लेख्दै । सिक्दै । शब्दहरू बुन्दै ।

Wednesday, December 7, 2016

On 9:15 PM by Arghelo Thapa in ,    No comments

समाज गतिशील छ । समाजका आयामहरू सयमचक्रसँगै बदलिँदै गएका छन् भन्ने कुरामा दुई मत छैन । विचारहरू व्यापक रुपमा छरितो रुपमा चारैतिर फैलिएका छन् । धेरै विचारहरू जन्मिएपछि केही विचारहरू प्रभावमा पर्नु र केही विचारहरू त्यसैको प्रभावले उत्तेजित हुनु कुनै नौलो कुरा होइन ।

नौलो कुरा नभएपनि मैले उनै पुराना कुरालाई आफ्नो धारणा बनाएर ब्लग लेख्ने प्रयत्न गरें । हुन त समाज, संस्कृति र जात अनुसार ठाउँपिच्छे फरक नियम होलान् ।


हो, नेपाल पुरुषप्रधान थियो/छ तर अहिले केही दर्जन सोकल्ड फेमिनिष्टहरूले गर्दा हामीले महिलामाथि गरेका सारा अपराधको अन्याय भएको छ । एक अविवाहित लेखिकाले आफूले सासूलाई ढोग्नुपर्ने हिन्दू धर्मको नियमलाई यसरी व्याख्या गर्नुभयो कि, मानौं धार्मिक संस्कार मानेर सासूहरूले बुहारीमाथि सानोतिनो अपराध नै गरिरहेका छन् ।

एउटा बालक जन्मन्छ । हुर्कन्छ । बा–आमाबाट हुर्काइन्छ । अलि ठुलो हुन्छ । बिहे गर्छ । बिहेपछि श्रीमतीको किचकिच सहन नसकेर आफ्नै बा–आमासँग छुट्टिनुपर्छ । यो पनि त एक प्रकारको हिंसा त हो नि ।

हाम्रो संस्कार पनि बडो गज्जबको छ । छोरीमान्छेलाई आफ्ना हजुरबा, हजुरआमा, बा–आमालाई नमस्ते गरेपनि हुने, तर हामीले भने हरेक दिन बिहान उठेर खुट्टामा ढोग्न पर्ने? यो पुरुषमाथिको अन्याय हो कि संस्कार? संस्कार हो भने त ठीक छ । तर अन्याय हो भने किन पुरुषलाई मात्र खुट्टामा ढोग्न लगाइयो ?

यो जस्तो हुतिहारा तर्क अरु हुनै सक्दैन । हामीलाई संस्कारले दमन गर्न होइन, परिधीमा बाँच्न सिकाएको हो भनेर पनि बुझ्न सकिन्छ । हामीलाई धर्मले नियम सिकाएको छ । ती नियमहरूले हामीलाई जीवन जिउने कला सिकाएका छन् । तर्क नै गर्ने हो भने त पुरुषका पनि कति छन् कति यस्ता दुखेसा ।

पुरुषलाई प्राथमिकता दिएर घरपरिवारले पनि हामीलाई नै विदेश पठाउँछन् । उता श्रीमतीहरू आरामले बसेका हुन्छन् । कतिपय त पधेंरामा जम्मा भएर कुरा पनि काट्छन् । पुरुष उता विदेशमा पसिनाले निथ्रुक्कै भिजेर काम गरेर स्वास्नीका लागि भनेर पैसा पठाउनु परेको छ । यदि श्रीमती आफै कमाउने छिन् भने आधा पैसा मेकअपमा सक्छिन् । बाँकी पैसा सपिङ गर्दैमा सकिन्छ ।

सासूलाई ढोग्न गाह्रो हुने वर्गमा यो समस्या अझ बढी देखिन्छ ।

हामीलाई सानैबाट हलो जोत्न सिकाइन्छ । कोदालो खन्न सिकाइन्छ । पहिरो लगाउन सिकाइन्छ । ठूल्ठूला रड बोक्न लगाइन्छ । त्यसैले त धेरैजसो केटा मान्छेलाई पायल्स हुन्छ ।
त्यतिमात्र होइन । हामीलाई बिहे गर्नुपर्छ भनेर कर गरिन्छ । श्रीमती पाल्न सक्नुपर्छ भनेर सिकाइन्छ । ल ठीक छ, यति त समाजले सिकायो । तर यदि तपाईको आफ्नो हैसियत (सरल भाषामा पैसा र आम्दानीको श्रोत) भएन भने केटी पाउन पनि गाह्रो हुन्छ ।

