लेख्दै । सिक्दै । शब्दहरू बुन्दै ।

Friday, November 1, 2013

On 6:45 AM by Arghelo Thapa in    No comments
सपनाहरू उफ्रेर सगरमाथा छुन्छन्
कैयन सपना थाकेर मरेतुल्य हुन्छन्
जित्न खोज्ने विचरा ती अवोध सपनाहरू
हारेँ भन्दै पालैपालो चिच्याउँदै रुन्छन्

Monday, September 30, 2013

On 10:44 PM by Arghelo Thapa in    No comments
रंगीन घरको झ्यालबाट
रंगहीन एउटा युवतीले
मन्दिरमा पूजा गरिरहेका
राताम्मे महिलाका हातका थाली

सिउँदोको सिन्दुर हेर्दै
टोलाइरहेकी छिन्
उनीसँग रंगीन सपनाहरू छैनन्
रंगीन वस्त्र छैन
सादा जिन्दगी हेर्ने
आँखाहरू मात्र छन्
जसका लागि उनी व्रत बस्थिन्
उनले नै आफैसँग
खुसी, रगींन संसार
र सिउँदाको सिन्दुर
सँगसँगै लगेर गएका थिए
सदा सदाका लागि

Saturday, September 21, 2013

On 1:36 AM by Arghelo Thapa in    1 comment
नेपालको सन्दर्भमा हेर्दा बलात्कार पनि पछिल्लो समयमा प्रमुख समस्याका रुपमा देखा परेको छ । जति जति शिक्षाको विकास हुँदै गयो, त्यति त्यति नै समाजमा यौन उदारता फैलनु र अर्कातिर यौनलाई ढाकछोप गर्नुले पनि दिन प्रतिदिन बलात्कारका घटनाहरू बढिरहेका छन् । केही समय पहिला बलात्कारका घटना छिटफुट रुपमा सुनिन्थे भने हाल आएर यस्ता घटनाले मिडियामा धेरै स्थान पाउन थालेका छन् । पहिले बलात्कार नै नहुने तर अहिले प्रविधिको विकाससँगै बलात्कारका घटनाहरू  भइरहेका छन् भन्ने आम मानिसलाई लाग्न सक्छ तर खास त्यसो होइन । पहिले पनि बलात्कारका घटना उत्तिकै मात्रामा हुने गर्थे तर लुकाइन्थे किनकि त्यतिखेर शिक्षाको कमी थियो । अझ भनौं इज्जत गुम्ने डरले यस्ता घटनाहरू  समाजबाटै लुकाइने गर्थे । समय बदलिएको छ । नेपालका केही अति विकट गाउँमा बाहेक लगभग धेरै स्थानमा शिक्षाले यौन जीवनमा मात्र नभएर मान्छेको सम्पूर्ण जीवनलाई फरक र सरल बनाइदिएको छ । हामी सबैका लागि यो खुसीको कुरा हो तर पछिल्लो समयको यौन उदारताले भने समाजमा अर्को समस्या निम्त्याइदिएको छ । सहरीया पुस्तामा भित्रिएको पश्चिमी सस्कृतिले गाउँ गाउँमा समेत प्रभाव पारेको छ । सोसियल साइटमा रमाउने कैंयौ युवायुवतीहरू ले समेत फेसबुक, ट्वीटर, मिग मार्फत बलात्कारका बारेमा कडा आलोचना र आफ्ना धारणाहरू  राख्ने गरेको पाइन्छ । केही समय पहिले त ट्वीटेहरूले दिनभरी जसो यसको बारेमा आवाज उठाएका थिए । धेरैको विचार फरक फरक भए पनि नेपालमा फितलो कानुन भएकाले घटना घट्ने गरेको धेरैको गुनासो थियो । निलो चलचित्र, उत्तेजक बनाउने खालका पहिरन, यौन प्रतिको सङ्कुचित सोंच, युवापुस्ताका अनेक चाहनाका कारणले गर्दा पनि पछिल्लो समयमा यौन विकृति प्रमुख समस्याका रुपमा विकास भएको मान्न सकिन्छ । हुन त बलात्कारका घटना युवापुस्तामा मात्र सीमित छैन । बिभिन्न सञ्चार माध्यममार्फत चार बर्षकी बालिकादेखि असी वर्षे बुढीआमा समेत बलात्कारको सिकार भएका समाचार आइरहनु नौलो लाग्न छोडिसकेको छ । बलात्कारको यो बिकराल स्थितिलाई रोक्ने खालका कडा कानुन बनाउन न सरकारले नै पहल गरेको छ न त सरोकारवालाले नै । छिमेकी देश भारत लगायतका कैयौं राष्ट्रले बलात्कारीलाई मृत्युदण्ड सम्मको सजाय तोके पनि बलात्कारका घटना नरोकिनुले नेपालमा त झन बलात्कारीलाई बल पुगेको मान्न सकिन्छ ।

शिक्षाको यो विकासले ल्याएको विकृतिलाई केही हदसम्म कम गर्न भने अवश्य सकिन्छ । के कारणले बलात्कारका घटनालाई प्रोत्साहित गर्न प्रेरित गर्छन् त ? आउनुस् यस बारेमा छलफल गरौं ।

अङ्ग प्रदर्शनः बलात्कारका घटना घट्नुमा अङ्ग प्रदर्शनलाई पनि एउटा कारणका रुपमा लिन सकिन्छ । पछिल्लो समयमा भित्रिएको पश्चिमी शैलीले गाउँ देखि सहरसम्मका, बच्चादेखि वृद्धसम्मकालाई प्रभाव पारेको छ । पहिले पहिले महिलाका घुँडा देखिने खालको कपडा लगायो भने पनि समाजले राम्रो मान्दैनथ्यो तर अहिले घुँडा छोपिने गरी पहिरन लगाएर हिड्ने युवती पाउन धौ धौ पर्न थालेको छ । त्यसो त मुस्लिम समुदायका महिलाहरू जसले आफ्नो पुरै शरिर ढाकेर हिड्छन् । तिनीहरू बलात्कारको शिकार नभएका भने होइनन् तर हामी के बुझ्न सक्छौं भने अङ्ग प्रदर्शनले पनि केही हदसम्म बलात्कारको घटना निम्त्याउन सक्दछ । पक्कै पनि मुस्लिम समुदायका महिलाहरू भन्दा हाम्रो जस्तो छाडा संस्कृति भएको राष्ट्रमा यस्ता घटना बढी घटेको पाइन्छ ।

फेक लभ स्टोरीः अहिलेको समाजमा चोखो प्रेमका कथाहरू पाइन छोडिसकेको छ । युवायुवतीहरू  समय बिताउने उद्धेश्यले एक वा एक भन्दा बढीसँग प्रेम गरिरहेका छन् । त्यही प्रेमको नाटकले बलात्कारको घटनासम्म पनि पुर्‍याएका समाचार भने हामी सुन्दै आएका छौं । जब चोखो प्रेम गर्नेले उसको पे्रम झुटो हो भन्ने बुझ्छ । त्यसको बदलामा उसले उक्त युवतीसँग बलात्कारलाई माध्यम बनाएर नजिकिने वा टाढा हुन खोज्छ । त्यति मात्र नभएर धेरै युवाहरू केवल यौनकै लागि प्रेम गरिरहेका हुन्छन् तर युवा युवतीको असहमतिले उनीहरू मा बलात्कारको स्थिति सृजना हुने गर्छ ।

