरू
बिरक्तिएका प्रकृतिका दुखहरू
बरु बगाइदिए झरीहरूले
सिङ्गो गाउँका नक्साहरू
बगाइदिए सुन्दर सपनाहरू
बगाइदिए जिउँदा मान्छेहरू
र मान्छेका आफन्तहरू

अहिले समयले झरीलाई
स्वार्थी बनाइदियो
या झरीले समयलाई
स्वार्थी बनाइदियो
तर आजकाल झरीहरूले
रुझाउन छोडिसकेका छन्
विरक्त लाग्छ यो झरीदेखि
निशब्द बनाइदिन्छ
मेरो कौतुहलिक मनलाई
किनकि,
धेरै वर्ष पहिले यस्तै झरीले
बगाएर लगेको थियो
मेरो नदीनेरको माटोको घरलाई
बगाएर लगेको थियो
मेरा प्रिय बा–आमालाई
पखालेर लगेको थियो झरीले
मेरा जिन्दगीका किस्साहरुलाई

त्यसैले,
सबैलाई प्यारो लाग्ने यो झरी
मलाई सधैजसो फिक्का लाग्छ
र झरीदेखि डर लाग्छ
रुझ्न मन लाग्छ झरीमा
पखाल्न मन लाग्छ अतीत
तर मलाई झरीदेखि डर लाग्छ

Monday, July 13, 2015

On 10:11 PM by Arghelo Thapa in    No comments
एउटा गहिरो इनारको पिँधमा
माछा छट्पटाइरहेको छ
सुक्नै थालेको छ इनारको पानी
पिँधमा कमिलाहरु पलाएका छन्
आकाश सुख्खा छ तिर्खाएको प्रेमीझैं
सायद वर्षौवर्षसम्म
आकाशले बर्षात दिनेवाला छैन
जूनको उज्यालोमा केही पुतलीहरु
आकाशमा उडेका छन्
इनारको पिँधमा माछा तड्पिएको छ
कारण इनार सुख्खा छ
जसरी हामीले सुक्खा जिन्दगी बाँचेका छौं
जसरी हामीले सुख्खा हाँसो हाँसेका छौं
त्यसरी नै इतिहासले पनि
बारम्बार सुख्खा लँडाइ लडेको छ

इनारको पिँधमा थोरै पानी थियो
माछाहरु बाँचेकै थिए
वर्तमानमा बाँचिरहेका केही माछा
भूतमा पनि बाँचिरहेका थिए
भविष्यको कल्पना त स्वयम्
भविष्य आफैले गर्न सकेको छैन
छट्पटीमा माछा बाँचेका हुनेछन्
यो केवल सम्भावनार्थ हो

वरपर मान्छेहरु झुम्मिरहेछन्
हेरिरहेछन् दृष्य माछा र कमिलाको
इनारको किनार सीमा बनेको छ
सबैले एकै स्वरमा भन्दै छन्
माछा आफै मर्नेवाला छ
कुनै हतियारको जरुरी छैन
माछा आफै मर्नेवाला छ
यतिखेर माछाहरुले भनिरहेका  छन्
यो देश र इनारमा के फरक छ?
हामी र जनतामा के फरक छ?
यो देश ठ्याक्कै यही इनारजस्तो छ
हो, यो देश यही इनारजस्तो छ
On 1:49 AM by Arghelo Thapa in ,    1 comment
प्रिय बलात्कारी
धेरै धेरै धन्यवाद छ
तिम्रा हजारौं योगदानका लागि
तिम्रो सह्रानीय कार्यले
युवतीहरु मान्छेसँग डराइरहेका छन्
विचलित भइरहेका छन्
फेरि पनि धन्यवाद छ
तिम्रो कुशल कार्य(?)का लागि

आशा गरौं,
तिम्रा आमा र बहिनी
तिमीसँग डराएका छैनन्

मलाई अड्कल छ
तिमीसँगको सम्बन्धले
कति धेरै छोरीले आत्महत्या गरे
कति धेरैलाई मानसिक असर पुग्यो
मेरो दया छ उनीहरुलाई
र तिमीलाई पनि

आफू हुनुमा गर्व गर्छौ तिमी?
गर्दैनौ भने गर्नैपर्छ
युवतीको जिन्दगी ध्वस्त पारेकोमा
गर्व गर्नैपर्छ तिमीले
तिम्रो कारणले गर्दा उनीहरु
समाजमा खुलेर बाँच्न सकेका छैनन्
कसैले उनीहरुसँग बिहे गर्ने छैनन्
माफी चाहन्छु, एउटा प्रश्न सोध्न चाहें
आखिर केका लागि तिमीले यो पेशा रोज्यौ?
कृपया, बरु हस्तमैथुन गर न
किन मान्छेहरुको जिन्दगी भत्काइदिन्छौ
मलाई गहिरो समवेदना छ तिमीसँग