यति मात्र कहाँ हो र ? समाजमा लैंगिक विभेद पनि उस्तै छ । माइक्रोमा महिला सिट हुन्छ । पुरुष सिट हुँदैन । सरकारी जागिरमा महिला कोटा हुन्छ । पुरुषलाई हुँदैन । छोरीमान्छेलाई अर्काको घर गइदिए हुन्छ । हामीलाई घरमा एउटा कोठा थप्नुपर्छ । बिहेपछि पनि बुढी रिसाएर माइत गइदिन्छे कि भनेर खुब ख्याल गर्नुपर्छ । उसले पकाएको नमीठो भएपनि कति मीठो भनेर खाइदिनुपर्छ ।

सज्जनवृन्द, म तपाईलाई मेरो ब्लगको शीर्षकतर्फ ध्यान आकृष्ट गर्नुहुन हार्दिक अनुरोध गर्दछु । ‘आखिर मैले हजुरबाको खुट्टा किन ढोग्ने?’

हजुरबाको खुट्टा ढोग्नुका लागि पनि कारण चाहिन्छ र? हामीले बाँचेको संस्कारमा बनाइएका केही नियमहरू हामीलाई असहज लाग्लान् । तर नियम भनेको समाजलाई सही दिशातर्फ लैजानका लागि बनाइएको एउटा दायरा मात्र हो । यसले हामीलाई कमसेकम आफूभन्दा ठूलालाई देख्दा शीर निहुराएर सम्मान गर्न त सिकाउँछ । के हामी खुट्टा ढोग्दैमा अपहेलनामा परेका हौं त? कि हामीलाई हिन्दी सिरियलको प्रभाव प¥यो?

तपाई मोबाइल खस्दा पनि त झुकेर नै मोबाइल टिप्नुहुन्छ होला नि । सुन्नभएको होला – ‘फलेको वृक्षको हाँगो नझुकेको कहाँ छ र?’ कहिलेकाहीं गीत पनि हाम्रा विरुद्ध गाएझैं लाग्छ । ‘म झुक्दै नझुक्ने नेपालीको छोरो’ भनेर गीतमा भनिन्छ तर मैले नझुके त आफ्नै बा–आमालाई पनि ढोग्न सक्दिन । कि त यो गीतमा छोरोको सट्टा छोरी हुनुपथ्र्यो ।

एउटा उखान छ – ‘छोरा भए पाल्छन्, छोरी भए अर्काको घर टाल्छन् ।’ ए बाबा ! यो महंगी र बेरोजगारीको देशमा आफैलाई त पाल्न सकिएको छैन भने के गरेर पाल्ने हो अर्काकी छोरीलाई? यति ठूलो रिस्क लिन पनि कम जटिल काम हो?

कसरी पाल्नु भनेर प्रश्न खडा गर्ने हो भने हुतिहारा भन्ने पनि यही समाज हो । पुरुष हेपिएकै हुन् समाजबाट । हो, पुरुष हेपिएकै हुन् ।

हिन्दू धर्मले पनि नेपाली समाजलाई हेपेको नै हो । महिलाका लागि तीज र व्रत छुट्याइएका छन् । सरकारले पनि नारी दिवस भनेर नारीलाई सम्मान गरेको छ । पुरुषहरूलाई भने मजदुर दिवस नै आफ्नो प्यारो दिवस मानेर मनाउँछन् ।

घर परिवारले हामीलाई सानैदेखि उपदेश दिन्छ – ‘आफूभन्दा ठूलालाई सम्मान गर्नू । सानालाई माया गर्नू । परिवार सुखी राख्नू । घर बनाउनू । श्रीमतीलाई सुखसँग पाल्नू । पैसा कमाएर भाइबैनी पढाउनू ।’
यिनै कुराले गर्दा त हामी मान्छे भएका छौं । होइन भने हामी प्राणीभन्दा के कुरामा फरक हुन सक्थ्यौं र !

अन्त्यमा,
नारी र पुरुष बराबर छन् । सबैका बराबर सम्मान र सामाजिक मर्यादा छन् । हाम्रा पूर्वजहरूले निश्चित नियममा हुर्काएर हामीलाई मान्छे बन्न सिकाए । महिलालाई अझ बढी जिम्मेवार बनाउन खोज्नुको अर्थ के हुन सक्छ भने उनीहरूले पुरुषलाई बिग्रन नदिउन् ।

त्यसै भनिएको होइन नि, ‘केटाले चाहे वर्षदिन, केटीले चाहे एकैदिन ।’ समाजमा कतिपय नियम बनाइनुको कारण यो पनि हो । केटाको मन साह्रै नरम हुन्छ । एकैछिनमा पग्लिहाल्छ । समाज सुधारमा महिलाको अझ ठूलो भूमिका हुन्छ भन्ने कुरा बुढापाकाले राम्ररी बुझेका हुन् ।

कृपया उजुरी नगरिदिनुहोला ।

0 comments:

Post a Comment