युवाको मानसिक स्थितिः हरेक मान्छेको सोँच्ने शक्ति फरक फरक हुन्छ । संसारलाई हेर्ने उसको आफ्नै शैली हुन्छ । अंगप्रर्दशन, निलो चलचित्र आदिका कारणले मान्छेको मनमा यौन प्रतिको दृष्टिकोणमा गहिरो छाप पारेको हुन्छ । समाजमा लुकेका त्यस्ता केही गलत सोंचका कारणले पनि बलात्कार लगायतका घटनामा असर पारिरहेको हुन्छ । अंग प्रदर्शन गर्दै हिड्ने अहिलेका आधुनिक युवतीको कारणले पुरुषको सोंच्ने शक्ति अथवा उसमा लुकेर रहेको यौन शक्तिलाई जगाउन सहयोग गर्छ । आगोमा घ्यु परेपछि पक्कै पनि पग्लिन्छ झन जम्ने कुरा हुँदैन ।

बढ्दो प्रविधिको विकासः विकासले संसारलाई एकदमै साँघुरो बनाइदिएको छ । हामी संसारको जुनसुकै कुनामा भएपनि अर्को कुनामा भएका मान्छेसँग एकैछिनमा कुरा गर्न सक्छौं । परिवार तथा साथीहरूसँग आफ्ना खुसीहरू साट्न थाल्छौं । धेरै मान्छेले यसरी प्रयोग गर्ने प्रविधिलाई भने सबैले यही तबरबाट प्रयोग गर्छन् भन्ने छैन । अहिलेका युवापुस्ताले प्रविधिको प्रयोग केवल सेक्सका लागि मात्र पनि गरेको पाइन्छ । सामाजिक सञ्जाल फेसबुक, मिग, निम्बज आदि जस्ता साइटहरूले नयाँ साथी बनाउनका लागि स्थान दिएको छ । सामाजिक सञ्जाल चलाउनेमा धेरै युवा पुस्ता नै अगाडि पाइन्छन् । अझ भन्ने नै हो भने त मिग चलाउने धेरै युवा नै हुन्छन् । युवापुस्ताको सामाजिक सञ्जालको बढ्दो प्रयोगले पनि बलात्कारका घटनामा सहयोग पुर्‍याएको छ । त्यस्तै प्रविधिको विकाससँगै  छ्यासछ्यास्ती निलो चलचित्रको प्रयोग, फोन लभ आदिका कारणले पनि बलात्कारका घटना घट्नमा सहयोग पुर्‍याएको छ ।

फितलो कानुनः बलात्कारका घटनाले बढवा पाउनुको अर्को कारण हाम्रो देशको फितलो कानुन हो । हुन त देशको आफ्नै हालत कानुन नभएको जस्तो भैरहेका बेला हामीले बलात्कार सम्बन्धी कानुन खोज्नु मूर्खता होला तर बलात्कार जस्तो जघन्य अपराधका लागि हदैसम्मको कडा सजायसहितको कानुन जरुरी छ । छिमेकी मुलुकहरूमा समेत बलात्काकारीलाई मृत्युदण्ड दिनेसम्मको कानुन बनिसकेको छ तर नेपाल सरकार भने राजनीतिक आडमा दोषीलाई कारवाही गर्नुको साटो उल्टो आश्रय दिने कारणले गर्दा पनि यस्ता घटनाले मौलाउने अवसर पाएका छन् ।

अन्य कारणः केवल यति मात्र कारण सायद नहुन सक्लान् । यी बाहेकका अन्य थुप्रै कारणले पनि बलात्कारका घटना बढाउनमा इट्टा थप्ने कार्य गरिरहेका छन् । हाम्रो देशमा मात्र नभएर संसारका धेरै देशमा बलत्कारका घटनाले मिडियामा स्थान पाउन थालेका छन् । हलिउड, बलिउड, अन्य चलचित्र उद्योग तथा नेपाली चलचित्र उद्योगमा समेत छाडापन भित्रिएको छ । टि.भी., रेडियो आदिबाट समेत युवापुस्तालाई केन्द्र बनाएर चर्चामा आउनका लागि यौन उत्तेजक कार्यक्रमहरू बढिरहेका छन् तर यस्ता कारणले मान्छेलाई उसमा लुकेर रहेको यौन इच्छालाई जगाउनलाई सहयोग गरिरहेको हुन्छ । किशोरावस्थामा आएका सवेंगहरूलाई नियन्त्रण गर्न नसक्नु, कुलत, लागू पदार्थको सेवन आदि कारणहरूले गर्दा बलात्कारका घटना दिन प्रतिदिन बढ्दै गएको पाइन्छ ।