के लाग्छ, तिम्लाई सजायले पछ्याउने छैन?
के तिमी छोरीको बा होइनौ?
के तिमी छोरीको बा हुने छैनौ?
यदि तिमी छोरीको बा हौ भने
किन भत्काउँछौ छोरीका जिन्दगीहरु?
किन निमोठ्छौ रहरका पालुवाहरु
प्रिय बलात्कारी,
तिम्रो सोंचले हरेक छोरीभित्र
किन डरको आगो पोतिएको छ?

(प्रतिज्ञा खड्काको कविता Dear Rapist बाट प्रभावित ।)

Sunday, June 28, 2015

On 7:17 PM by Arghelo Thapa in    No comments
गाला सुन्दर लागेर
स्याउलाई टोलाएर हेरिरहें
स्याउ झन राती हुँदै गई
पाक्दै गई
म लालायित हुँदै गएँ


तर अहिले कसैले
त्यही स्याउ टिपेर
अल्कोहल बनायो
मलाई नशा लागेको छ

Sunday, May 31, 2015

On 6:53 PM by Arghelo Thapa in    No comments
कहिलेकाहीं घामको आगोले
चिन्ताको आगोले भन्दा बढी पोल्छ
कहिलेकाहीं चिन्ताको आगोले
मायाको आगोले भन्दा बढी पोल्छ
घण्टौं घाममा पसिना बगाउने मेरा बा
चिन्ताले दुब्ली बनेकी मेरी आमा
र जवानी आकर्षणमा
कसैसँग अल्झिएको मेरो मन
सायद जिन्दगीका फरक रापहरू यिनै हुन्

त्यसैले होला, म प्राय निदाउने बेला
यिनै बातहरूमा डुबेको हुन्छु
अर्थात,
मन किन बेचैन हुन्छ चिन्ताले?
शरीर किन कालो हुन्छ दिनले?
दुख किन निम्त्याउँछौ आफैले?
 
दिमागमा युद्धरत यी दुर्घटनाले
मलाई एउटै कुराको आभास दिलाउँछ
कि, मान्छे त्यसै कालो भएको होइन
कालोपना यी सबै रापहरूको सुनौलो संयोजन हो

(अक्षर यात्राको ११८ औं शृङ्खलामा स्याङ्जाको पकवादीमा वाचन गरेको कविता ।)

Thursday, April 30, 2015

On 7:37 PM by Arghelo Thapa in    No comments
केही यादहरू अझै ओभाएका छैनन्
सम्झनाका जोड घटाउमा
कोरिएका छन् केही अतीत
ढल्नै लागेको छ प्रेमको एउटा रुख
दाग बनेको छ शब्दको लहरो
ओइलाएका छन् सवेंगहरू
रोएका छन् पश्चातापहरू

छेउमा म बसिरहेछु मुढो बनेर

आँसुको कलमले बूढो रुखको पातमा
लेख्दैछु अन्तिम पत्र तिमीलाई
शब्दहरूमा उनेको छु हृदयभरिको माया
केलाउन खोज्दैछु पश्चातापका बियाँ
स्मृतिमा बनाइरहेछु एउटा स्केच तिम्रो
र स्केचमा तिमी हाँसिरहेकी छौ
हो, तिमी घरीघरी हाँसिरहेकी छौ

प्रिय तिमी,
मैले माफीका लागि पत्र कोर्दैछु
मेरो माफीले मित्रता खोज्दैन
मेरो माफीले सम्बन्ध खोज्दैन
मेरो माफीले सीमित राग पखाल्न चाहन्छ
जुन राग यतिबेला तिमीमा पोतिएको छ

सम्बन्धका बलिया इट्टाहरूमा
टाउको ठोक्किएर तिमी घायल भयौ
मैले हटाउन सकिन आफैले हानेको इट्टा
धोइदिन सकिन तिम्रा आँखाका आँसु
ओकल्न सकिन माफीका दुई शब्द
त्यसैले यो पत्र लेख्दैछु
यो कविता लेख्दैछु तिम्रा लागि

