लेख्दै । सिक्दै । शब्दहरू बुन्दै ।

Monday, March 24, 2014

On 7:54 PM by Arghelo Thapa in    1 comment
विश्व इतिहासमा चलचित्र क्षेत्रले व्यवसायिक रुपमा धेरै फड्को मारे पनि नेपाली चलचित्रको स्थिति भने दयनीय छ । आमा (चलचित्र आमा भन्दा अगाडि नेपाली भाषामा भारतबाट चलचित्र सत्य हरिशचन्द्र निर्माण भएपनि नेपालमा नै निर्माण गरिएको चलचित्र आमा हो) चलचित्रबाट सुरुवात भएको नेपाली चलचित्रको इतिहास हेर्दा आजसम्म पनि खासै प्रशंसनीय चलचित्र अर्थात विश्व बजारमा नेपाली चलचित्रलाई स्थापित गराउने खालका चलचिल निर्माण हुन सकेका छैनन् । चलचित्रका दर्शकको आकर्षण नेपाली चलचित्रमा भन्दा अन्य विदेशी चलचित्र (हिन्दी, कोरियन, अङ्ग्रेजी, चिनिया आदि) मा रहेको देखिन्छ । यसको मुख्य कारण नेपाली चलचित्रको न्यून स्तर नै हो भन्ने स्पष्ट हुन्छ । प्राय नेपाली चलचित्रको ढर्रा एउटै हुने हुनाले नेपालमा बन्ने धेरैजसो चलचित्र हेर्दा कतै हेरिसकेको कथा जस्तो लाग्छ । केही चलचित्रका कथाहरू अन्य भाषाका चलचित्रबाट साभार गरिन्छन् । मानौं, यदि कुनै लेखकले उत्कृष्ट कथा तयार पार्‍यो भने पनि निर्देशकको प्रस्तुतिकरणमा सामाञ्जस्यता पाइँदैन । छिमेकी राष्ट्र भारत (जसको चलचित्र बजार स्थूल छ) का हिन्दी चलचित्रले नेपालबाटै करोडौं रकम उठाएको समाचार त हाम्रा लागि नौला होइनन् तर नेपालमै बनेका चलचित्र औसतमा एक/दुई वटा मात्र सफल हुन्छन् । व्यवसायिक रुपमा असफल भएपनि भुषण दाहालले निर्देशन गरेको चलचित्र कागबेनी अन्य चलचित्र भन्दा पृथक लाग्छ । यही चलचित्रबाट नै नेपाली चलचित्रमा आधुनिक कालको सुरुवात भएको मान्न सकिन्छ । पछिल्लो समयमा फरक प्रवृत्तिका चलचित्र निर्माण हुने क्रम बढेपनि नेपाली चलचित्रले दर्शक तान्न अझै सकेका छैनन् । आखिर किन बन्दैनन् त नेपाली चलचित्र उत्कृष्ट ? किनका उत्तरहरु खोतल्ने प्रयास गरिएको छ ।

१) अभिनयमा अक्षमता
नेपालका प्राय चलचित्र (पछिल्लो समयमा बनेका केही चलचित्र बाहेक) परम्परागत ढर्रामा बगेको पाइन्छ । एउटै चलचित्रमा सबै रसको फ्युजन मिसाएर खिचडी बनाउन खोजिएका धेरै जसो चलचित्रमा अभिनय पनि एउटै हुने गर्दछ । अन्य नेपाली चलचित्र भन्दा फरक प्रवृतिको चलचित्र कागवेनी निर्माण भएपछि त्यही चलचित्रको सिको गर्दै अङ्ग्रेजी चलचित्रको संरचनामा आधारित अन्य केही चलचित्रहरू निर्माण भए । सानो संसार, व्याच नं. १६, लुट, उमा, धन्दा, बधशाला, होस्टेल, झोला, झोले, ऋतु, फिटकिरी आदि चलचित्रहरूमा अभिनय पक्षलाई मानव जगतको वास्तविक चरित्रका आधारमा चित्रण गरेर चलचित्रलाई जीवन्तता दिने प्रयास गरेको पाइन्छ । रंगमञ्चबाट काँचको पर्दामा भित्रिएका कलाकारले अभिनयमा दख्खलता देखाएको पाइएता पनि प्राय चलचित्रमा नायिका समस्यामा पर्ने, नायकले गुण्डा कुट्ने, घरको कुनै सदस्य अपहरित हुने आदि जस्ता कथा भएका चलचित्र बन्ने क्रमको भेल भने साम्य हुन सकेन । त्यस्तै अर्को पक्ष नेपाली चलचित्रमा कथाले मागे अनुसारका पात्र चयन गरेको पाइँदैन । कथाको मर्म बुझेर पात्र चयन नगर्दा अभिनय फिक्का हुने गर्दछ । कथा, विषयवस्तु, परिवेश आदिलाई मध्यनजर नगरी गरिएको अभिनय राम्रो नहुनु स्वभाविक नै भैहाल्यो ।