अन्तमाः यौन चाहना सबैमा हुन्छ । मान्छेमा मात्र हैन सबै प्राणीमा ।

Friday, August 30, 2013

On 5:09 AM by Arghelo Thapa in    No comments
खासै मन्दिर नजाने कृष्ण आज मन्दिर गयो । मन्दिर जानुको उद्धेश्य अरु केही नभएर आफूले भर्खरै किनेको क्यामरामा केही मन्दिरका आकृतिहरू जम्मा गर्नु थियो । सायद नयाँ क्यामेराको प्रतिविम्व होला । उसको अनुहार अलि बढी नै चम्किरहेको थियो । एक्लै मुस्कुरायो र मन्दिरलाई केन्द्र बनाएर तस्वीरहरू कैद गर्न थाल्यो । क्यामरालाई प्रकृतिको उज्यालोबाट जोगाउँदै आफूले खिचेका तस्वीरहरू हेर्न थाल्यो । तस्वीरहरूको हुलमा एउटा तस्वीर उसलाई अलि फरक लाग्यो किनकि त्यो तस्वीरमा मन्दिर एकदम सफा देखिएको थियो । मन्दिर भन्दा पनि सफा थियो हातमा थाली लिएकी युवतीको तस्वीर । तस्वीरलाई जुम गरेर अलि ठुलो बनायो । एकछिन हेरिरह्यो । खिस्स हाँस्यो र मन्दिरतिर पुलुक्क हेर्‍यो । युवतीलाई नदेखेपछि कृष्ण हतार हतार त्यतितिर लम्क्यो । मन्दिरको तस्वीर लिने वाहनामा युवतीले पूजा गर्न लागेको दृष्य आफ्नो क्यामरामा कैद गर्‍यो । यताउता गर्न थाल्यो । युवती पूजा गरेर बाहिर आई । कृष्णलाई मनभित्र के के भएको जस्तो लाग्यो । युवती भने सरासर हिंडी । कृष्ण ऊ गएको हेरिरह्यो । मन्दिर परिसरमै अलि पर पुगेर युवतीले यताउता हेरी र नजिकै भएको वरको रुखनिर बसी । कृष्णले उसलाई हेरिरहेको थियो । युवतीले पनि कृष्णलाई बेला बेलामा हेर्ने गर्थी तर युवतीले हेर्ने बेला कृष्णले तत्काल आँखा मोडेर अर्कैतिर हेर्थ्यो । धेरै बेरसम्म यो प्रक्रिया चलिरह्यो । मान्छेहरू पूजा गर्थे, आफ्ना मोवाइलमा मुस्कुराएका तस्वीरहरू कैद गर्थे र जान्थे । कृष्णलाई धेरैले उछिने अथवा भनौं ऊ भन्दा पछि आएका थुप्रै मान्छेहरू पूजा गरेर, तस्वीर खिचेर गए । कृष्णलाई भने त्यो पल एकदमै छोटो लागेको थियो । कृष्ण र युवतीको धेरै बेरसम्म आँखा जुधिरह्यो । युवतीले कृष्णलाई हेरेर खिस्स हाँस्थी । कृष्ण भने उसको हेराइले झन पानी पानी हुन्थ्यो । कृष्णले मनमनै सोँच्यो – ‘यसरी नै पहिले मन्दिर आएको भए त मेरो स्योर गर्लफ्रेन्ड हुने रैछ । यो केटी स्योर पट्टिन्छे ।’ युवतीले थाहा नपाउने गरी उसका केही तस्वीरहरू क्यामरामा कैद गर्‍यो । नजिक गएर बोलौं कि नबोलौं भनेर आफैले आफैलाई सोध्यो । उसको मनले अझै पनि उसलाई निर्णय दिन सकिरहेको थिएन । नजर एकआपसमा ठोक्किरहेका थिए । नजरको ठक्करले मुस्कानहरू जन्मिरहेका थिए । कृष्णले मनमनै बोल्यो  – ‘कसैसँग आँखा जुधाउनुको मज्जा कस्तो हुँदोरहेछ आज थाहा भो । यस्तो लागिरहेछ कि ऊ मेरै लागि मन्दिर आएकी हो ।’ युवतीको मुस्कानले उसलाई घायल बनाएको थियो । दुरीले केही टाढा भएपनि उनीहरू नजरको माध्यमबाट एकदमै नजिकिएका थिए । कृष्णले सोँच्यो – ‘ह्या कति नजरको तीर हान्नु ? बरु गएर सिधै हाइ भन्छु ।’ कृष्ण तस्वीर लिने निहुँमा युवती भएतिर आयो । युवती भने जुरुक्क उठी र परबाट आउँदै गरेको अर्को युवकलाई हाइ भनी । कृष्ण टक्क अडियो । युवतीले हतार हतार गर्दै कृष्णलाई हेरी तर यो पटक हाँसिने । परबाट आउँदै गरेको युवक नजिकै आएर युवतीसँग अंकमाल गर्‍यो । उसको हात समाएर गयो । कृष्णका सबै कल्पनाका घरहरू भत्के । युवती बसेको ठाउँमा बस्यो । सबैले बजाएर थाकेको मन्दिरको घण्टाजस्तै थकित बनेर क्यामरामा भएका तस्वीरहरू डिलिट गर्न थाल्यो । एउटा तस्वीर भने जति प्रयास गर्दा पनि हटाउन सकेन । त्यो थियो – ‘नजरले मनमा कैद गरेको त्यो युवतीको तस्वीर ।’

Saturday, August 24, 2013

On 4:45 AM by Arghelo Thapa in    1 comment
गरिबको पेटमा पनि काश गास हुन्थ्यो भने
टन्न खान पाएको कुनै पल खास हुन्थ्यो भने

किन पो बन्नुपर्थ्यो शाकाहारी मन हुनेलाई
बोका, खसीको बधेको लाश हुन्थ्यो भने

सिरेटोले जन्माएका काँडा हराउँथे शरीरका
न्यानो बास र एकसरो कपास हुन्थ्यो भने

हाड मात्रै देखिने ज्यान पक्कै लाग्थ्यो होला
भकारीमा अन्नै अन्नको रास हुन्थ्यो भने

झुठा सपनाको खेती किन गरिबकै बारीमा ?
शोषकले बुझ्थे नेता गरिबको दास हुन्थ्यो भने

Sunday, August 18, 2013

On 4:16 AM by Arghelo Thapa in    No comments
कथाकार गुरुप्रसाद मैनाली
 नेपाली साहित्यको फाँटमा आफ्नो अमिट छाप छोड्न सफल गुरुप्रसाद मैनालीको जन्म बि.सं. १९५७ साल भदौमा धनकुटामा भएको हो भने मृत्यु २०२८ सालमा काठमाडौंको आर्यघाटमा भएको हो । न्याय विभाग अन्तर्गत निजामती कर्मचारीको हैसियतले विभिन्न स्थानमा जाने अवसर पाएका मैनालीले १९८६ देखि नै कथा लेख्न थालेपनि बि.सं. १९९२ सालमा शारदा पत्रिकामा प्रकाशित ‘नासो’ कथा मार्फत नेपाली साहित्य जगतमा जन्म लिएको पाइन्छ । आफ्नो जीवनकालमा जम्मा ११ वटा कथा लेखेका मैनालीले थोरै कथा लेखेर पनि नेपाली साहित्यमा आफ्नो विशिष्ठ पहिचान बनाउनुका साथै प्रथम आधुनिक कथाकारका रुपमा पनि आफूलाई परिचित गराएका छन् । उनको वि.सं. २०२६ सालमा प्रकाशित ‘नासो’ कथासंङ्ग्रहमा नासो, छिमेकी, प्रायश्चित, पापको परिणाम, बिदा, परालको आगो, सहिद, अभागी, कर्तव्य, प्रत्यागमन र चिताको ज्वाला गरी ११ वटा कथाहरु संग्रहित छन् । यिनको औपचारिक शिक्षा निजामती मध्यमा (११ पास) सम्म भएपनि अनौपचारिक शिक्षा हिन्दी, संस्कृत आदिबाट प्रशस्तै आर्जन गरेको पाइन्छ । मैनालीले अन्य केही विधा (प्रहसन, निबन्ध, कविता) मा हात हाले पनि मूलतः कथा विधाबाट नै नेपाली साहित्यमा उल्लेखनीय योगदान पुर्‍याएको पाइन्छ । मैनालीका पुर्खा जोशी थिए । उनीहरु भारतको कुमारक्षेत्र नैनीताल स्थित मैनोरीबाट तेह्रौं शताब्दीतिर नेपाल आएका थिए । उनीहरूको विद्वताको कदरस्वरुप मल्ल राजाबाट उनीहरुले काभे्रको कानपुरमा विर्ता पाएका थिए । मेनोरीबाट आएका हुँदा सबैले उनलाई मैनाली भन्न थाले ।
कथाकार गुरुप्रसाद मैनाली आदर्शोन्मुख यथार्थवादी धारालाई भित्राउने पहिलो कथाकार हुन् । यिनलाई आधुनिक कथा क्षेत्रका अगुवा र लोकप्रिय कथाकार मानिन्छ । मैनालीले यर्थाथवादको पृष्ठभूमिमा रहेर नेपाली समाजका बिभिन्न पक्षहरुको चित्रण गरेका छन् । जागिरको सिलसिलामा देशका बिभिन्न स्थानको भ्रमण गर्ने अवसर पाएका मैनालीले आफ्ना कथाहरुमा समाजका निम्न मध्यम वर्गीय चरित्र र अवस्थालाई कलात्मक किसिमले प्रस्तुत गरेका छन् । शैलीमा नेपालीपन, गाउँले विषयवस्तुको गहन चित्रण, सजिलोपन, विचारमा सुधारको लक्ष्य र चित्रणमा रमाइलो कलात्मकता मैनालीका कथाका विशेषता हुन् । पूर्वीय आदर्शवादी विचारधाराबाट प्रभावित मैनालीले तत्कालीन अवस्थाका रुढीवादी परम्परा, अन्धविश्वास, अन्याय, अत्याचार, जातीय तथा लैङ्गिक भेदभाव तथा शोषणका बिरुद्घमा कलम चलाएको पाइन्छ । त्यसैले यिनलाई सामाजिक यथार्थवादी कथाकार पनि भनिन्छ । आदर्शोन्मुखी, सामाजिक विषयको केन्द्रीयता, यथार्थवादी प्रवृति समेत मैनालीका कथामा पाइने मुख्य प्रवृति हुन् ।