प्रिय तिमी,
संसार स्वार्थको आगोले जलेको छ
मान्छेहरू मुकुट ओढेर अस्तित्व बेचिरहेछन्
तिमी विश्वासको पछ्यौरीले मुख छोप्दैछौ
किनकि तिमीलाई झुठ समाधानको बाटो लाग्छ
हेक्का राख,
झुठका रुखहरू चिल्ला हुन्छन्
झुठका बेर्ना ओखरका बेर्नाजस्तै हुन्छन्
ठ्याकै ओखरका बेर्नाजस्तै
तसर्थ झुठ बेचेर धर्म कमाउन खोज्नु मूर्खता हुनसक्ला

प्रिय तिमी,
म तिमीसँग माफी माग्न चाहन्छु
मैले बगाएको आवेगको उदगारले
अब फेरि नपोलोस्, नजलाओस्
जानेर भएका भुलमा माफी चाहन्छु
भन्छन्, संसारको सर्वोत्तम सुख प्रेम हो
हाम्रो खुसी अन्तर्सम्बन्धित थियो
त्यसैले माफी चाहन्छु
भूतमा गुन लगाएको भए माफी दिनू
माफीको लायक नभए भुलिदिनू

तिमीले दिएका प्यारहरू जतनमा छन्
सम्बन्धका खुसीहरू सन्दुकमा छन्
बिछोडका आँसुहरू परेलीमा छन्
सहयोगका स्तम्भहरू कलेजीमा छन्
तर मनहरू बेचैन छन्
उडिरहेछन् बतास बनेर तिम्रो कल्पनामा
तर त्यो बतास अब फेरि आउने छैन
दुखाउने छैन तिमीलाई अर्कोपटक
किनकि त्यो बतासको
यो अन्तिम पत्रसँगै मृत्यु हुनेछ

अल बिदा प्यारे दोस्त
लभ यु !!!

Friday, April 24, 2015

On 7:39 PM by Arghelo Thapa in    No comments
लामो समयदेखि गीतका कारण सर्वाधिक चर्चामा रहेको चलचित्र रेशम फिलिली ‘अरे वाह’ भन्ने नमिल्ने तर राम्रो चलचित्र हो । पहिलो दिन चलचित्र हेर्न सिनेमा हल पुगेका दर्शक हाउसफुल भएर टिकट नपाएर फर्किनुपरेको देख्दा लाग्छ, नेपाली चलचित्र हेर्ने दर्शकको कमी छैन । बरु अभाव राम्रा चलचित्रको हो । अथवा दर्शकले चाहेजस्ता चलचित्र बन्न नसक्नु चलचित्र क्षेत्रको कमजोरी हो ।

एकैछिन चर्चा गरौं चलचित्रका बारेमा ।

गाउँबाट पैसा कमाएर आमा र बुहारीको सपना पूरा गर्न चाहने रेशम (विनय श्रेष्ठ) पात्रका वरिपरि कथा घुमेको छ । बहिनी सुन्तलीको बिहे र बाजस्तै ठुलो मान्छे बनोस् भन्ने आमाको सपना पूरा गर्न कतार हिँडेको रेशम दलालको फन्दामा फसेर काठ्माडौंमै रुमल्लिन पुग्छ । आफ्नी बहिनीको बिहे धुमधामसँग गरिदिनका लागि जस्तोसुकै जोखिम पनि मोल्न तयार रेशमलाई उसकै आफ्नै साथी हरियाले समेत यसरी फिलिली बनाइदिन्छ कि, हरेक काममा उनीहरु फेल हुन्छन् ।

चलचित्रका धेरै पक्ष राम्रा छन् । कलाकारको अभिनय पात्र सुहाउँदो छ । शीर्षककै आधारमा मुख्य पात्र हामीलाई रेशम लागेपनि कथा कामेश्वरको वरिपरि घुमेको आभास हुन्छ । चलचित्रका केही संवादहरु लोभलाग्दा छन् । हरियाको सुहाउँदो अभिनयमा ‘हेइ, डन्ट टच माइ मिल्क’ भन्ने संवादले दर्शकलाई हाँस्न बाध्य बनाउँछ । काठ्माडौमा आफू बाँच्नका लागि कति सङ्घर्ष गर्नुपर्छ भन्ने कथा दुई पात्र रेशम र हरियाको माध्यमबाट हास्यात्मक पारामा चलचित्रमा देखाइएको छ । कथाको प्रशंसा गर्न लायक पक्ष के छ भने पात्रहरुको अभिनय राम्रो छ । सबै कलाकार आफ्नो भूमिका अनुसार जमेका छन् । यस चलचित्रमा मुख्य पात्र लाग्ने हरिया (कामेश्वर चौरसिया) को अभिनय हलिउड, बलिउडका कलाकारको भन्दा कम छैन । त्यसो त यो चलचित्रका अर्का मुख्य पात्र रेशमको अभिनय पनि भूमिका सुहाउँदो छ तर उनको भूमिका नै दर्शकलाई मन नपर्ने खालको छ । दर्शकले नायकलाई यतिसम्मको सोझो देख्न चाहन्नन् । बरु कर्म र नायिका मेनुका प्रधानको अभिनय मध्यम लाग्छ । सानातिना कुरालाई महत्व नदिने हो भने केही लामा सट र केही कलात्मक सटले चलचित्रको छायांकन पक्षलाई बलियो बनाएको छ । यस अर्थमा यस चलचित्रमा निर्देशक प्रणव जोशीले सह्रानीय कार्य गरेका छन् । चलचित्र टिमले दुख गरेर दिमाग लगाएरै बनाएको चलचित्र हो रेशम फिलिली ।