२) कमजोर कथा/संवाद
नेपाली चलचित्रमा सायद ‘हेई’ भन्ने डायलग प्राय चलचित्रमा छुट्दैन होला । गुण्डाले अत्याचार गर्नु र नायक आएर हेई भन्दै भकाभक कुट्ने नेपाली चलचित्रको तत्व नै भएको छ । तर समयसँगै ‘हेई’ को साटो ‘ओई’ परिवर्तन हुनुपर्ने देखिन्छ । संवादको कोणबाट चर्चामा आएको चलचित्र लुटका प्राय संवाद दर्शकलाई मन परे । तिनै संवाद फेसबुक, ट्वीटरमा धेरै पोष्ट गरिए । त्यस्तै अर्को चलचित्र होस्टेलका संवादको ट्रेन्ड नै चल्यो । यसरी हेर्दा चलचित्र उत्कृष्ट हुनुमा संवादको महत्वपूर्ण भूमिका रहन्छ भन्नेमा दुई मत छैन तर नेपाली चलचित्र क्षेत्रमा कथ्य भाषालाई प्रयोग गरिएका कथाको खडेरी परेको छ । उत्कृष्ट कथा भए पनि यदि संवाद फितलो भयो भने त्यो चलचित्र राम्रो बन्न सक्दैन भन्ने उदाहरण थुप्रै चलचित्रले देखाइसकेका छन् । यति हुँदा हुँदै पनि नेपाली चलचित्रमा संवाद पक्षलाई ख्याल गरेर कथा लेखिएको पाइदैन तर उत्कृष्ट चलचित्र बन्नका लागि कथा पक्ष बलियो हुनैपर्छ । कथाको प्रस्तुतिकरण र संवादले नै चलचित्रको जग बलियो बन्न सक्छ । जग बलियो भयो भने घर बलियो हुन पनि त सक्छ नि । होइन र ?

३) अस्वस्थ प्रतिस्प्रर्धा
भलै नेपाली चलचित्र नचलुन् तर चलचित्र निर्माण हुने क्रम भने बाक्लिएको छ । उसै त नेपाली चलचित्र प्रतिको वितृष्णा दर्शकमा छ नै, त्यसैमाथि पनि हप्तै पिच्छे तीन/चार वटा फिल्म प्रतिस्प्रर्धा हुनु भनेको कुनै न कुनै फिल्म सिधै घाटामा जानु हो । यति मात्र नभएर विदेशी चलचित्र (धेरै हिन्दी) सँग प्रतिस्प्रर्धा गर्नुपर्दा नेपाली चलचित्रको बजार हात्तीको मुखमा जिरा जस्तै भएको छ । यद्यपि उत्कृष्ट चलचित्र निर्माण गर्न सक्यो भने विदेशी चलचित्रका दर्शकलाई पनि नेपाली चलचित्रले आकर्षित गर्न सक्छ भन्ने उदाहरण लुट, छ एकान छ जस्ता चलचित्रले प्रमाणित गरिसकेका छन् ।