परालको आगो कथाको बिश्लेषण

कथावस्तु
परालको आगो कथा एक सामाजिक विषयवस्तु बोकेको कथा हो । नेपाली समाजका सोझा नागरिकका कथा व्यथालाई मैनालीले आफ्ना कथामा उन्ने क्रममा परालको आगो जन्मिएको पाइन्छ । ग्रामीण परिवेशको जीवनशैलीलाई जस्ताको तस्तै टिपेर आफ्ना कथामा राख्ने मैनालीले गाउँका नागरिकको सामाजिक पृष्ठभूमि के कस्तो हुन्छ भन्ने कुरा ‘परालको आगो’मा प्रस्तुत गरेका छन् । मैनाली सामाजिक यथार्थवादी कथाकार भएकाले पनि परालको आगो कथामा सामाजिक आदशोन्मुख यथार्थवादलाई बढी मात्रामा जोड दिएको पाइन्छ । दलित, पीडित तथा तल्लो जात भनिएकालाई कथामा पात्रका रुपमा उभ्याएर २००७ साल पूर्व नै जातीय सम्मान प्रकट गर्ने काम समेत मैनालीले गरेका छन् । मैनालीले कथानकमा प्रयोग गरेका घटनाहरु वास्तविक छन् । यस कथामा पाइने लोग्ने स्वास्नीको संवादबाट ग्रामीण परिवेशको चित्रण गर्दै कथालाई काल्पनिक रुपमा नभई यथार्थपरक तवरले प्रस्तुत गरिएको छ । भैंसीले लात्तीले हानेपछि गबुवासँगै गोबरमाथि लडेको चामेको स्थिति, पधेँराबाट सकी नसकी पानी ल्याउँदा जुठे दमाई र उसकी श्रीमतीले ख्याल ठट्टा गरेको घटना, ससुराली पुग्दा सासूले जुठै हातले चामेलाई गरेको नमस्कार जस्ता घटनाले कथालाई यथार्थबादी बनाएको छ । दिनभर काम गरेर पनि बिहान बेलुका हातमुख जोर्न समस्या पर्नु, माटोको गाग्रोमा पानी बोक्नु, महिला विवाह र रमाइलो भनेपछि हरक्क हुनु, नेपाली समाजमा महिलाहरुले लोग्नेको कुटाइ खानुपर्ने र सहन नसके माइतमा गएर बस्नु, लोग्ने स्वास्नीबीच झगडा हुनु र एकैछिनमा मिल्नु, तमाखु खानु र खुवाउनु, बाली नाश भएकामा पशुलाई र मान्छेलाई दुवैलाई कुट्नु, पहिले म मरे पनि लिन जान्न भन्ने चामेले पछि माइत गएकी श्रीमतीलाई लिन जानु जस्ता कुराहरुले ग्रामीण परिवेश, चालचलन, रीतिरिवाज, प्रवृति तथा मानसिकताको अवस्थाको चित्रण गरेको पाइन्छ । परालको आगोको प्रारम्भ चामेकी स्वास्नी गौंथली साह्रै मुखाले थिई भन्ने समस्याबाट प्रारम्भ हुन्छ । नेपाली समाजका महिलावर्गको मुखाले चरित्र, दिनभरी काम गरेर बेलुका फर्किने चामेको चरित्रलाई पनि कथाकारले कथामा मुख्य विषयवस्तु बनाएका छन् । त्यस्तै कथाको मध्यभाग चामेले गौंथलीलाई कुट्नु, गौंथली माइत जानुको वरिपरि घुमेको छ । चामे लिन गइसकेपछि गौंथली लुगा लगाएर घर फर्किन तयार हुनु, बाबुआमाले दहीको ठेकीसँग बिदा गर्नु कथाको अन्त्य भाग हो । यद्यपि लोग्ने स्वास्नीको झगडा परालको आगो हो भन्ने सन्देश यो कथाले दिन खोजेको छ ।

पात्र
यस कथामा चामे र गौंथली केन्द्रीय पात्र अथवा कथाका नायक नायिका हुन् भने जुठे दमाई र उसकी स्वास्नी, कोकले र धनबीरे परीधीय वा गौण पात्र हुन् । चामे र गौंथलीको चरित्रमा कथा आधारित भए पनि अन्य पात्रको उपस्थितिले कथालाई उत्कृष्ट बनाएको छ । कथाको परिवेश र बातावरणको चिन्तनले ग्रामीण जनजीवनमा बाँच्ने सामान्य किसान परिवार, निम्नवर्गीय गरीब तथा अशिक्षित परिवारको झल्को दिन्छ । कथाको नायक चामेले गरीब परिवारको छिट्टै रिसाउने र पछि पछुताउने स्वभाव भएको गाउँले किसानको प्रतिनिधित्व गर्छ । दिनभरी कामले थाकेको र घरमा आउँदा समेत आपूmले खान नपाउँदा रिसाउने चामे आफ्नो मुखाले श्रीमतीको बानीलाई खप्न नसक्ने पात्र हो । गतिशील स्वभावको चामे आवेगमा आएर स्वास्नीलाई यातना दिने तर छिट्टै आफ्नो गल्तीलाई महसुस गर्छ । पत्नीलाई पिटेपछि फेरि माइतीमा लिन जानुले, आफूले गरेका गल्तीहरूलाई आत्मालोचना गर्नुले पनि चामे बाहिरी रुपमा रिसाहा देखिए पनि भित्री मानसिकता अत्यन्त कोमल भएको पात्र हो भन्ने बुझिन्छ । त्यस्तै गौंथली कथाकी नायिका वा मुख्य नारी पात्र हो । उसको मुख्य कमजोरी आफ्नो मुखाले बानी रहेको छ । उसको मुखाले प्रवृतिले गर्दा घरमा सानो तिनो कुरामा झगडा भैरहन्छ । दिनभरी कामबाट थाकेर आउने श्रीमानको लागि खाना पकाउनुको साटो विवाह हेर्न जानुले पनि गौंथलीलाई स्वार्थी पात्रका रुपमा पाउन सकिन्छ । दिमागभन्दा मुख चलाएर जितिन्छ भन्ने धारणा भएकी पात्र गौंथली लोग्नेले दुव्र्यवहार गरे लामो समय माइतमै बस्ने तर आफ्नो घरको चिन्ता माइतमै हुँदा पनि गर्ने नेपाली ग्रामीण नारीको चरित्र गौंथलीमा पाइन्छ । गौंथलीलाई पनि यर्थाथवादी, बहिर्मुखी, गोला, आञ्चलिक, पारम्परिक, स्त्री प्रमुख, अनुकुल, गतिहीन, वर्गीय आदि जस्ता विशेषता भएकी पात्रका रुपमा लिन सकिन्छ ।