तर यो चलचित्र सम्पादन गर्दा केही दृष्य हटाएको भए दर्शकलाई झुर लाग्ने थिएन । अहिलेका दर्शक लामा भन्दा पनि गतिशील कथा भएका चलचित्र हेर्न चाहन्छन् भन्ने कुरा निर्देशक प्रणव जोशीले बुझ्नुपर्थ्यो । यस चलचित्रको सबैभन्दा कमजोर पक्ष कथानक हो । लेखकले विषयवस्तु छनोट त राम्रै गरे तर उनले चलचित्रमा बढी हुन सक्ने कुरालाई कटौती गरेनन् । चलचित्रमा भएका केही संवाद बाहेक बगेको कथानक दर्शकलाई झुर लाग्छ । कथानक अनावश्यक लम्ब्याउँदा दर्शकलाई बेलाबेला हाइ आउँछ । दर्शकलाई हँसाउन मात्र खोज्दा चलचित्रको बिम्ब राम्रोसँग बग्न नसकेको लेखकले ख्याल गर्नुपर्ने थियो । जे होस्, कथा कमजोर छ । यस चलचित्रको अर्को कमजोर पक्ष सम्पादन हो । पारी त्यो डाँडामा गीत बज्दा गीत नै राम्रोसँग बुझिँदैन । गीतको मर्म अनुसारको दृष्य निर्देशकले उन्न सकेका छैनन् । धेरै संवाद अस्पष्ट छन् । रेशमले कथानक भन्दै गर्दा बोलेको संवाद एकदमै सानो सुनिन्छ । केही दृष्य दोहोर्‍याइका छन् । दिक्क लाग्छ कतिपय दृष्यमा । निर्देशकले यस्ता कुराको ख्याल गरेको भए चलचित्र उत्कृष्ट हुने थियो ।

निष्कर्षत चलचित्र राम्रो छ तर धेरै राम्रो भने होइन । धेरै कुराहरू रोमाञ्चक लाग्छन् । नेपाली चलचित्र मन पराउने दर्शकले चलचित्र हेर्नुभयो भने पछुतो मान्नु पर्दैन । केही करा पक्कै सिकिन्छ । कहीं कतै पक्कै हाँसिन्छ । बरु हल छिर्ने बेला के मानसिकता बनाउनुस् भने ‘यो चलचित्र पारी त्यो डाँडामा गीत जत्तिको सुपरहिट भने छैन ।’

Thursday, April 2, 2015

On 12:42 AM by Arghelo Thapa in    No comments
बस्थिन् एकादेशमा सुन्दरी कसैले सुनायो
ओइलेछ शीरको बाँबरी कसैले सुनायो

तन्नाहरुमा उनका छापहरु बस्थे रे !
जीवन चलाउँथ्नि यसरी कसैले सुनायो

जवानी बेचिछन् उनले बैंशहरुसँग
तर एक्लै भैछिन् बिचरी कसैले सुनायोे

भन्थिन् जुगौंजुग गर्छु प्यार हजुरलाई 
फेरिछन् प्यारको नोकरी कसैले सुनायो

Saturday, March 7, 2015

On 11:41 PM by Arghelo Thapa in    2 comments
जवानीको एक साँझ
म मेरो क्याफेको कुनामा
चुरोट तानिरहेको घडी
एउटा आगोको झिल्काले
मसँग उधारो चुरोट माग्यो

बदलामा मैले खरानी दिएँ
आगोले खरानी बाल्न खोजिरहेथ्यो
जसरी हामीले
‘सविंधान बनाउन खोजिरहेथ्यौं’
ठ्याक्कै तीन सेकेण्ड पहिले
एक हुल हावाका सन्तान आएर
खरानी उडाएर लापत्ता भए
पुलिसले खोज्दैछ बतासलाई
उसलाई मुद्दा परेको छ अपहरणको

दोश्रो साँझ
आगोको झिल्काले
मसँग आगो माग्यो
उत्तरमा मैले हात दिएँ
पोल्दो रहेछ आगोको झिल्कोले
के उसलाई सन्तुष्टि मिलेथ्यो ?