४) प्रविधिको अभाव
पछिल्लो समयमा केही चलचित्र निर्माण कम्पनीले डिजिटल प्रविधिका उत्कृष्ट क्यामेरा नेपाली बजारमा भित्र्याए पनि कतिपय चलचित्रहरू डिजिटल क्यामेरा (DSLR) को माध्यमबाट निर्माण गरेको पाइन्छ ।  केन्द्रीय स्तरको तुलनामा मोफसलका चलचित्रहरू यस्तै प्रविधिमा निर्माण हुने गर्दछन् । विस्तारै क्वालिटीको हिसाबले नेपाली चलचित्र क्षेत्रले प्राविधिक रुपमा फड्को त मार्दैछ तर पनि पूर्ण रुपमा चलचित्रको प्राविधिक पक्ष सबल बन्न सकेको छैन । पछिल्लो समयमा बनेका केही चलचित्रहरु छांयाकन तथा क्यामेराको हिसाबले उत्कृष्ट रहेता पनि धेरै जसो नेपाली चलचित्रको प्राविधिक पक्ष एकदमै झुर हुन्छ । विश्वले एनिमेसन टेक्नोलोजीमा ठुलो फड्को मारिसकेको छ तर नेपाली बजारमा एनिमेसन टेक्नोलोजीको प्रयोग त्यति गरेको पाइदैन । यदि प्रविधि तथा एनिमेसनको कुशल संयोजन गर्ने हो भने चलचित्र उत्कृष्ट बन्न सक्छ । अहिलेका दर्शकले अभिनय त छँदैछ, एनिमेसन गरिएका स्वैरकाल्पनिक चलचित्रहरूलाई बढी रुचाउने गरेका छन् ।

५) अन्य
केवल यत्ति मात्र नेपाली चलचित्रका समस्याहरू होइनन् । नेपाली चलचित्रमा पढेका भन्दा परेका (यहाँ परेका भन्नाले रहरको भरमा आफै लगानी गरेर चलचित्र निर्माण गर्ने तर चलचित्र कस्तो हुनुपर्छ ? भन्ने बारेमा आफै अनभिज्ञ हुने निर्देशकलाई संकेत गर्न खोजिएको हो ।) निर्देशकको बिगबिगी छ । चलचित्रलाई कसरी राम्रो बनाउन सकिन्छ भनेर काल्पनिक रुपमा सोँच्न सक्ने निर्देशकको अभाव छ । यदि राम्रो कथा छ भने पनि त्यसको प्रस्तुतिकरणमा निर्देशक चुकेका हुन्छन् । एउटा पूर्ण चलचित्र बन्नका लागि सम्पूर्ण पक्षको समायोजन कुशल रुपमा हुनुपर्छ । ब्याकग्राउन्ड इफेक्ट, टोन, कथा सुहाउँदा गीत, लोकेशन, आदिको समायोजन कथालाई न्याय गर्ने हुनुपर्छ । निर्माताले मेरो चलचित्र राम्रो छ, उत्कृष्ट बनेको छ भन्दैमा चलचित्र उत्कृष्ट हुने भए सायद नेपालमा बनेका कुनै पनि चलचित्र सुपर फ्लप हुँदैनथे होला । दर्शकले हरेक चलचित्रबाट नयाँ स्वाद लिन खोजिरहेका हुन्छन् तर नेपाली चलचित्रमा कुनै नौलो प्रयोग पाइदैन । त्यस्तै नेपाली चलचित्रको बजेट एकदमै न्यून हुन्छ । बरु चलचित्र च्याउ झैं निर्माण गर्नु भन्दा तुलनात्मक रुपमा थोरै तर बढी लगानीमा राम्रा र कम चलचित्र निर्माण गर्नु लाभदायक होइन र ?

नोट: यो लेख हैन । व्यक्तिगत धारणा हो । कृपया यसमा गहनता नखोजिदिनु होला । 

Wednesday, March 12, 2014

On 9:50 PM by Arghelo Thapa in    No comments
जून रोएछ
तिमीलाई सम्झेर
मेरो साटोमा

कालो हावाले
लखेट्दैछ मलाई
भीरको बाटो


तिमीसँगै छन्
पिपलपाते ओंठ
म खोजुँ कहाँ


साँझ् परेपछि
अत्तालिन्छे बिचरी
कोठीमा केटी 


फोहोर पानी
पखालेर खा भन्ने
उर्दी जारी भो