परिवेश
‘परालको आगो’ कथामा नेपाली समाजको ग्रामीण परिवेशको चित्रण पाइन्छ । यस कथाको लेखनकाल थाहा नभए पनि यसको प्रकाशन ‘कथाकुसुम’ कथासङ्ग्रहमा वि.सं. १९६५ सालमा प्रकाशित भएका आधारले बि.सं १९९४ तिरको समयलाई यिनले कथामा उनेको अनुमान गर्न सकिन्छ । कथामा आएका चामेको घर, कोकलेको बारी, गाउँको पँधेरो, बाटो, वन, जुठ्यान आदि जस्ता परिवेशले कथालाई अझ सार्थक बनाएको छ । कथाको आन्तरिक समय एक/डेढ हप्ता जतिको छ । त्यस्तै यस कथामा परिवेशका रुपमा आर्थिक, सामाजिक र सांस्कृतिक गतिविधि महत्वपूर्ण रुपमा प्रस्तुत भएका छन् । समाजमा नारीहरू हेपिएका, परम्परादेखि ज्वाइँलाई सम्मान गर्ने चलन, रीतिरिवाज, रीतितिथिको चित्रण आदिजस्ता परिवेशलाई सामाजिक परिवेशका रुपमा लिन सकिन्छ । त्यस्तै ग्रामीण समयमा मनोरञ्जनका लागि नाचिने मारुनी नाच, घाँस दाउरा गर्न जाँदा महिलाहरु वनपाखा जाँदा गीत गाउने चलन आदि जस्ता सांस्कृतिक परिवेश कथामा पाइन्छ । ‘परालको आगो’ कथामा आर्थिक पक्ष पनि महत्वपूर्ण परिवेशका रुपमा रहेको छ । गरीब वर्ग धनीहरुको दमनमा बाँच्न बाध्य भएको, साहूसँग ऋण गरेर घर व्यवहार गर्नु पर्ने कटु यथार्थ, पशुपालन तथा कृषि नै नेपाली ग्रामीण समाजको एउटा मात्र माध्यम भएको जस्ता समस्यालाई कथामा आर्थिक परिवेशका रुपमा प्रस्तुत गरिएको छ । ‘परालको आगो’ ले नेपालको ग्रामीण समाजमा निम्नवर्गीय नेपाली नागरिकको आर्थिक, सामाजिक र सांस्कृतिक परिवेशलाई चित्रण गरेको छ ।

दृष्टिविन्दु
    ‘परालको आगो’ कथामा बाह्य सीमित दृष्टिविन्दुको प्रयोग भएको छ । यस कथाको मुख्य पात्र चामे दृष्टिविन्दु पात्र हो । कथात्मक संरचनाको निर्माणमा कथाकार मैनालीले चामेको माध्यमबाट सम्पूर्ण कथालाई प्रस्तुत गरेका छन् । यो कथा तृत्तीय पुरुषीय ढङ्गमा प्रस्तुत गरे पनि यस भित्रको मुख्य पात्र चामेका माध्यमबाट कथाकारले कथाको प्रस्तुतीकरण गरेका छन् । नेपाली समाजको पुरुषप्रधान समाजले स्वास्नीमाथि गरेको दमन, घरायसी कामका लागि मात्र स्वास्नीको प्रयोग गर्ने नेपाली समाजको वास्तविक रुप, नेपाली पुरुषहरु आबेगमा आएर अविवेकी विचार देखाउनु जस्ता प्रवृतिलाई कथामा प्रस्तुत गरिएको छ । गौंथली चामेका लागि रिसको कारण हुने गरे पनि उसका असल प्रबृतिले चामेलाई आवेगको स्थितिबाट सामान्य मनस्थितिमा ल्याउनका लागि उसका थुप्रै कार्यले पृष्ठभूमि तयार गरेको छ । चामे ससुराली जाँदा जङ्गलमा गाएको गीतबाट निकै क्षुब्ध बन्नु, घाँस ल्याएर आएकी गौंथलीको फक्रिँदो यौवनलाई देखी भित्रभित्र तृप्त हुन खोज्नु, समातेर हजार चोटि चुम्वन गरौं भन्ने कल्पना गर्नु जस्ता कुराले समाजको आस्था विश्वास, सामाजिक मानसिकता र व्यक्तिभित्रका अन्तरयथार्थलाई देखाएको छ ।

भाषाशैली
परालको आगो कथामा भाषाशैली अत्यन्त सरल, ग्रामीण जनजीवनमा प्रचलित र औपचारिक छ । यो कथामा वर्णनात्मक विवरणात्मक भाषाको प्रयोग समेत गरिएको छ । नेपाली उखान र कथ्य भाषाको प्रयोग, रैखिक र बर्णनात्मक दुबै शैलीको प्रयोग, स्थानीय शब्दयुक्त ग्रामीण पहाडी क्षेत्रको झर्रा नेपाली शब्दको प्रयोगले गर्दा कथालाई अझ सार्थक बनाएको छ । वर्णनात्मक शैलीको प्रयोग बढी मात्रामा भए पनि दृश्यात्मक शैलीको प्रयोग पनि परालको आगोमा पाइन्छ । कथामा भाषाशैलीलाई अझ प्रभावकारी बनाउन कथाकारले अलङ्कारको पनि प्रयोग गरेका छन् । घटना प्रधान शैलीले अगाडि बढेको र उखान तथा गीतको प्रयोगले कथाको शैली अत्यन्त सरल र सहज बनेको छ । सुन्दर भाषाशैली र प्रत्येक नेपाली ग्रामीण भेगमा घटित हुने कथानक भएकाले अशिक्षितलाई अरुले पढेर सुनाउँदा समेत कथाको मर्म सजिलै बुझ्न सकिन्छ । आदि, मध्य र अन्त्यको क्रमिक संयोजन भएकाले पाठकलाई कथा पढ्दा अलमलमा पर्नुपर्ने अवस्था सृजना हुँदैन । समग्रमा भन्दा भाषाशैलीले कथा एकदमै राम्रो, आर्कषक, प्रवाहपूर्ण र स्तरीय बनाएको छ ।