तेश्रो साँझ
आगोको झिल्काले
मसँग साथ माग्यो
मैले उसलाई सहमति दिएँ
तर
प्वाल पारिदिएछ सहमतिको कागज

यसरी वर्षौंसम्म
हामीले मित्रता गाँसिरह्यौं
उसो त
आगोको झिल्काले
प्राय पोलिरहन्थ्यो आफैलाई

तर आजकाल
चुरोट सल्काउन छोडेदेखि
आगोको झिल्को
बिना सूचना
मदेखि धेरै टाढा भागेको छ ।

Thursday, February 12, 2015

On 5:56 PM by Arghelo Thapa in    No comments
प्रकृतिले धरतीसँग
गर्भाधान गरेको भोलिपल्ट
धरतीले हावासँग गर्भाधान गर्‍यो
बदलामा हावाले
शीतका थोपाको रगत छरिदियो
कालान्तरमा धरतीले बिरुवा जन्मायो
बिरुवाले आकाशसम्म पुग्न
पातहरूका पखेटा रोज्यो
इनारको फेंदमा पुगेर
जराहरूले आफ्नो तिर्खा मेटे

बिस्तारै बिरुवा ठुली भई
फूलहरूको चुम्बक छोड्दै गई
भमराहरूले पालो कुर्दै थे दैलामा
फूल झरेर भुइँमा गई

आजकाल प्राय बिरुवाले सोंचिरहेको हुन्छ–
हामी मान्छेहरूको जिन्दगी
काँडामा अल्झिरहेछ कि फूल बनेर सुक्दैछ ?

Saturday, January 31, 2015

On 6:23 PM by Arghelo Thapa in    No comments
रोएको फूल देखिनौ कि प्रेमिका बन्द आँखामा

कलिलो मन सजाइएको केश अरे जवानी

जवानी थियो सकिएछ धोएर प्रयोगहीन

प्यारको प्याला चरमतामा दन्क्यो हुरी डरायो

फूल जीवन खोज तिम्रै साथमा झरेर सुक्ला
On 6:20 PM by Arghelo Thapa in    No comments
पोटिला गाला चाहनाको भकारी यौन भित्रको

गरिब हामी तन बेचिरहेछौं भोलि सम्झेर

बिरामी दुख्छ डाक्टर छन् भोलिमा समय मौन

चिल्लो बतास उडिरहेछ छुँदै यादका फोका

सिकन्दर झैं संसार जित्ने लक्ष्य के दिन्छौ साथ?

भत्केछ घर सपनाको भारीले मनभित्रको

उम्रेका स्तन छोइदेला हावाले सम्हाली राख

फक्रेको बैँस दुई दिने हो केटी नछरिदेऊ

घाम डुबेछ जून रुने बेलामा ताराले हाँस्यो

स्वार्थी मानव हराएको जमाना कता भेटिन्छ
On 5:53 PM by Arghelo Thapa in    1 comment
अरे जिन्दगी
पुराइदेऊ अब सम्भोग चाह

गुलाबको फूल लाली तिम्रो चुम्बन बिम्बमा मोह

पोखियो मन बादलुको सपीप नबन झरी

ओ प्रियतमा फूल जस्तो जवानी आँखाको भ्रम

रोएछ फूल जवानीले भगायो भमरा सबै

कठै बालक आमाको मुख हेर्छ आमा जवानी

भुइँ झरेछ पारिजातको फूल अँध्यारो रोयो

आमा हाँस्छिन् जब बालक रुन्छ प्रकृति हेर्दै

फुलेको फूल कस्ले चुँडी लगेछ बिचरा माली

हावाको झोंक्का ठोक्किएछ स्तनमा लाज लजायो

Wednesday, January 21, 2015

On 1:45 AM by Arghelo Thapa in    No comments

उता आकाशको जून एक्लो भयो घर नपाएर
मेरा उड्ने सपना अपाङ्ग भए सफर नपाएर

जुध्छन् आँखाहरू जुध्छन् सयौं हजारौंसँग
म किन तडपिरहेछु उनको नजर नपाएर

सोंच्छौ हामी बाँचिरहेछौं बाँच्नकै लागि
शैयामा दमको रोगी रोइरहेछ जहर नपाएर

पिंजडाको सुगा भजन गाउँछ शुभ मालिक्नीसँगै
सिकिरहेछ चाकडी बिचरो उड्ने रहर नपाए