उद्देश्य
जुनसुकै कृतिको पनि केही न केही उद्देश्य हुन्छ । अझ भन्ने नै हो भने त उद्देश्य बिनाका कुनै पनि कृति नै हुँदैनन् । परालको आगो कथाको अन्त्य तिरका केही पङ्तिहरुले नै कथाको मूल उद्देश्यलाई उठान गरेका छन् । लोग्ने स्वास्नीको झगडालाई परालको आगोका रुपमा हेरिएको छ । परालको आगो पनि एकछिन हुर्र बलेर निभे झैँ लोग्ने स्वास्नीको झगडा पनि दीर्घकालीन नहुने सार कथाकारले परालेको आगो मार्फत प्रस्तुत गरेका छन् । निश्चित पात्र, घटना र परिबेशका आधारमा कथाकारले आफ्नो मूल उद्देश्यलाई प्रस्तुत गरेका छन् । नेपाली समाजका प्रचलित उखानहरुलाई यथार्थपरक ढङ्गले चरित्रार्थ गर्नु पनि यसको उद्देश्य हो । निष्कर्षमा भन्दा लोग्ने स्वास्नीको झगडा परालको आगो सरह हो । सानातिना कुराहरुले गर्दा पनि हाम्रो जीवनमा ठुला समस्या ल्याउन सक्छन् र यदि घर मिलेन भने समाजलाई कुरा काट्ने आधार बन्छ । त्यसैले हरेक कुराहरुलाई समझदारीका साथ अगाडि बढाउँदै लैजानुपर्छ भन्ने नै कथाको मुख्य उद्देश्य रहेको छ ।

निष्कर्ष
    नेपाली कथा साहित्यको फाँटमा एउटा बेग्लै पहिचान बनाएका सामाजिक यर्थाथवादी कथाकार गुरुप्रसाद मैनालीको परालको आगो उनका एघार कथा मध्येको एक उत्कृष्ट कथा हो । सामाजिक यथार्थवादी विचार धारामा रहेर लेखिएको यो कथाले नेपालको ग्रामीण जीवनको चित्रणलाई कलात्मक रुपमा जस्ताको तस्तै प्रस्तुत गरेको छ । मैनालीले यो कथा मार्पmत लोग्ने र स्वास्नी बिच हुने झगडा, पुरुष प्रधान समाज, ग्रामीण समाजका महिलाहरुले शक्तिले भन्दा पनि मुखले बोलेर जित्न खोज्ने प्रवृति जस्ता कुरालाई देखाउन खोजेका छन् । गरीबीको रेखामुनि रहेका तथा आर्थिक रुपले सवल हुन नसकेका नागरिकको विचारलाई पात्र बनाएर उनीहरुको विचार कथाका माध्यमबाट प्रस्तुत गर्ने काम मैनालीले गरेका छन् । नेपाली समाजको वास्तविक चित्रणलाई सरल भाषामा प्रस्तुत गर्ने कथाकार मैनालीको परालको आगाले सिङ्गो ग्रामीण समाजको प्रतिनिधित्व गर्छ भने पात्र र विषयवस्तु समेत ग्रामीण समाजको वरिपरि रहेको छ । मैनालीले यस कथा मार्फत नेपाली समाजमा देखिने सामाजिक, आर्थिक तथा सांस्कृतिक परिवर्तनका साथै लोग्ने स्वास्नीबीचको झगडा परालको आगो जस्तै हो तर त्यही सानो झगडाले पनि मानसिक रुपमा धेरै चोट पुर्‍याउन सक्छ भन्ने कुरा देखाउन खोजेका छन् । समग्रमा भन्दा यो कथा अत्यन्त सार्थक, सामाजिक, उद्देश्यमूलक, सरल र सहज बनेको छ ।

यो लेख यात्रा वर्ष ४, अंक ४ मा प्रकाशित भैसकेको छ । स्नातकोत्तर तह नेपाली विभागका विद्यार्थीलाई फाइदा पुगोस् भन्ने हेतुले मात्र यहाँ राखिएको हो ।
On 1:02 AM by Arghelo Thapa in    No comments
तिमी र म सङ्गै भएको बेला
तिमी भन्ने गर्थ्यौ
"म तिमीलाई माया गर्छु ।"
अहिले म टाढा छु,
फेरि तिमी अर्कैलाई भन्छौ रे!
"म तिमीलाई माया गर्छु ।"
मैले तिमीलाई भेटें सपनीमा
सोधें - "माया मारेको हो ?"
"हैन कहाँ मार्नु म त माया गरिरहन्छु"
मैले सोधें - तिम्रो अर्को केटा छ रे!
"छैन!"
म व्युझें,
एक्कासी तिमीलाई झन गाढा सम्झें
के तिमी माया मारेकै हो त ?
भन्छन्, केटी मान्छे तरल हो
"जता पनि बग्न सक्छ"
केवल कुलो चाहिन्छ!
बिन्ती
नबग्नु कतै,
तिमीसँग म बग्नुपर्छ
यदि तिमी म सँग बगिनौ भने
म ठप्प हुन्छु
किनकि मेरो रगतमा तिमी छौ
र,
तिम्रो रगतमा म
त्यसैले प्रेम बचाई राख
सिङ्गो जीवन जिउनु छ ।
सारा इच्छा पिउनु छ ।

Tuesday, July 23, 2013

On 11:58 PM by Arghelo Thapa in ,    1 comment
रातभरी कनेँ ठसठसी
मरि गए दिमागमा केही आएन
भित्तामा हेरेँ - नाम लेखेको रहेछ
बाबुराम भट्टराई
को हो यो बाबुराम ?
चस्मा निकालेर आफैले आफैलाई सोधेँ
हिसिला आइन हातमा गड्यौला समाएर
दाँत देखाउँदै भनिन्
यु आर बाबुराम भट्टराई
हो त म बाबुराम पो है
थचक्क बसेँ
फेरि जुरुक्क उठेँ
जाँगे तानेँ
मेरो ढाका टोपी खै ?
पिल्चे आँखा तेर्साउँदै हिसिलालाई हेरेँ
हिसिलाले चस्मा कपालमाथि राख्दै भनिन्
आल्मारीमा छ ।
म त जनताको नेता
टोपी नभइ पनि म राष्ट्रभक्ति हुन्छु ?
म त्यो पूर्व राजा जस्तो हो र ?
सुदुर पश्चिमका जनतालाई राहत बाँड्ने ?
म त गरिबको नेता हो ।
एक्लै रन्थनिएँ ।
हिसिलाले मेरो टोपीमा
आइरन लगाएर ल्याइदिन्
नङ टोक्दै मैले टोपी लगाएँ
अब म राष्ट्रभक्ति भएँ
हो राष्ट्रभक्ति भएँ
माम्पाका म जस्तो नेता को छ ?
मलाई फेरि प्रधानमुन्त्री बनाओ
पूर्व राजालाई जेल हाल्नुपर्छ
जनतालाई राहत बाड्नेलाई
जेल हाल्नुपर्छ ।

Saturday, July 20, 2013

On 9:16 PM by Arghelo Thapa in    No comments
ऊ बिना पनि जिन्दगी जिएको छु
फरक यति हो नशा पिएको छु
भुलाउन खोज्छु नशासँगै उसलाई
याद बल्झिन्छ झन भक्कानिएको छु

Thursday, July 11, 2013

On 6:47 PM by Arghelo Thapa   No comments
म पनि सिमानामा फलामे पर्खाल चिन्छु
आफ्नै देश नेपालको लागि बलिदान दिन्छु
अब त अति भो दुष्मनको ठेलाइ र पेलाइ
देशका लागि कि खुन दिन्छु कि लिन्छु
On 6:36 PM by Arghelo Thapa in    No comments
काल्पनिक संसारमा हराउनुको मज्जा बेग्लै
होस गुमाएर एक्लै एक्लै कराउनुको मज्जा बेल्लै
माया त जसले जसलाई पनि गर्न पाइन्छ
अर्काको प्रेमलाई मन पराउनुको मजा बेग्लै

Monday, June 24, 2013

On 6:52 PM by Arghelo Thapa in    2 comments
यहाँ गास, बास र कपास खोसिएको छ
दिन दिनै मान्छेका बाँच्ने आश खोसिएको छ
ज्युँदा मान्छेको अधिकार त खोसियो खोसियो
यहाँ सास नभएका मान्छेको लाश खोसिएको छ

Sunday, June 16, 2013

On 10:58 PM by Arghelo Thapa in    3 comments
एउटा इमान्दार, भद्र र व्यवहारिक पत्रकार घाँटीमा महंगो खालको क्यामरा र पछाडि टल्किने खालको झोला बोकेर गल्लीको बाटो समाचार खोज्दै हिँडिरहेको थियो । उज्यालोलाई बलात्कार गर्दै साँझले विस्तारै आफ्नो अधिपत्य जमाउन लागिसकेको थियो । पत्रकार भने समाचारको खोजीमा गल्ली गल्ली डुलिरहेको थियो । उसको अनुहारको भाव हेर्दा यस्तो लाग्थ्यो, मानौं उसलाई आज बोसले थर्काएको छ र जसरी भए पनि एउटा गतिलो फोटो या समाचार ल्याउन भनेको छ उसको पत्रिकाको लागि । उसको चाला हेर्दा भोकाएको कुकुर पुच्छर तल फर्काएर अगाडि बढिरहेको अभिनय गरिरहेको छ कि जस्तो लाग्थ्यो । केही बेरको हिँडाइ पछि ऊ झन बेस्मारी थाक्यो । पत्रकारको जागीर खाएर एउटा मोटरसाइकल किन्न नसकेकोमा उसलाई टिन्न तात्यो । पत्रकारले क्यामरातिर हे¥यो । लेन्सको टुप्पोमा औंलाले टुक्क टुक्क हान्यो र उठेर गयो । केही पर पुगेपछि कोही चिच्याएको आवाजलाई हावाको वेगले उसको कानसम्म हुलिदियो । पत्रकारले कान ठाडा पा¥यो र टक्क उभियो । फेरि कोही कराएको आवाज उसको दिमागसम्म पुग्यो र जोडले मन्दिरको घण्टी बजे जस्तो बज्यो । पत्रकारले सुस्तरी पाइला चाल्दै त्यतैतिर देख्यो । साँझ छिप्पिसकेकाले मान्छेको अनुहार चिन्न गाह्रो पथ्र्यो । तर उसले फोहोर फाल्ने कन्टेनरले छेक्ने गरी लुकेर चिच्याएको तिर हे¥यो । उसले देख्यो – त्यहाँ एउटी केटीलाई दुई तीन जना केटाहरुले बलात्कार गरिरहेका छन् । उसले आफ्नो पाइन्टको दाहिने खल्तीबाट मोबाइल निकाल्यो र पुलिसलाई फोन गर्न खोज्यो । नम्बर डायल गर्न थाल्यो । केटी झन धेरै चिच्याई मुख छोपेर चिच्याएझैं । उसको आवाज एकदमै सानो सुनिएको थियो सायद बलात्कारीहरुले मुखमा पट्टी बाँधिदिएका थिए । पत्रकारले एक छिन बडो रुचिका साथ तिनीहरुको कृयाकलाप हे¥यो र मोबाइल खल्तीमा कोच्यो । अन्ततः घाँटीमा झुण्डिएको क्यामराको मुख त्यतैतिर फर्कायो र कोण कोणका फोटा क्यामरामा कैद ग¥यो । उसले फोटा खिच्ने बेलामा क्यामराको फोकसले एकछिन वातावरण दिउँसोमा परिणत ग¥यो । केही फोटाहरु क्यामरामा कोचेर पत्रकार बाटो लाग्यो । त्यो केटीका चित्कारहरु पत्रकारको बाटोतिर भागिरहेका थिए गुहार गुहार भन्दै ।

Saturday, April 20, 2013

On 6:38 PM by Arghelo Thapa in    1 comment
हजार बर्षहरु देखि
तिमीलाई पाउनका लागि
तपस्या गरी बसें
आफ्नै मनको कठोर जंगलमा
तर
न तिमी आयौ
न याद नै गयो
गयो त केबल
नुनिलो झरी
तप्प तप्प गर्दै

Thursday, April 18, 2013

On 8:39 AM by Arghelo Thapa in    2 comments
चाहेर नि तिम्रो माया भुल्नलाई सकिएन
अकेला यो जिन्दगीमा फुल्नलाई सकिएन

कैयौं डुले सफल बाटो पिरतीमै मौलाएर
कदम चाल्दा ठेस लाग्यो डुल्नलाई सकिएन

तिमी तरल पानी रैछौ जता पनि बग्न सक्ने
सोचाइ फरक भएर कतै घुल्नलाई सकिएन

किन किन तिम्रो यादले  तड्पाउँछ यति सारो
बाँकी जीवन नशासँगै भुल्नलाई सकिएन

मन साटेँ, मुटु साटेँ, सबै साटेँ तिमीसँग
अरु कोहीसँग आफु खुल्नलाई सकिएन

-अर्घेलो थापा

Wednesday, April 10, 2013

On 7:04 PM by Arghelo Thapa in    1 comment
मैले रोपेको फुल
आज झांगिएको छ
दुनियाका सामु नांगिएको छ
बालापनमा
हरिया पातहरुले बेरिएको
त्यो फुल
वैंशसँगै
निर्जल्ज
नागिंएको छ
उसको नांगो रुप हेर्न
कैयन भमराहरु
उसको कामबासनासँगै
घुमिरहेका छन्
कोहि भमरा स्पर्श गर्छन
कोहि भमरा चुम्बन गर्छन
कतिपय त त्यहि फुलसँगै रात बिताउँछन्
तर
त्यो फुल
थाकेको छैन
किनकि त्यसमा
यौवनको मात छ
उज्यालो रात छ
उसलाई आफुप्रति गर्व छ
भमराहरुको प्यास मेट्ने दानी बनेकोमा
उसलाई विश्वास छ
एकदिन पबित्र भन्दै
कसैको शिरमा उनिन्छु भन्ने
कुनै मन्दिरमा पुजिन्छु भन्ने
तर
त्यो चरित्रहीन फुललाई के थाहा
एक दिन
आफैले तिर्खा लाग्दा
पानी नपाएर
तड्पी तड्पी
ओइलाएर झर्नुपर्छ

-अर्घेलो थापा

Monday, April 8, 2013

On 7:48 PM by Unknown in    No comments

म प्रेममा हारेको मान्छे
आफ्नैले अकेला पारेको मान्छे
नमर्दै समबेदनाका पुष्पहरु पाउँछु
म राता आँसु झारेको मान्छे ।

Wednesday, April 3, 2013

On 9:49 PM by Unknown in    No comments

धेरै दिन देखि भन्न मन लागेको कुरा आज निमेशले भन्ने निर्णय ग¥यो । आज ऊ केहि डर लागेको जस्तो अनि केहि भन्न खोजेको जस्तो देखिन्थ्यो । सन्जनालाई देख्ने बित्तिकै उसमा एक किसिमका मायाका फोकाहरु उठिसकेका हुन्थे । सन्जनालाई एक नजर हेर्नका लागी उसले घन्टौं देखि बाटो कुरेर बस्ने गथ्र्यो । उसलाई भन्न मन थियो, ‘सन्जना म तिमीलाई धेरै माया गर्छु । तिमीलाई आफ्नो बनाउन चाहन्छु ।’ अन्ततः निमेशको पर्खाइको घडि सकियो । फररर फुकेको कपाललाई हावामा फिजाउँदै सन्जना कक्षा भित्र छिरी । निमेशले धेरै दुःख गरेर सन्जनालाई साथी बनाएको थियो । सन्जनाको आगमनले निमेशको चेहराको रंग चेन्ज भयो । खुसीले स्पाइडरम्यान जस्तो आकाशमा उड्न खोजे जस्तो ग¥यो । निमेशले सन्जनालाई एक तरहले हेरिरह्यो । कक्षा सकिए पछि निमेशले सन्जनालाई एउटा कार्ड दिंदै भन्यो । ‘सन्जना बन्द खाम भित्र जे पनि हुन सक्छ । मिति भएको चिठी पनि हुन सक्छ अनि मिति नभएको चिठी पनि हुन सक्छ ।’ सन्जनाले निमेशको मुखमा हेर्दै चिठी खोली । निमेशले मनमा त्यतिबेला सम्म धेरै कुरा सोच्न भ्याइसकेको थियो । अब सन्जनाले के भन्ली ‘ओके’ भन्ली कि ‘आइ हेट यु’ भन्ली अथवा ‘मेरो बिहे भइसक्यो’ पो भन्ली कि । यस्तै सोच्दै गर्दा सन्जनाले निमेशको मुखमा नमिठो पाराले हेरि अनि देब्रे हातको औंठी देखाउँदै भनी । ‘तिमीसँग म एउटा साथी भएर पो बोलेको त यि औंठी हेर, मेरो इंगेजमेन्ट भइसक्यो । उँहा बिदेशमा हुनुहुन्छ । म उँहालाई नै कुर्दै छु । फेरि माया बारम्बार पनि त हुँदैन नि ।’ उसले अगाडी थपी । ‘मैले अरु कसैलाई माया गरिसकें । यदि माया भयो भने पनि पहिलाको जस्तो हुँदैन ।‘ निमेशले सबै निराशाका पोकाहरु लाई मन भित्र कोचर्दै नमिलेका दाँत देखाएर नक्कली हाँसो हाँस्दै भन्यो । ‘ओ सरी मैले गल्ती गरें । मैले अर्काको नासोलाई यसरी प्रेम प्रस्ताव राख्न नहुने थ्यो ।’ त्यसपछि निमेश कहिले क्याम्पस जाने मन गरेन ।

अर्घेलो थापा

Wednesday, March 27, 2013

On 6:05 PM by Unknown in    No comments
आँखाको धुलोले
आँखाभित्र बाटै लात हान्दै
परेलीलाई भन्यो
"छिटो ढोका खोल्
मलाई बाहिर निस्किन दे
तेरो आँखामा त
आँसुको सागर नै रहेछ ।" 

Sunday, March 24, 2013

On 8:44 PM by Unknown in    1 comment
एउटा सुन्दर फुल हेर्छु झनै हेर्न मन लाग्छ
रगतले उसकै नामको भाग्य केर्न मन लाग्छ

झस्किन्छ मन सपनाका स्वैरकल्पना भंग हुँदा
अरु बाट लुकाउन संसार घेर्न मन लाग्छ

एउटा काले तर दिल बाले उसका लागि भारी होला
तर उसकै प्यारो हुन रुप फेर्न मन लाग्छ

खोज्छन आँखा चारै तिर उसकै यादमा प्यासिन्छ मन
हरेक पल उसैलाई नै मनमा बेर्न मन लाग्छ ।

-अर्घेलो थापा

Wednesday, March 20, 2013

On 12:47 AM by Unknown in    1 comment
म हराएको दिन 
तिमी मुस्कुराउने छौ
किनकी
मैले तिमीलाई घायल पारेको छु
एक अर्थमा भनम् भने
कायल पारेको छु
तिम्रो सुन्दर मुहार तिम्रो लागि
दुस्मन भयो
त्यो फरफराउने केश नहुदो हो तो
मृगनयनी आँखा नहुँदा हुन त
तिमी सँग मिलन नहुदो हो तो
सायद मलाई
फेरि अर्को पटक्
मायाको अर्थ थाहा हुने थिएन
सोच्थेँ प्रेम एकपटक हुन्छ
तर मनले सिकायो
प्रेम पटक पटक हुन्छ
किनकि
तड्पिनु भन्दा
कल्पिनुमा शान्ती भेटेँ
छोडी जानेका लागि क्रान्ती भेटेँ
मलाई थाहा छ
म पागल हो
किनकि
नसक्ने फुल टिप्न खोजीरहेछु
मलाई थाहा छ
म स्वार्थी हो
किनकि अर्काको फूल टिप्न खोजिरहेछु
बिचित्रको माया
न चित्र छ
न त छाँया नै छ
छ त केबल पागलपन
संसार भुलाउने एउटा नशा छ
फेरी अर्को दिन
म कैले भेटिने छैन
तिम्रो मालीको मन रेटिने छैन
त्यो सुन्दर घर्
मायाको दरबार्
कति निश्चल होला
कति स्निग्ध होला
हो म हराउनेछु
एकान्तमा आशु झार्दै कराउनेछु
तिम्रो खुसीका लागि म पक्कै हराउनेछु
किनको म तिम्रो लागि
उसको लागि
अनि
सबैको लागि
अर्घेलो छु
अर्घेलो छु ।

-अर्घेलो थापा

Monday, March 4, 2013

On 11:11 PM by Unknown in    No comments
यदि म नरोएको भए तिमी हाँसेको हुन्थेन होला
वान्टेड बोर्डमा मेरो फोटो टाँसेको हुन्थेन होला
बिश्वासको अर्को रुप माया भन्थे दुनिया
बिश्वास नजन्मेको भए नक्कली माया गाँसेको हुन्थेन होला ।

Monday, February 25, 2013

On 7:59 AM by Unknown in    No comments
तिम्रो सुन्दरताको पछि लागेर भुल गरें
दिल नहुनेसँग दिल मागेर भुल गरें
माया माया भन्दै तड्पी तड्पी,
तिम्रो लागि समाजसँग भागेर भुल गरें

Monday, February 11, 2013

On 9:32 PM by Unknown in    No comments
परालको आगो न आगो न खरानी भो
तिमी संगको सम्झौता एकादेशको कहानी भो
लोप भएको मेरो मुस्कानको के कुरा
नुनिला आँसु पनि न रगत न पानी भो ।
On 9:31 PM by Unknown in    No comments
कहिलेकाँही तिम्रो यादमा उडिन्छ त म के गरुँ
सम्झनाका बाढिले ले मन कुडिन्छ त म के गरुँ

भुल्न खोज्ने कैयन प्रयासहरु गर्दा गर्दै पनि
पागलपनमा मुटु चुडिन्छ त म के गरुँ